बहुदलपछिको लोकतान्त्रिक राजनीतिमा समेत नीति, नैतिकता र इमानको खडेरी प¥यो । स्वच्छनेता एकजना पनि पाउन मुस्किल छ । जो छन्, भ्रष्टाचारले डामिएका छन्, अनीतिबाट कलंकित छन्, सिद्धान्तप्रतिको निष्ठाबिहीन छन् । स्यालको सिङ खोज्नु र नेतृत्वमा जवाफदेहीता खोज्नु उस्तै उस्तै हो । यस्तो नेतृत्वले हाँकेको राजनीतिमा बेइमानीबाहेक के हुन्छ ?
नेपाली नागरिकलाई भुटानी बनाएर निकासी गर्न पछि परेन । सरकारी जग्गा नक्कली गुठी नै सिर्जना गरेर सुक्रीबिक्री गर्न पछि परेन । टनका टन सुन तस्करी गरेर कमाउन पनि पछि परे । यति भइसकेपछि अन्य भ्रष्टाचार, अनीति, असक्षमता, कुशासनका के कुरा गर्नु र ? राजनीति स्लटर हाउस हो, जहाँ नीति, नैतिकता, आचरण र सिद्धान्तको हरेक क्षण बध भइरहेको छ । अर्थात राजनीति इमानको बधशाला हो ।
अफ्रिका र दक्षिणपूर्वी एसियामा पाइने ¥योकोफोरस जातका भ्यागुतो र नेपालका राजनीतिज्ञहरू भ्रष्टाचार र नैतिकहीन मामिलामा विश्व रेकर्ड नै तोडेर उफ्रनसक्ने प्रमाणित भइसक्यो । हरेक वर्ष प्रकाशित हुने भ्रष्टाचारबिरूद्धको ट्रान्सपरेन्सी इन्टरनेशनल रिपोर्टमा नेपाल लाञ्छित हुँदै आएको छ । ११७औं स्थानबाट अझ तल झर्दैछ । १७ वर्षदेखि नयाँ नेपाल, अग्रगमनकारी नेपाल बनाउँछौं भन्नेहरूले अलिकति पनि लज्जाबोध गरेनन् ।
नेपाली राजनीति अपराधिकरण भएकैले राजनीतिका लागि हरेक सवाल सेटिङ हो, स्वार्थ र परिवारवाद हो । स्वार्थलाभ हो । राष्ट्र र जनता राजनीतिको प्राथमिकतामा नै छैनन् ।
अनुमान गरौं– लाटोकोसेरोले के खाएर बाँच्छ होला अनुमान गरौं । चरा, मुसा खाएर बाँच्ने लाटोकोसेरोमा दाँत हुँदैन । त्यसैले उसले जे खान्छ, सिंगै सुलुत्त सुलुत्त निल्छ । त्यसरी निलेको लाटोकोसेरोले जे खान्छ, १२ घण्टापछि नङ्ग्रा, प्वाँख, भुत्लाजस्ता चिजहरू मुखैबाट ओकल्छ । नेपाली राजनीति पनि स्वार्थ खान्छ र स्वार्थ ओकल्छ ।
राजनीतिको अर्थ उत्तम समाज अर्थात समाज परिवर्तनको साध्य हुनुपर्ने हो । यसकारण राजनीतिलाई सेवा मानिन्छ तर नेपाली राजनीतिमा लागेकाहरू जो ३४ वर्षअघि आएको बहुदल र १७ वर्ष अघि स्थापित लोकतन्त्रलाई यसरी व्यापार बनाएर जे पायो सुलुत्त सुलुत्त निले कि तिनीहरू आज अरवी शेखजसरी सम्पन्नताको जीवन बिताउन थालेका छन् ।
हो, यही कारण कांग्रेज प्रजातन्त्रवादीजस्तो छैन, माओवादी सर्वहाराबादी जस्तो छैन, एमाले उज्यालो छैन, अन्य भुरे टाकुरे पार्टी कराउँछन्, थाक्छन् र थच्चिन्छन् । विधिको शासन चाहिन्छ सबै भन्छन्, सबै कहीं न कहीं, केही न केही लेनदेनमा मुछिएका छन् । व्यक्तिस्वार्थले राजनीति नराम्ररी गिजोलिएको छ । राज्यसञ्जाल बद्नाम छ ।
प्रजातन्त्र जनताका लागि जनताले गर्ने शासनपद्धति रहेन । प्रजातन्त्रका प्रवर्तक मानिएका अब्राहम लिंकनले भनेका गएका थिए– कुशल शासक भविष्यको चिन्ता गर्छन्, राजनीतिज्ञ आगामी चुनावको मात्र चिन्ता गर्छन् । हो, नेपाली गरीव छन्, बुझेका छन् तर बाध्यतावश तिनैलाई चुन्छन् जो जनवादीका नाममा जनघाती छ । पैसा खर्च गरेपछि, शक्तिको दुरूपयोग गरेर र तर्साएर चुनाव जित्नका लागि पैसा चाहिन्छ र हरेक पार्टीले शासन प्रशासनलाई राजनीतिकरणको बन्दी बनाएका छन् । पैसाको र विदेशी ताकतको बलमा । त्यसैले त प्रत्येक राष्ट्रिय संकटमा प्रत्येक पार्टी विदेशवादी बनेका छन् । यहाँसम्म कि सीमा समस्यामा समेत नाकमा नत्थी कसेर मौन रहेका छन् । सीमामा बोलेनन्, अनधिकृत बाँध र डुबानमा पनि बोलेनन् । जसले सीमा र स्वराजको रक्षा गर्न सक्दैन, ऊ कसरी देशभक्त हुनसक्छ ? यथार्थमा लोकतन्त्र स्थापित नेतृत्वका लागि सर्वआहाराबादी बनेको छ ।
