शाश्वत शर्मा
बजारमा चर्चा छ, उमेर र स्वास्थ्यका कारण वर्तमान राष्ट्रपति रामचन्द्र पौडेललाई राजीनामा गराएर पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई राष्ट्रपति बनाउने । हुन त विद्या भण्डारीपछि नै कल्याण श्रेष्ठको चर्चा थियो, कांग्रेस सभापति देउवाको इन्कारीले त्योबेला टरेको थियो । प्रचण्ड निकट पत्रकारले यो समाचार प्रेसित गरेपछि चर्चा बाक्लिएको छ । यो परिवर्तनमा सेनाले पनि सघाउने भनिदैछ । यही असोजभित्र आमूल परिवर्तन हुने सम्भाबना देखेकाहरू भन्छन्– हामीले खोजेको यस्तो परिवर्तन होइन । राजालाई पनि स्पेश दिएर सहमतिको राजनीति अघि बढ्नुपर्छ । जसरी पञ्चायतले सबैलाई नसमेट्दा असफल भयो, ०४६ पछि बहुलले माओवादीलाई नसमेट्दा बहुदल असफल भयो । अहिले राजसंस्थालाई निषेध गर्दा यो पद्धति नै असफल भएको छ । राजशक्ति पनि राजनीतिक शक्ति हो । सत्य यही हो । यो व्यवस्थाका सञ्चालकहरू असफल भएपछि अधिकांश नेपाली राजसंस्थातिर हेरिरहेका छन् । कल्याण श्रेष्ठलाई राष्ट्रपति बनाएर केही हुनेवाला छैन ।
मुख्य कुरो सबै पक्षलाई समेट्नुपर्छ । विदेशी शक्तिको चाहनामा मात्र यो खेल खेल्न खोजिएको हो भने यसको प्रतिफल विदेशीले पाउनेछन्, पुरस्कार कल्याण श्रेष्ठले । जनताको आँखामा भ्रममात्र पर्नेछ । जनताका लागि दुर्दिन निरन्तर रहनेछ । सर्वोच्च अदालतमा आइएनजीओ भित्र्याउने कल्याण श्रेष्ठको अभिष्ठ, कहाँबाट परिचालित छन्, धेरैल बुझेका छन् । उनी राष्ट्रपति भएपछि कसको स्वार्थ पूरा हुन्छ ? यो रणनीति पनि चीनलाई घेर्ने रणनीतिकै अर्को कडी हुनसक्ने आँकलन छ । एमसीसी माग्ने माओवादी, पास गर्ने माओवादी, अब कल्याण श्रेष्ठलाई राष्ट्रपति बनाउन अघि सर्ने माओवादी । यो सबै संसदमा रहेको संक्रमणकालीन न्याय व्यवस्थापनको लागि हो, पार्टी र मेलमिलापको वातावरण बनाउन विदेशी समर्थनका लागि हो भन्ने अनुमान गरिदैछ । हरेक ठूला दल र नेता कुनै न कुनै काण्डमा मुछिएकै छन् । सबैभन्दा ठूलो समस्या जनयुद्धकालीन मुद्दा नै हो, यसको अन्त्यका लागि वातावरण बन्दैछ । पश्चिमालाई फाइदा पु¥याएर, आफूमाथिका कलंक धुने प्रयास हुँदैछ । भन्नैपर्छ, नेपाल र नेपालीका लागि आगामी दिन सुखद छैन । चीन, रूस, अमेरिका र पश्चिमाहरूको चेपुवामा नेपाल परिसकेको छ । नेपाल भूराजनीतिको भूमरीमा परेकाले राजनीति पनि त्यही अनुकूल हुँदै गएको छ । राष्ट्रपति फेरिदैमा हुने केही होइन, राष्ट्र बलियो हुन नेपाली एकढिक्का हुनैपर्छ । कुनै पनि चुनावमा विदेशपरस्त र राष्ट्रघाती नेताहरूलाई जनताले ठाउँका ठाउँ किनारा लगाइदिनुपर्छ । पराईको ब्ल्याकमेलमा परेर देशका स्थापित नीतिसमेत परिवर्तन गर्न खोज्ने नेताहरूलाई तिनको कुकर्मको फल अर्थात दण्ड दिने जनताले नै हो । बिगत १७ वर्षमा पार्टी र नेता असफल भएकाले अब राजसंस्था पुनस्र्थापित गर्नैपर्छ । कुनै पनि दलले अभिभावक बन्न नसकेकाले देश लथालिङ्ग हुनपुगेको हो । जबसम्म यो शासन प्रणाली रहन्छ, जबसम्म यिनै दण्डित हुनपर्ने नेतृत्व कायम रहन्छ, जबसम्म भ्रष्ट चरित्रहरूले सिंहदरवारदेखि पालिका वडासम्म सम्हाल्छन्, तबसम्म यहाँ कुनै माखो पनि मर्नेवाला छैन । दुर्गतिमा परेको मुलुक अझ रसातलमा पुग्दै जानेछ ।
हिजोसम्म आन्तरिक द्वन्द्व थियो, चर्किरहेकै छ । अब बाह्य दबाब बढेको छ । नेपालले थाम्नै नसक्ने दबाब बढेको छ । नेताहरू देशको भविष्य जोखिममा पारेर आफ्नो ज्यान जोगाउन र राजनीतिक भविष्य सुरक्षित गर्न जस्तोसुकै कदम चाल्न तैयार देखिन्छन् । शान्तिक्षेत्र नेपाल अफगानिस्तान बन्नेतिर उन्मुख देखिन्छ । इतिहासमा अंग्रेज, बिस्तारवाद, चिनियाँसमेत हारेको थियो नेपालसँग । फेरि त्यस्तै खतरा बढ्दो छ । नेपाली जनता राष्ट्रवादी छन्, नेता साग गलेजसरी गल्लान्, जनता गल्दैनन् भन्ने बुझ्नुपर्छ । विश्वका लागि उचित यही हुने छ कि नेपालमा बादशाह धेरै भए, सरकार धेरै भए, एउटा सरकार र एउटा राजसंस्था पुनस्र्थापना गर्न सघाउनु उचित हुनेछ । यी नेताको भरविश्वासमा पर्दा केही समय विश्वशक्तिलाई वातावरण अनुकूल भएको अनुभूति भएको हुनसक्छ, यथार्थमा जो देशको हुनसकेन, ती विदेशीका लागि कतिबेर काम लाग्लान् ? सोच्नुपर्ने विषय यही हो । रामचन्द्र पौडेल हटाएर कल्याण श्रेष्ठलाई राष्ट्रपति बनाएर के हुने ? राजसंस्था पुनस्र्थापित गरे नेपाल र नेपालीको भविष्या, विश्वसम्बन्धमा बल पुग्नेछ, चेतना भया ।