Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

Image

सरकारले सर्वोत्कृष्ट कर्मचारी पाएन

बैकुण्ठ भण्डारी

०२ मंगलबार , आश्विन २०८०१० महिना अगाडि

सरकारले सर्वोत्कृष्ट कर्मचारी पाएन

सरकारले भ्रष्ट कर्मचारी पायो,  सर्वोत्कृष्ट एकजना पनि पाएन ।
डाक्टर पाईलट व्याण्डको–
‘छोरी माग्न जाँदा, विहे गर्छु भन्दा
ससुरा परे दोधारे, तिम्रो छ र के भर
खोजी आउँ पहिले सरकारी जागिर’
यो गीत धेरै वर्ष पहिले क्रान्ति आलेले गाएका थिए । छोरी माग्न जाँदा सरकारी जागिर नभै विहे नै नहुने देखेपछि गीत गाए । ससुरालाई गर्नु गाली गरे । कसरी खानु सरकारी जागिर । भनेजस्तो सजिलो कहाँ छ र ! विचरा सरकारी जागिर नभए विहे नै नहुने भो ।  गीत गाउने की सरकारी जागिर खाने ? पहिले जस्तो सहज कहाँ छ र सरकारी जागिर खान ? 
कुनै बेला थियो । ठूला पदमा बस्नेका घराँ गयो पाथी पाथी घ्यूँ चढाए पछि जागिर मिलिहाल्थ्यो । अहिले.. गाह्रो छ ।
तीस चालीसको दशकतिर सरकारी जागिर खा ऽ खाऽ भन्दा पनि खाँदैनथे रे ! किनकी त्यसबेला जागिरलाई ‘निकृष्ट’ का रूपमा हेरिन्थ्यो । त्यसैले त होला बाउ बाजेले ‘उत्तम खेती, मध्यम व्यापार, निकृष्ट नोकरी’ भनेका थिए ।
नेपालीहरूको पेशा कृषि थियो, शानका साथ म किसान भन्थे । खेती गर्थे अनि आफ्नो उब्जनी विक्री गरेर नगद प्राप्त गर्थे । जव मुलुकमा पर ऽ जाऽ तन्त्र आयो । त्यसपछि यो उखान ठ्याक्कै उल्टो पो हुन पुग्यो । व्यापार मध्यमको मध्यम नै रह्यो । उत्तम खेतीको ठाउँमा सरकारी जागिर बन्यो । निकृष्ट नोकरीको ठाउँमा कृषिले कब्जा लियो । साठीको दशकसम्म आईपुग्दा पनि विदेश जानेहरूको कारण कृषि ओरालो लाग्न थाल्यो । राजनीतिले खेतीलाई सिध्यायो । जागिरेलाई बढायो । त्यसैले अहिले सरकारी जागिर नभै विहे नै नहुने जस्तो पो देखियो । कारण त जागिर नै पो उत्तम देखियो । सुन फलाउने खेती ।
सरकारी जागिर अर्थात निजामती सेवा । निजामती सेवा भनेको क्या हो फेरि यो । सरकारी जागिर मात्र भने त भईहाल्थ्यो । तर भएन । विशिष्ट सीप, ज्ञान र क्षमता भएका राज्य कोषबाट जीवनभरि नै तलव, भत्ता पेन्सन खान पाईरहने व्यक्ति पो हो त गाँठे । 
एक पटक लोसे निकाल्यो अनि ५८ वर्षसम्म राज्यकोषलाई चपायो । अहिले त त्यो पनि परिवर्तन भइसक्यो । समायोजन गरेर तीन तहको सरकार मध्ये ठ्याक्कै जनताको सेवा गर्ने स्थानीय तहको कर्मचारी चाहि त्यो भित्र पर्दैनन् अरे । क्या गज्जव भाको छ । सिंहदरबारभित्र बस्नेको हालिमुहाली भन्दा पनि फरक पर्दैन । 
