माओवादीका योजनाकार, विदेश सम्बन्धका विज्ञ मोहन बैद्य किरण, सीपी गजुरेल प्रचण्डका साथमा छैनन् । रामवहादुर थापा, लेखराज भट्टहरु पनि छैनन् । प्रचण्ड छन्, बदनाम कृष्णबहादुर महराका साथमा छन् ।
बिद्रोही बनेर नेकपा खोलेका नेत्रविक्रम चन्द विप्लव समाजवादी मोर्चामा आएका छन्, तर उनको पनि प्रचण्डसँग बिमति कायमै छ । प्रचण्डले पटक पटक क्रान्तिकारी नेकपासँग पार्टीएकता गर्ने प्रस्ताव गर्दा मोहन बैद्यले इन्कार गरिदिए । प्रचण्ड सत्तामा छन्, मोहन वैद्य र सीपी गजुरेल छायाँमा परेका होलान् तर प्रचण्ड बलवान छन् भनेर कोही पनि मान्दैनन् ।
संविधानसभाको निर्वाचनमा बहुमत पाएको पार्टी ०७४ को चुनावपछि ०७९ निर्वाचनमा आइपुग्दा ३२ सिटे बन्न पुगेको छ । त्यो पनि समानुपातिकसहित । प्रचण्डमाथि लागेको ‘दक्षिणपन्थी अवसरवाद अर्थात भारतपरस्तता’को आरोप लागेकै छ ।
गत महिना प्रितम सिंहको एक पुस्तक बिमोचनमा दिएको अभिव्यक्ति ‘आफूलाई प्रधानमन्त्री बनाउन निकै मिहिनेत गरेको, दिल्ली धाएको र भारतका नेताहरूसँग छलफल गरेको भन्ने प्रचण्डको गैरजिम्मेवारी भाषण’ बुमे¥याङ हुनपुग्यो । यो अभिव्यक्ति कांग्रेसले एक कानले सुनेर अर्को कानले उडाएकाले मात्र प्रचण्ड सरकार बचेको थियो ।
चिनियाँहरु पनि भन्छन्– प्रचण्ड चीनलाई देखाएर भारो–अमेरिकातिर लहसिएका छन् ।
यो कुरा एमसीसी आफैले माग्ने, आफैले बिरोध गर्ने र आफैले पास गर्नेबाट पनि सावित भएको देखिन्छ ।
२०६३ साल मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको ड्राफ्ट नै दिल्लीमा भएको यथार्थ सार्वजनिक भएपछि चीन प्रचण्डसँग सशंकित रहदै आएको छ । यद्यपि आगामी महिना प्रचण्ड चीन जाँदैछन् । उपराष्ट्रपतिले चीन भ्रमणमा कस्तो वातावरण बनाउलान्, त्यसैमा प्रधानमन्त्रीको चीनभ्रमणको उपलब्धिको मापन हुनेछ ।
भ्रष्टाचारका अनेक मुद्दाका फाइल खोल्दा प्रचण्डको प्रशंसा सुरु भइरहेको बेलामा प्रधानमन्त्री बन्न दिल्ली धाएका कुराले प्रचण्डको साख भारतपरस्त हुनपुगेको छ । भारो पश्चिमा खेमामा उभिन पुग्नाले प्रचण्डले देशलाई भूराजनीतिको भूमरीमा पारिदिएको आरोप पनि लाग्न थालेको छ ।
प्रचण्डले जेठ १७–२० मा भारत भ्रमण गरे । यो भ्रमणमा उनले सीमा समस्या, गुमेको कालापानी, लिपुलेक, लिम्पियाधुराका कुरै उठान गरेनन् । इपीजीको रिपोर्टको कुरा पनि झिकेनन् । भारतीय संसदमा राखिएको अखण्ड भारतको नक्सामा बंगलादेश, पाकिस्तानले बिरोध जनायो, हाम्रा प्रधानमन्त्री बासमती चामलको बासीभात खाएर आए । यता भ्रष्टाचार विरोधी देखिने, भारत जाँदा लम्पसार पर्ने चरित्रले प्रचण्डको शीर उठेको देखिदैन ।
जनयुद्धमा ५ हजार मारेको जिम्मा लिन्छु भन्ने अभिव्यक्तिले उनलाई पछ्याइरहेकै छ । जनयुद्धकालीन समयका ६४ हजार उजुरी मेलमिलाप आयोगमा छ, ३ पल्ट प्रधानमन्त्री भइसक्दा पनि संक्रमणकालीन न्याय सम्पादन गर्न नसक्नु प्रचण्डको असफलता हो ।