यहाँ कुनै दल वा नेतामा जनताप्रति जवाफदेही र सिद्धान्त बाँकी देखिन्न ।
नेपालका सन्दर्भमा आधुनिक डाइनासोर हुन् ठूला पार्टीहरू । संविधान निर्माणका बेलामा जनतासँग सुझाव लिइयो, एउटा सुझाव पनि संविधानमा समावेश गरिएन । १२६ जाति छन् देशमा । १२–१५ जातिले शासन गर्ने संविधान जारी गरेका छन्, कहाँ छ पहिचान ? समावेशीताको नारा यिनै घन्काउँछन् । कुनै जाति जंगलमा गिठ्ठा भ्याकुर खाएर बाँचिरहेको छ, अधिकांश जाति गरीवीको रोगले जन्मन्छ र किराफट्याङ्ग्रा मरेझैं मरिरहेका छन् । तिनका लागि सरकार र समानता संविधानले कहाँ दिएको छ ? तिनलाई आफ्नो पहिचान चाहिन्छ कि चाहिन्न ? तिनको मानवाधिकार, राष्ट्राधिकार, सार्वभौमिक अधिकार, बाँच्ने आधारभूतअधिकारको चिन्ता संविधानले संसदबाट ग¥यो कि सरकारले सिंहदरवारबाट । गाउँपालिकासम्म पुगेको सिंहदरवार पनि अनियमितता र भ्रष्टाचारकै पोखरीमा आहाल बस्न पूग्यो । अनि लोकतन्त्र सर्वआहाराको अवसर बनेको त स्थापित नेतृत्वका लागि ?
समाजवादी, सर्वहारावादी, बामपन्थी, कांग्रेस, राप्रपा, मधेशवादी, रास्वपा मूल पार्टीहरू हुन् । यी कसैको प्राथमिकतामा आम नागरिक देखिदैन । सर्वहारा अर्थात जोसँग पाखुरीबाहेक अरू केही छैन । प्रजातन्त्रवादी जो खुलासमाज, खुला अर्थतन्त्र चाहन्छ । विधिको शासनमा बिधि प्रधान हुनुपर्छ, केही पनि छैन । नाम लोकतन्त्र, काम बाहुबली । भाग शान्ति जय नेपाल ।
जो जनयुद्धमा पीडित भए, जो जनआन्दोलनमा पीडित भए, पीडित आज पनि न्यायको खोजी गर्दै सडकमा छन् । स्थापित नेतृत्व सडकतिर हेर्देन, सत्ता र स्वार्थमात्र हेर्छ । यस्तो लोकतन्त्रले न शान्ति ल्यायो, न समृद्धि । मात्र भ्रष्टाचारतन्त्र फलेको छ, फुलेको छ । पन्पिएको छ ।
जो प्रजातन्त्रको बिडा उठाएका थिए, ती पालैपालो सत्तामा गए । जो सर्वहाराका नाइके थिए, तिनीहरू पालैपालो सत्तासीन भए । मुहार चम्किलो बनाए । रोगको उपचारसमेत राज्यकोषबाट खर्च गराए । आफ्ना र परिवार, आफन्तका लागि सात पुस्तालाई पुग्ने सम्पत्ति जोडजाम गरे । स्थिति यतिसम्म देखियो कि अव त केही दिन आराम गर्न सिंगापुर, बैंकक, दुवई जाने र सिंगो परिवार नै बोकेर वाटर वाथ गर्न समेत विदेश हुइँकिएको देखियो । के नेपालमा पानी छैन, के नेपालमा अस्पताल छैन ? अन्य मुलुकका बुद्धिजीवी नेपाललाई स्वर्ग ठान्छन्, हाम्रो नेतृत्व नेपाललाई नर्क बनाउँछन् । सम्पन्न कसरी बनाउने भन्ने त भिजन नै छैन । आफू कसरी सम्पन्न बन्ने, आफन्तलाई मौका दिने, यही चिन्ता र चासो छ नेतृत्वलाई ।
विश्वजगत नेपाललाई स्वर्ग ठान्छ, अर्को स्वीट्जरलेण्ड मान्छ । शान्त हुन र शान्तिका लागि प्रेरणा लिन विश्वमानवहरू नेपाल आउने गर्छन् । यस्तो पवित्र भूमिका नेता कति गैह्रजिम्मेवार भएका ?