निजामती सेवा अर्थात सरकारी जागिर अहिले त गज्जव कै छ नि ! सरकारले तलव दिन्छ, भत्ता दिन्छ, लुगा किन्न पैसा दिन्छ । गुड्नलाई गाडी घोडा दिन्छ । चाहे जति तेल दिन्छ । बुढीलाई व्यूटी पार्लर जान सरकारी गाडी, छोराछरीलाई स्कूल पु¥याउन सरकारी गाडी । शुक्रबार भयो ‘रिफ्रेसमेण्ट’ का लागि भन्या जस्तो रिसोर्टमा गोष्ठी । बाऽ बाऽ के के हो के के  । अनि आफूलाई चोहेको जे जे हो त्यही त्यही माग फाराम भरेर पाइन्छ । 
त्यसमाथि जनताको कामका नाममा घुमाए, तर्साएर, तेस्र्याएर घुस पनि खान पाईन्छ । हुने कामलाई झुलाउन पाइन्छ । अनि झुलाएर भुलाएर फाइल लुकाएर कमिशन पनि पाइन्छ । हो, त्यही भए छोरी माग्न जाँदा सरकारी जागिर खा । अनि आ भनेको क्या ! कुरो बुझ्नु परो नि । 
एयरपोर्टतिर भन्साराँ सुन घुसाउनेलाई भ्रष्टाचारमा कार्वाही गर्दा भन्सारका कर्मचारीहरूले काम नै नगर्ने धम्की दिन्छन् । अरू भए दिन पाउँथे । निजामती भएर पो पाको त ? 
नपत्याए, केशव स्थापितले साटेको टंगालको रातो घरले च्याप्प च्याप्प फाईल समातेर भ्रष्टाचारी आरोप कसलाई लगायो ? त्यही मति विग्रेकोको निजामतीलाई होइन ? विचरा निजामती सेवा दिवस । ६८ हजार कर्मचारीमा सरकारले एक जना पनि सर्वोत्कृष्ट कर्मचारी पाउन सकेन । कठैवरा, देशको नीति नियम बनाउने सिंहदरबार हरेक दिन भ्रष्टाचारी पाउँछ तर सर्वोत्कृष्ट कर्मचारी पाउँदैन । 
ससुरा बाले त्यसै सरकारी जागिर खोजेका हुन् र ? विना लगानी फाइदै फाइदा । तीस वर्ष अघि भए त ससुरा बाले पनि सरकारी जागिर खाको भन्ने थाहा पाए त ढाडै भाँचिदिन्थे । बरू गाईपाल्ने, खेतीगर्नेलाई छोरी दिन्छु । यो जावो सरकारी जागिर खानेलाई ज्यान जाला छोरी दिन्न भन्थे । नपत्याए घरबालाई सोध्नुस् त ? 
के भएको यो, अहिले त ओहोऽ ओहो ऽ कुरै नगरौं । रवाफ नै छुट्टै नि सेतो सर्ट र निलो पाइन्टको । त्यसमाथि पनि केन्द्रा बस्ने निजामती । त्यसै खोला किनाराँ होटल फस्टाको छ र ? नपत्याए उता मोरङ्ग र इलामकै काण्ड हेर्नुस् । चिची पनि पापा पनि । यो हो नि काइदा, निजामतीलाई फाइदै फाइदा । 
देश कंगाल वन्दै गईरहेको छ । निजामती कर्मचारी मालामाल । सर्वोत्कृष्ट पो पाउन मुश्किल त । भ्रष्ट त पाइलै पिच्छे पाईहालिन्छ नि । यता हेरे नि भ्रष्ट, उता हेर पनि भ्रष्ट । चुडामणि शर्माले लोसे तयारी पढाउने मुख्य प्रशिक्षक भाको देशमा कस्ता कर्मचारी निस्केलान् । ‘जस्तो गुरू उस्तै चेला’ निजामतीमा भ्रष्ट हुँदा जेल गए जाला । आफ्नै साथी भई छन् मौका मिल्नासाथ छुटाइजाला । प्रेम सञ्जेल जस्ता पनि छन् भन्ने कसले बुझ्ने ? 
निजामतीले त्यसै सर्वोत्कृष्ट नपाको हो र ? काठ मेयरले भन्या जस्तै हो सवै चोरै चोर । आठदश प्रतिशतको कसले गर्ने खोज । भ्रष्ट नै भ्रष्ट निजामतीमा छन् है भन्ने जाहेर भईसक्यो । भ्रष्टाचारको जय ।