Advertisement Banner
Advertisement Banner

१४ सोमबार, जेठ २०८१17th April 2024, 11:33:48 am

Image

राजनीति भनेको–वेटिङ्, सेटिङ्, बेटिङ

बैकुण्ठ भण्डारी

१९ मंगलबार , भाद्र २०८०९ महिना अगाडि

राजनीति भनेको–वेटिङ्, सेटिङ्, बेटिङ

राजनीति भनेको भाग शान्ति जय नेपाल हो । वडादेखि सिंहदरवारसम्मको कथा यही हो । जब भाग मिल्दैन, कुकुर बिरालाको जस्तो झगडा सुरू भैहाल्छ ।
यस्तै भाग शान्तिका लागि हो प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको । आजकल चोकचोकमा चिया पसलहरू निकै फस्टाएका छन् । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम के ल्याको थियो । केटाहरू चोक–चोक चिया पसल पो खोल्न थाल्या छन् । यसो हेर्दा लाग्छ नेपालीहरू खानकै लागि जन्मिएका हुन् । बिहान चिया, दिउँसो विदेशी खाजा अनि राति रसदपान ।
कार्यकर्ता पाल्नैप¥यो, भीडलाई काम दिनैप¥यो । उद्योग किन खोल्नु ? रोजगार कार्यक्रम ल्यायो, लुटायो ।
आधुनिक भट्टीलाई युवा पुस्ताले रेस्टुरेण्ट भन्न थाल्या छन् । हजुरबाउले तान्ने गरेको तमाखुलाई हुक्का भनेर हान्न थाल्या छन् । तमाखुमात्र तान्छन् कि तमाखुभित्र अरू पनि राख्छन् । त्यो कि तान्नेलाई थाहा होला कि बेच्नेलाई ! जसले जे गरे पनि रोजगारी बढेको छ नि ?
अमेरिका, चीन, कोरिया, लण्डन बिर्साउनेगरी खोलाको किनारामा त कति हो कति आधुनिक भट्टी । ऊ बेला असन र बागबजारको गल्लीमा हरियो पर्दाभित्र छिरेर सुरूप्प पार्ने लेखक, साहित्यकार, गायकहरू अझै पनि पारा त्यस्तै छ । चावहिल गणेशस्थानको छेउमा खोप्रे बाजेको ग्याङमा बसेर कुरा काट्ने होस् कि मैतीदेवीको गोपाल दाइको हरियो पर्दाभित्र के कुरा गरिसक्नु छ र ?
एक गिलास सुरूप्प हान्दिएपछि बूढा साहित्यकारले अंग्रेजी फुराउँथे रे ! त्यही बूढा लेखकहरूसँग छोयला, कचिला र बारासँग लोकल एक गिलास हान्दिनेहरू अहिले विदेशी ब्राण्डमा रमाउन थाल्या छन् रे ! बूढा खोप्रे बाजे तीन छक्क प¥या छन् । बोलाउँदै बोलाउँदैनन् । बोलाउन भनी किन उनीहरू त अहिले नेता भाका छन् नेता ! हुन पनि अब जुस र घूस नभई नहुने सरकारी कर्मचारी, त्यही कर्मचारीको फेरा समाउने जनप्रतिनिधि र आफू कंगाल बन्दा पनि दंग परेर जिन्दावाद भन्न रूचाउने जनता भएपछि ।
शासन प्रशासन चलाउने तीन नाइके र तीन सहायक नाइकेहरू पनि पालैपालो हान्ने हो ! कहिले सुन हान्ने हो, कहिले शरणार्थी हान्ने हो ? ललिता निवास सकेजति हानेकै हो । हान्नचाहिँ हान्ने नै हो । किनकि रोजगार नै त्यही हो । त्यसै प्रधानमन्त्री रोजगार सफल भाको हो र ? त्यसमा पनि विदेश दातृ निकायले धेरथोर सहयोग गरेकै छ ।
गाई मारेर हुन्छ कि सुँगुर पछारेर हुन्छ । हल्लाखल्ला गर्ने नै हो । जति हल्ला गर्न सक्यो त्यत्ति नै ‘परफेक्ट’ । परफेक्ट हुन त मिल्नै परो । मिलेर खाने भएकाले नै पुर्खाले छाडेछन् ‘काले काले मिलेर खाउँ भाले’ भन्ने उक्ति ।
कहिले के काण्ड, कहिले काण्ड चर्चा ल्याउने । सञ्चार जगतमा एकले अर्कोलाई उछितो काड्ने वाह ! अब त केही होलाजस्तो छ ? परिवर्तन नै हुने पो हो कि भन्दै जनता बबुरो फुरंग, उता सबै मिलेर भुरूंग । के को परिवर्तन हुन्थ्यो । अरूलाई नै परिवर्तन गराउने भन्ने अनि आफैं पो परिवर्तन हुने हो त लोकतान्त्रिक जमाना ।
