समय फेरियो । ब्यवस्था फेरियो । नारा फेरिए । नेतृत्व फेरियो । धेरै कुरा फेरिए । वाक स्वतन्त्रता झन बढी भयो । सबैको अधिकारका लागि बोल्न मुख खुल्यो । महिलाहरूका हकहितमा आमूल परिवर्तन भयो ।
महिलाहरू घरका काम सँगसँगै बाहिर रोजगारमा लागेका छन् । कोही बैदेशिक रोजगारमा छन् । महिला सहभागी नभएका सायदै कुनै कार्यालय होलान् । सेना र प्रहरीमा समेत उल्लेख्य मात्रामा महिला सहभागी छन् । निजी बैंकहरू त महिलाबाटै लगभग चलेका छन् । समाज पनि महिलाले गरेका काम प्रति गौरव गरेको छ । महिलालाइ राजनैतिक क्षेत्रमा, प्रशासनिक क्षेत्रमा लाग्न पुरूषहरूले होष्टेमा हैंसे गर्दै साथ दिईरहेका छन् । हिमाल आरोहण गरेका छन् । डाक्टर बनेका छन् । पाइलट बनेर जहाज उडाएका छन् । साहित्यमा उस्तै जमेका छन् । प्राध्यापनमा महिला समावेश छन् । राजनैतिक नेतृत्व गरिरहेका छन् । महिला अगाडि बढेका छन् । महिला कानूनी सेवामा छन् । महिला सभामुख, प्रधान न्यायाधीशमात्र होइन, राष्ट्रपति पनि बन्न भ्याए । महिला अधिकारका सम्बन्धमा यो छलाङ् हो ।
अब विश्वका महिलाको कुरा के गर्नु ? हाम्रै देशमा भएका आमूल परिवर्तन हेरे पुग्छ । कहाँ कुन ठाउँमा अवसर पाएनन् महिलाले ? पुरूषहरूको पनि महिला शसक्तिकरणमा उतिनै भूमिका छ, जति महिलाको छ । तैपनि चाहेजति महिलाका लागि अवसर अझै कम छ । अबसरको सुनिश्चतता जरूरी देखिन्छ ।
समाजमा महिलामाथि हिंसा भइरहेकै छ । आज हामी कहाँनेर चुक्यौं ? प्रत्येक पाइलामा साथ हुँदाहुँदै पनि महिलालाई हेर्ने दृष्टीमा परिवर्तन आउन सकेन । अझै महिलालाई पुरूषको यौन प्यास बुझाउने साधनको रूपमा मात्रै किन हेरिन्छ ? पुरूषहरू महिलालाई अझै पनि आफुभन्दा कमजोर ठान्छन् ।
कतिपय घटनाक्रमले महिलाले पुरूषमाथि पनि हिंसा बढाएका छन् । महिला हिंसाको कुरा उठाइरहदा, पुरूषमाथि पनि भएका हिंसाको कुरा उठाउनुपर्छ । हिंसा हिंसा हुन्छ, अपराध अपराध हुन्छ । पुरूष वा महिला दुबैथरिले हिंसा गर्नुहुन्न । हरेक दिन अदालतमा पर्ने सयौं पारपाचुकेका मुद्दा, पुरूष र महिला हिंसाका मुद्दा, संरक्षण चाहियो भन्ने खालका मुद्दाको चाङले भन्छ– दोष दुबैतिर बढ्न थालेका छन् । समाजमा पश्चिमा शैलीका महिला, पुरूष हिंसाका वारदात बढेका छन् ।
आज वर्गसंघर्षको लडाइँ लड्ने बेला महिलाहरू माथि, पुरूषहरूमाथि भएका उत्पिडनको बिषयमा बोलिरहनु परेको छ । सबैभन्दा धेरै त बलात्कारको बिषय उठान गर्नुपरेको छ । हाम्रा बाउबाजेका पालामा १४÷१५ बर्षमै बिवाह हुन्थ्यो चलन नै त्यस्तै थियो । रजश्वला हुनु अगाडि कन्यादान गर्यो भने महापून्य कमाइन्छ भन्ने धारणा ब्याप्त थियो । त्यो राज्यलाई स्विकार थियो । अहिले कानून अनुसार २० बर्ष नहुदै बिवाह गर्यो अपराध मानेको छ । १८ बर्ष मुनिलाई नाबालिक तोकेको छ ।
यहाँ धेरै प्रश्नको वर्षा किशोरीमाथि गरिएको छ । किन उसको सामिप्य गई ? किन उससंग डेटिङ गई ? अनि होटलमा बलात्कार हुंदासम्म किन बसी ? होटल किन गई ? यहाँ प्रश्न एउटा पनि गरिएको छैन कि केटीसंग सामिप्यतामा हुनासाथ शारीरिक सम्बन्ध किन बनाउने ? अनि उमेर पुगेका मूर्धन्य पुरूषहरूले रक्षा गर्ने कि लुट्ने ? के उनिहरूको दायित्व छैन महिला इज्जतको रक्षा गर्ने ?
समाजमा घरेलु हिंसा र बलात्कारका घटना बढेका छन् । महिला र पुरूषवीचका सम्बन्धमा तनाव आउन थालेका छन् । सहअस्तित्वका कुरा कुरामा सिमति छन् । महिला र पुरूष दुबैको समाजप्रति दायित्व छ भन्ने भुल्न थालेका छन् । आफ्नो स्वतन्त्रता र स्वच्छन्दताका विषयलाई महत्व दिन थालेका छन् । जसका कारण हिंसा र बलात्कारका घटनामा बढोत्तरी भइरहनु डरलाग्दो विषय हुन् ।