इतिहास हेरौं, २००७ सालमा हामीले दिल्ली गुहा¥यौं, दिल्लीले भारी बोकाएर पठाइदियो । कोशी गण्डकीमात्र गएन, मन्त्रिपरिषदमा भारतका प्रतिनिधि बस्ने व्यवस्थासमेत मान्यौं । नेपालमा भारतीय सैनिक पोस्ट नै स्थापित गरियो । ०१७ सालमा राजाले कू त गरे तर दिल्लीका नचाहिदा, हस्तक्षेपका भारीहरू दिल्ली नै फर्काउने काम गरेकै हो । जतिसुकै कालरात्रि भनिए पनि, राजाले कु गरेको कायकाल भनेपनि विकास र राष्ट्रियताको जग कुनै बेला बलियो थियो भने त्यो ०१७ देखि ०२८ साल सम्मको महेन्द्र काल नै हो । जसको जगमा आजको नेपाल उभिएको छ । सत्य सत्य हो, सत्यलाई गाली गर्नु र सूर्यलाई हत्केलाले छोप्न खोज्ने दुस्साहस उस्तै उस्तै हो ।
०४६ सालमा १० बुँदे भारतीय प्रस्ताव आएकै हो । राजा वीरेन्द्रले त्यसलाई अस्वीकार गरेर जनताका सामु झुक्छु भनेका हुन् । बहुदल त आयो, बहुलायो । १२ वर्षे कूशासन त्यही बहुदलीय कालखण्ड हो । त्यही कालखण्डमा महाकाली, टनकपुरजस्ता अनेक सन्धि भए भारतको हितमा । त्यही समयमा विदेशीलाई नागरिकता सजिलै दिने बिधेयक आयो, राजाले फर्काइदिए । त्यसको प्रतिफल हो दरवार हत्याकाण्ड ।
ज्ञानेन्द्र शाहलाई राजा बनाइयो । उनका सामु फेरि नागरिकता वितरण सरलीकरण गर्ने संशोधन आयो, उनले नामञ्जुर गरिदिए । त्यसैको प्रतिफल राजतन्त्र समाप्त पारियो, हिन्दुराष्ट्रलाई धर्मनिरपेक्ष बनाइयो ।
अहिले सजिलै नागरिकता बितरण गर्ने र विदेशीका सन्तानलाई बंशजका आधारमा नागरिकता दिएर नेपालको संवैधानिक अंगहरूको प्रमुख बन्नसक्ने व्यवस्था गरिएको छ । स्वदेशीले नागरिकता पाउनुपर्छ । तर स्वदेशीका नाममा विदेशीलाई नागरिकता बाँडेर देश कसरी मजबुत हुन्छ र ? यो त फिजीको बाटो होइन र ? फिजीको बाटो अर्थात सार्वभौमिकता लुटाउने मार्ग हो । मुखमा ठेडी कोचेर नाकले पानी खान थालेपछि नेपाल फिजी नभए के हुन्छ ? प्रजातन्त्र, समाजवाद र सर्वहाराको प्रतिनिधित्व गर्छु भन्ने नेताहरू विदेशीको खेताला र लाउके बन्नु कसरी देशभक्ति हो र ?
जनता जनादेशका, जनमतका हतियारमात्र भए । जनताको हक, जनताको निर्णय जनताको पक्षमा कहिले पनि हुनसकेन । ०७९ को चुनावपछि पनि नेतृत्वको स्वार्थी हतियार जनताको गर्धनमै छ । जनता बिद्रोह गर्न सक्दैनन्, बुझेर पनि आन्दोलन गर्न सक्दैनन् । चुनाव आयो कि तिनैलाई भोट दिन्छन् । यसकारण आमनागरिक स्वार्थी नेताहरूका लागि मौकामा काम लाग्ने हतियार र अचानो दुबै बन्ने गरेका छन् ।
देशभक्तहरू जो नेपालीत्वका कुरा गर्छन्, जो सीमा सुरक्षित हुनुपर्छ भन्छन्, जो सबै जातजातिको पहिचानको रक्षा र समानताको वकालत गर्छन्, जो विदेशी हस्तक्षेप रोक्न चट्टान भएर उभिन सक्छन्, तिनीहरू सबै एक हुनुपर्छ । त्यस्ता देशभक्तहरू छन्, बिभाजित छन् । स्वतन्त्र र हरेक पार्टीमा छरिएका छन् । ती सबै एकत्रित, एकजुट हुनुपर्ने बेला यही हो । एक हुन नसकेको खण्डमा नेपालित्व अझै कमजोर भएर हरेक वर्षात्मा खस्किदै खस्किदै पहिरो जाने कृष्णभीर बन्दै समाप्तितिर जानेछ ।
राष्ट्रको यो यथार्थ प्रत्येक नेपाली हुँ भन्नेलाई हेक्का रहोस् ।