कांग्रेसका बरिष्ठ नेता शेखर कोइरालाले सयकिलो सुन काण्डमा प्रधानमन्त्रीमाथि नै आशंका व्यक्त गरेका छन् । मोरङतिरका सांसद डा.सुनिल शर्मा शेखर तथा वर्षमान पुनका खास मान्छे हुन्, सुन तस्करीमा कतिपयले उल्टै शेखर कोइरालामाथि नै प्रश्न तेस्र्याएको पनि देखियो । स्मरणीय छ, गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा शेखर, नोना, गोकर्ण पौडेल आदि मिलेर तस्करी र भ्रष्टाचार गरेका सप्रमाण सार्वजनिक भएकै थिए । शेखरकी आमा नोना कोइराला नै हुन्, खुमबहादुर जयप्रकाश गुप्ताहरूलाई भ्रष्टाचारको दलदलमा भास्ने यिनै हुन्सम्म भन्न भ्याएका छन् शेखर विरोधीहरू । विजय गच्छदारको राजनीतिक भविष्य पनि यिनकै कारण समाप्त भयो, कारवाससम्म पुगेकै हुन् । चिरञ्जीवी वाग्ले, गोविन्दराज जोशीहरू भ्रष्टाचारमा मुछिएकै कारण गुमनाम जीवन बाँचिरहेका छन् । जो जति भ्रष्टाचारमा पोलिए कोइरालाकै कारण हो भन्ने चर्चा आज पनि चलेको सुनिन्छ । अहिले आएर आरजु, मञ्जु भाउलाई मात्र औंला ठड्याउन नमिल्ने तर्क धेरैको छ । हिजो कोइरालाले लुटे, आज राष्ट्रिय भाउजुहरूले लुटेका छन् । भुटानी शरणार्थी, ललिता निवास काण्डदेखि वाइडबढी जहाज खरिदमा कांग्रेस, एमाले, माओवादीका उपल्ला नेताको नाम आइसकेकै हो । अर्थात् ठूला पार्टी, ठूला नेता भ्रष्टाचारमा कहलिएका छन् । खरिदविक्री, लाइसेन्स, कर छुट, सुनतस्करी, पशुपतिनाथमा समेत भ्रष्टाचार गर्न भ्याइसकेका छन् । कोही पनि भ्रष्टाचारमुक्त छैनन् ।
एकले अर्कोलाई भ्रष्टाचारी भन्नु नै हास्यास्पद छ । जो आफै भष्टाचारी छन्, तिनले अर्कोलाई के भ्रष्टाचारी देख्नु ? अझ कोइराला परिवारका सदस्यले त यो वा त्यो भ्रष्टाचारी भन्नै सुहाउँदैन । ०४६ सालको परिवर्तनपछि राष्ट्र लुट्ने काम कोइरालाबाटै सुरू भएको हो । सत्तामा टिक्ने र आफू शक्तिशाली बनिरहन कोइरालाहरूले भ्रष्टाचारलाई संस्थागत नै गरेका हुन् । जुन कार्यशैलीलाई एमाले र माओवादीले पछ्याएका हुन् । सिकाउने कांग्रेस नै हो । अब त नेताहरूलाई लागेको हुनसक्छ, सकेजति लुट्ने हो, पैसा भएपछि चुनाव जितिहालिन्छ । लूट चलेको छ ।
मुलुक हरेक दिन अधोगतिमा लाग्नुको कारण भ्रष्टाचारले हो, भ्रष्टाचारी नेताका कारणले हो । मुलुक र जनतालाई कसैले हेरेका छैनन् । एकथरि सत्तामा गए अर्कोथरिले आलोचना गर्ने, अर्कोथरि पुगे अर्कोथरिले भ्रष्टाचार गर्ने । बस लोकतन्त्र भनेको लुटतन्त्र बनेको छ । सक्नेले जति लुटे पनि माफ भइरहेकै छ । कांग्रेसी सांसद डा.सुनिल शर्माले अर्थमन्त्रीको राजीनामा नआए आमरण अनसन बस्छु भनेका छन् । यो सबै जनता अलमल्याउने कार्यशैली हो यिनको । यो सबै आफूले भाग नपाएको, मन्त्री हुन नसकेको कुण्ठामात्र हो । गैर नेपालीलाई नेपाली पासपोर्ट दिएर जर्मन पठाउने यिनै कोइराला परिवार हुन् । नियुक्ती, सरूवा बढुवामा समेत कति खाए खाए । वामपन्थीहरूले समेत कांग्रेसको चरित्र पक्रिए । हुँदा हुँदा रास्वपाका ढाकाकुमार श्रेष्ठको ३ करोडको प्रकरण पछिल्लो उदाहरण हो । भ्रष्टाचार गर्न सिकाउने माष्टर कांग्रेस हो । शेखर, गगन, विश्वप्रकाशहरूले बिसंगतिविरूद्ध जोडदार आवाज उठाए भनेर भन्नु नै बेकार छ । यी फेरि सत्तासीन हुनपुगे भने यिनले गर्ने काम होइन, भ्रष्टाचार नै हो सांसद, मेयर, पालिका अध्यक्षको टिकट दिंदासमेत करोडौं कुम्ल्याउनेहरूको के कुरा गर्नु ? यसकारण जति पनि भ्रष्टाचारविरोधी कुरा उठेका छन्, ती सबै यिनले भागशान्ति जयनेपाल गर्न नपाएर हो ।
भर्खरै सकिएको माओवादी केन्द्र पार्टीको केन्द्रीय समितिको बैठकमा जति पनि नेताहरूले नेतृत्वको आलोचना गरे, त्यो पनि भाग नपाएर आफूले अवसर नपाएको झोकमात्र हो । त्यही कुरा कांग्रेस केन्द्रीय कमिटिको बैठकमा भएको नेतृत्वको आलोचनाको हकमा पनि लागू हुन्छ । सत्य कुरा के हो भने यहाँ कोही पनि चोखा छैनन् । पाउन्जेल राष्ट्र लुट्ने नपाएपछि खेदो खन्ने ? सबै नेपालीले बुझिसकेका छन्, यी सबै राष्ट्र लुटेरा हुन् भनेर । यसकारण जबसम्म यी लुटेरालाई खेद्न सकिन्न, तवसम्म राष्ट्रघात सामान्य कुरा हुन् भनेर बुझौं ।