Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

Image

यहा सबै शिशाको घरमा छन्

शाश्वत शर्मा

०५ मंगलबार , भाद्र २०८०एक बर्ष अगाडि

यहा सबै शिशाको घरमा छन्

शाश्वत शर्मा - -
ललिता निवास प्रकरणका मुख्य दोषी भनेर दावी गरिदै आएका पूर्व प्रमद्वय माधव नेपाल र डा.बाबुराम भट्टराईमाथि छानबिनमात्र होइन, बयानसमेत नहुने भएको छ । अख्तियारले भ्रष्टाचार मुद्दा नचलाएको र कीर्तिे गरेको पुष्टि हुने ठोस आधार नभेटिएकाले बयान वा कागज गराउन समेत आवश्यक नभएको निष्कर्षमा प्रहरीको सीआइवी पुगेको खबर अहिले यत्रतत्र चर्चामा छ । अब थाहा भो, अझ भनौं प्रष्ट भो, नेकपा समाजवादीका स्वयंघोषित अध्यक्ष माधव नेपाल युरोपबाट किन यत्ति चाँडै नेपाल फर्के भनेर । आफ्नी श्रीमती सहित यो काण्ड तात्ने बित्तिकै युरोप हान्निएका माधव नेपालले उतैबाट उनले आफू चोखो रहेको सफाइ दिएका थिए । प्रधानमन्त्रीलाई सोधेर गएको र प्रमकै आग्रहमा फर्केको बताइरहेकै छन् । खरदार, सुब्बा, सेक्सन अफिसर, सचिव हुँदै प्रधानमन्त्रीसम्मले सरकारी जग्गा नक्कली मोही खडा गरेर व्यक्तिका नाममा दर्ता गरेपछि अन्तिम निर्णयकर्ता तत्कालीन प्रमद्वय माधव नेपाल र बाबुरामलाई अब न बयान, न छानबिन, केही पनि नहुने भएको छ । प्रधानमन्त्री आफै लागेर दुबैलाई चोख्याइदिएका छन् ।
माथिको निर्देशन मान्नेहरु कोही जेलमा, कोही भागम्भाग छन् । माधव नेपाल र बाबुराम आफूलाई भ्रष्ट भनेकोमा सत्तोसराप गरेर खुलेआम हिडिरहेकै छन् । प्रधानमन्त्री नै दाहिना भएपछि कसको के लाग्दोरहेछ र ? प्रचण्ड केही आशलाग्दा काम गरेर ०८४ को निर्वाचनमा पार्टीलाई ०६४ को मजबुत स्थितिमा पु¥याउन चाहेको बताइरहेका छन् । धेरैले विश्वास पनि लिएका छन् । तर होइन, नक्कली भुटानी शरणार्थीकाण्डमा देउवा पत्नी आरजुमा गएर अड्कियो । सुनकाण्ड महरा र वर्षमान पुनमा गएर रोकियो, गौर नरसंहार काण्ड उपेन्द्र यादवमा पुगेर सेलायो भने ललिता निवास प्रकरण बाबुराम र माधव नेपालसम्म पुगेर सेलाएको छ । केही साना र केही मध्यमखालका माछालाई केही समयका लागि पक्रेर सनसनी सिर्जना गरे पनि खोख्याएर ससम्मान बाहिर निकाल्न सुरमा छन् गठबन्धन सरकारका नेताहरु ।
त्यसो त प्रधानमन्त्री स्वयंमाथि केही बात लागेका छन् । क्यान्टोनमेन्ट घोटाला, बालसेना प्रयोगदेखि युद्धकालीन अपराधका चाङ नै प्रचण्डको टाउकामा छन् । त्यसकारण पनि प्रचण्ड आफ्ना सहयात्रीहरुको कोपभाजन बन्न चाहदैनन् । भोलिका दिनमा स्वयं प्रचण्डलाई नैयिनै देउवा, ओली, माकुनेहरुको साथ र सहयोग चाहिन्छ । त्यसकारण अपराधमा मुछिएकाहरु बाइज्जत बरी भएका छन् । यो हो गणतान्त्रिक नेपाल । यहाँ नेताहरुलाई जेमन्त गर्न छुट छ । त्यस्तै जनताहरुलाई चैं चिया गफ गर्दैमा फुर्सद छैन । यी भ्रष्ट नेता जनताको मनस्थितिको लाभ उठाइरहेछन् । त्यो संसद नामक मछली बजारमा केही सांसदले हल्लाखल्ला गर्छन्, केही समयपछि त्यो पनि त्यत्तिकै सेलाउँछ । हेर्दै गए हुन्छ । एमालेको हल्ला पनि केही दिनको हो । ओम्नी, गिरिबन्धु टी स्टेट आदि को मसला जुन अहिले बिस्तारै उठाइएको छ, ती काण्डले पनि गति लिन नपाउँदै सेलाउने पक्का छ । किनभने यहाँ सबै शिशाको घरमा छन् । यसकारण एकले अर्कोलाई ढुङ्गा हान्ने कुरै आउँदैन । उही काले काले मिलेर खाउँ भाले भन्ने प्रचलित गीत यहाँ लागू हुन्छ । जसले जुन जुन काण्डमा खाएका छन्, त्यसमा भाग पाउनासाथ चुप लाग्ने प्रचलन बसिसकेको छ ।
जनतालाई यस्तै काण्ड, चर्चामा रमाइलो भइरहेको छ । जनता एउटा काण्डको चर्चा गर्छन्, अनि अर्को काण्डको चर्चा गर्न थाल्छन्, पहिलो बिर्सन्छन् । नेता भ्रष्ट र राष्ट्रघाती छन्, जनता हरिलठ्ठक । बिद्रोह गर्नै जान्दैनन् । नेताले असंवैधानिक, अपराधिक भएर कमाएको हेर्छन्, मख्ख पर्छन् । जनता साह्रै सहज छन् । यस्तो मुलुकको हालत यस्तो नभएर कस्तो हुन्छ त ? देशले लिएको ऋणमा, छुट्याएको बजेटमा समेत भ्रष्टाचार गर्छन् । यस्ता जनताको जनादेशको अपमान नभए के हुन्छ ? भ्रष्टहरु चोख्खिनेक्रम जारी छ । अब खाण दाजु पनि उच्च अदालतबाट चोखिने क्रममा छन् भनेर बुटवले कांग्रेस भन्न थालिसकेका छन् । टोपबहादुर टेकनारायण, सुरक्षा सल्लाहकार राई किन भित्र बसिरहने ? यस्तै छ देश ।