Advertisement Banner
Advertisement Banner

०९ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

Image

छोरीलाई पनि पढाऊ

देवी काफ्ले

०५ मंगलबार , भाद्र २०८०३ बर्ष अगाडि

छोरीलाई पनि पढाऊ

 कमला भासिनको सम्झनामा ।
जुन दिन एउटी महिला स्वतन्त्र हुन्छे त्यही दिन एउटा पुरूष पनि स्वतन्त्र हुन्छ । कुनै एउटी छोरी बलात्कृत हुन्छे भने बुबालाई समेत पिरलो हुन्छ, कुुनै एउटा महिला अबेर घर आउँछे भने उसको दाजुलाई चिन्ता हुन्छ तसर्थ जिम्मेवारी सहितको स्वतन्त्रता जब महिलाले पाउँछे त्यो दिन पुरूष पनि खुल्ला हुन्छ, स्वतन्त्र हुन्छ । एउटी महिला कपाल काट्छे, शृंगारमा रूचि राख्दिन, उसलाई उन्मुक्त हाँसो हाँस्ने बानी छ र उसले आफू जस्तो छे, जस्तो चाहन्छे उस्तै व्यवहार जीवनमा लागू गरी भने चरित्रहीन या तेस्रो लिङ्गी भनेर महिलाबाट समेत बर्खास्त गरिदिन्छ यही समाजले । महिलाको सफलतालाई उसको रूप र चरित्रसँग जोड्ने यो समाजमा ‘बेटी बचाऊँ, बेटी पढाऊँ’ भन्ने भनाइ सुन्दा मात्र राम्रो सुनिन्छ ।
समाजका हरेक तप्कामा भएका पुरूषले बनाएका चलचित्र, लेखिएका उपन्यास, नाटक, कथा, कविता लगायत विधामा महिलालाई बिचराको पात्र बनाइएको छ । एउटा पुरूषले त्यही समाजले निर्माण गरेको यस्ता महिला हेपाहा प्रवृत्ति देखेर के सिक्ला अनि कस्तो व्यवहार गर्ला ? फिल्मले पुरूषलाई ‘दबंग’ बनाउँछ, ‘बदतमिज’, ‘बाजिगर’ बनाउँछ तर महिलालाई ‘जिस्म’ मा सीमित राख्छ । ‘मे तो तन्दुरी चिकन हुँ यार, घट्काले सैया अल्कोहल से’ यस्ता खालका गीतले महिला समाजको कुन स्तरमा राखिएको छ भन्ने सहजै बुझ्न सकिन्छ ।
महिला कमजोर छैन, उसले अवसर पाएको खण्डमा हरेक काम गर्न सक्छे भन्ने खालका पुस्तक, लेख, कविता कतिको पहुँचमा पुग्छ ? गम्भीर प्रश्न हो । 
समाजमा भएका सबै समान हुन् तर समाजले कसैलाई जातको आधारमा तल, आश्रित र कमजोर बनाएको छ भने, कसैलाई वर्गको बलमा बलियो बनाइरहेको छ । यसरी संरचनात्मक बनिबनाई बुनिएको सामाजिक जालोमा हरेक पहँुच भएका व्यक्तिले पहँुच नहुने र समाजको पिंधमा पारिएका हरेकलाई सधैं शासन गर्न खोज्छ, आफ्नो मातहतमा दलाउन खोज्छ नै जसले गर्दा असमानता बढ्दै जान्छ ।
फेमिनिजम् भन्नु पुरूषलाई गाली गर्नु या पुरूषलाई सक्नु होइन, दुवैले पाउने अधिकारको समानता हो, समान अवसर होस् भनी लागिपरेको विद्रोहको चित्कार हो । कुन महिला, कुन वर्ग, कुन वर्ण, कुन ठाउँ भन्ने नहोस् जहाँ सबैले सबै मानव अधिकारको विषयमा आवाज उठाउन सकौं र महिला कुनै पनि पुरूषभन्दा एक कदम कमजोर छैनन् तर अवसर र हिंड्ने लाइन बराबर हुनुपर्छ ।
हामीले गरेको समानताको बहस पितृसत्ताको सोच विरूद्ध हो, न कि हामीले पितृसत्ताको ठाउँमा मातृसत्ता हुनु प¥यो भनेको होइन । मेरो भाइलाई जे खान दिन्छौ मलाई पनि त्यही देऊ, भाइलाई जे पढाउँछौं मलाई नि पढाऊ, म जे काम गर्छु त्यो भाइले पनि गरोस्, जीवन उपयोगी काम हो सबैले सिक्नु आवश्यक छ । 
जुन दिन एउटी महिला स्वतन्त्र हुन्छे त्यही दिन एउटा पुरूष पनि स्वतन्त्र हुन्छ । कुनै एउटी छोरी बलात्कृत हुन्छे भने बुबालाई समेत पिरलो हुन्छ, कुुनै एउटा महिला अबेर घर आउँछे भने उसको दाजुलाई चिन्ता हुन्छ तसर्थ जिम्मेवारी सहितको स्वतन्त्रता जब महिलाले पाउँछे त्यो दिन पुरूष पनि खुल्ला हुन्छ ।
छोरा त मर्द हो भन्ने चेतना उसले आफूमा खोज्छ र आफूलाई मर्द हुँ म रूनु हुँदैन, म मर्द भएका कारण यो गर्न पाउँछु तर यो छोरी हो छोरीले यसो गर्नुपर्छ, यो काम गर्नु हुँदैन अनि छोरीले सक्दैन कमजोर हुन्छ भन्ने मानसिकता दिमागमा ‘सेट’ गर्छ र ऊ मर्द बन्छ । हाम्रो लडाइँ पुरूषसँग नभएर समाजका अनावश्यक रीति र थितिसँग हो, समाजका हरेकलाई बाँच्न पाउने वातावरण होस् भन्ने हो ।