समयले कोल्टे फेरेर कहाँ पुगिसक्यो ? हामी अझै उतै कोल्टीबजारतिर हिँड्छौं । ‘आफू ताक्छ मुडो, बञ्चरो ताक्छ घुँडो’ भनेजस्तो । हरिहरभवन हुँदै भँैसीपाटीमा समाजवादी महल ठड्याउने हाम्रा कुर्तकेहरूको बखान हान्नु । उता २०१३ सालमा खुलेको बखान सहकारीकै कारण अहिले सबै धोती न टोपी भाका छन् । लुट्नेले लुटेका छन्, लुटिने चिच्याइरहेछन् ।
यो समय भनेको त मिलेर खाने हो ? फकाएर हुन्छ कि, घुमाएर हुन्छ कि थर्काएर हुन्छ । यो पनि त स्वरोजगारको एउटा महत्वपूर्ण कडी पो हो त ? बुझ्दै बुझ्दैनन् । खाली खायो खायो ! अनि मान्छेको अनुहार बोकेर आएपछि नखाएर भोकै पर्नु त ?
विद्यालयमा हे¥यो अध्यक्ष र प्रधानाध्यपक मिलेर खाए । सरकारी अड्डामा हे¥यो लेखा र हाकिम मिलेर खाए । राजनीतिमा हे¥यो दुई–तीन पार्टीका कुर्तुतेहरू मिलेर खायो । मालपोतमा गयो लेखापढीसँग मिलाएर खायो । बैंकतिर गयो सिए–अडिटर मिलेर खायो । अस्पताल गयो डाक्टर–औषधि व्यापारी मिलेर खायो । पत्रकार र विज्ञापनदाता नभए भ्रष्टसँग मिलेर खायो ? विदेश रेमिट्यान्स भित्र्याउन गएकालाई जाँदा–जाँदै घूस खवाएर मात्र देश छोड्न पाउने कार्यक्रम । खान बाँकी कहाँ छ र ? पशुपतिमा मरेका मान्छेलाई ओडाउने कात्रोमा कमिसन खाने देश हो । दुनियाँको फोहोरसँगसमेत कमिसन खाने देश हो । जसले कोभिडका नाममा सिटामोलमा समेत कमिशन खाए, कसैलाई कारवाही भएन, मान्छे मारेर कमिशन खाने देशमा केको शान्ति, केको समृद्धि ? सकेसम्म दल–दल मिलेर खायो । नभए आरोप लगाएर खायो । सत्तामा गयो खायो । धर्मका नाममा पनि खायो । समाज सेवाका नाममा पनि खायो । चोकमा खुलेको चिया पसल त्यस्सै हो र ? प्रधानमन्त्रीको नाममा त्यसै रोजगार केन्द्र खोल्या हो र ! खाने हो । मिले माटै खाने हो, नमिले सातै जाने हो । खानेले त खायो जान्यो । जसले खाएन उसको जातै गयो ।
नेपालमा जे छ खानेको छ । जसले जान्यो, उसले हान्यो । खायो, विदेशी हाजमोला खाएपछि जे खायो, पचायो, राजनीतिको असली अर्थ नै खाने हो । खाऊ सकेजति खाऊ, डकार ।
कर्मचारी भए प्रमोसन गायब । अरू भए त के–के गायब गायब । साम्यवाद ल्याउनका लागि पनि खानैपर्छ । खाँदै नखाई कसरी आउँछ साम्यवाद । त्यत्ति जानेको भए त कम्युनिस्टहरू यति बदनाम कहाँ हुन्थे र ? त्यही खान नजानेकै भएर पो ललिता निवासले विश्राम लिने तयारी किन गर्दैछन् ? सुकुम्वासीको समस्या कहाँ पुग्यो ? सुकुम्वासीको जग्गा कसरी हुकुमवासीको भयो । ऊ बेला आउ मिलाउ हाम्रा हातहरू भन्दै हिँडे । अब पुर्खाले जोडिदिएको सम्पदा संरक्षण हावा खाँदै गयो । भाषा, धर्म संस्कृति त कुन चराको नाम हो भन्ने दिन आउँदै छ ।
सके गर नसके तर । वैतर्णीधाम बनाइदिएकै छ । तिम्रा गाई मार कि भाइ मार, कामचाहिँ ताई न तुईको गर । आऊ, मिलाऔं हाम्रा हातहरू ! मिलेर खाउँ, मिलेर डकारौं ।
भन्नलाई लोकतन्त्रको टालो देखायो, हुकुमीतन्त्र चलायो । राजनीति राजनीति भनेर अपराधीसँग मिलेर अपराधतन्त्र चलायो । संस्कृतिका नाममा विदेशी सहयोगमा गाईजात्रा मनाउने अवस्था आइसक्यो । काले काले मिलेर खाउँ भाले भनेपनि हुन्छ, ाग शान्ति जय नेपाल भने पनि । यथार्थमा लुटतन्त्र फस्टाउँदैछ ।