नेपालका प्रमुख संसदवादी पार्टीमध्येको एक माओवादी केन्द्रको केन्द्रिय समितिको बैठक साउन १७–२१ मा सम्पन्न भएको छ । पार्टीका अध्यक्ष तथा प्रधानमन्त्रि पुष्पकमल दाहालले मौखिकरूपमा पेश गर्नुभएको राजनीतिक र संगठनात्मक प्रतिवेदनमाथि अधिकांश केन्द्रिय सदस्यले आआफ्नो संक्षिप्त धारणा राख्नुभएको देखियो । पार्टीको केन्द्रिय समितिमा धेरै सदस्य राखेको फाइदास्वरूप एकजना सदस्यलाई पाँच मिनेटभन्दा बढी समय दिनु परेन । त्यसैले नेतृत्वले सदस्यहरूबाट धेरै कचकच पनि सुन्नु परेन । अधिकांश सदस्यको ध्यान राजनीतिभन्दा पार्टी संगठनमानै बढी केन्द्रित हुन पुग्यो । भनाईको निचोड ‘अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई विधि र पद्धतिअनुसार चल्न दिनुभएन’ भन्ने रह्यो ।
खासमा पार्टीको नाम माओवादी केन्द्र रहेपनि हाल सरकारको नेतृत्व गरिरहेको पार्टी नेकां र एमालेजस्तै संसदवादी हो । क्रान्तिकारी र खास माओवादका आधारमा चलेको÷चल्ने पार्टी होइन । ०६२ को मंसिरमा भारतको दिल्लीमा नेपालका सात संसदवादी दल र माओवादी केन्द्रकाबीचमा १२ बुँदे सहमति हुँदाका बखतनै अध्यक्ष दाहालले संसदीय ब्यवस्थाप्रति प्रतिबद्धता जनाउनु भएको थियो । त्यसैबेला उहाँले जनयुद्धका साथै माओवादीले ०५२ सालमा अगाडि सारेका ४० सूत्रीय माग पनि परित्याग गर्नुभएको हो । जतिबेला उहाँले भाबि दिनमा मुख्यत नेपाली कांग्रेससँग सहकार्य गर्दै १२ बुँदे सहमतिअनुसारको राजनीतिगर्ने प्रतिबद्धता जनाउनु भएको थियो । जसलाई ०६३ मा भएको बृहत् शान्ति संझौतामा लिपिबद्धगर्ने कार्य पनि भएको थियो । त्यसपछिबाट माओवादी केन्द्रको नेतृत्वले मालेमावादको संझना गर्नपनि छाडेको छ । उसका लागि बर्गसंघर्षको राजनीतिको पनि कुनै महत्व र दरकार परेन । पछिल्लो समयमा माओवादी केन्द्र बर्गसमन्वयको सिद्धान्तमा रहेको छ । संसदवादी राजनीति भनेकै राजनीतिलाई संभावनाको खेल ठान्ने अर्थात अवसरवादमा आधारित हो ।
माओवादीले जनयुद्धमा जानुअघि संसदीय ब्यवस्था भनेको ‘खसिको टाउको अगाडि राखेर कुकुरको मासु बेच्ने ब्यवस्था’ हो भन्ने गरेको थियो । हाल सो पार्टी आफै पनि संसदीय ब्यवस्थामा रहेको छ । त्यसैले स्वभावत उसको कर्तब्य भनेको खसीको टाउको अगाडि राखेर कुकुरको मासु बेच्नु नै हो ।
नेताहरूले गरेको पनि त्यही नै हो । माओवादी केन्द्रको नेतृत्वले आफ्नो राजनीतिक प्रतिश्पर्धी नेपाली कांग्रेस र एमालेलाई ठानेको छ, मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीलाई होइन । तर केन्द्रिय समितिको पछिल्लो बैठकमा बोल्ने कतिपय केन्द्रिय सदस्यहरूले माओवादी केन्द्रलाई अझैपनि क्रान्तिकारी पार्टी रहेको अर्थमा टिकाटिप्पणी गरेको देखियो । त्यसैले माओवादी केन्द्रको संस्थापन पक्ष र केही केन्द्रिय सदस्यहरूका बीचमा राय बाझिएको जस्तो देखिएको हो । संसदीय ब्यवस्थामा आइसकेपछि पनि खासगरी माओवादी केन्द्रका अध्यक्ष दाहाललाई एमालेसँग मिल्नेकि नेपाली कांग्रेससँग मिल्ने भन्नेमा द्विविधा रहेको देखिन्थ्यो । ०६३ को परिवर्तनपछि शुरूमा उहाँ नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला निकट रहेर काम गर्नुभएको थियो । त्यसैले कोइरालाले आफ्नो निधन हुनुअघि दाहाललाई संसदीय राजनीतिको जिम्मासमेत लगाउनु भएको समाचार बाहिर आएको थियो । त्यसैले हालसम्म पनि दाहालले बेलाबखत आफूले १२ बुँदे सहमति पक्षधरहरूको संगठन गरिरहेको बताउने गर्नुभएको छ । नेकांका महामन्त्रि र कतिपय नेताहरूले पनि त्यसको पुष्टि गर्नुभएको पाइन्छ ।
हुन त ०७४ सालको निर्वाचन अघि अध्यक्ष दाहाललाई एमालेसँग मिलेर कम्युनिष्ट पनि कहलिने र संसदीय सुख सुबिधा पनि प्राप्तगर्ने लहड नचलेको होइन । उहाँले एमालेसँग पार्टी एकता गरेर त्यसको नेतृत्व प्राप्तगर्ने अभिलाशा पनि राख्नुभएको थियो । जसका लागि उहाँले ०७५ जेठ तीनगते एमालेसँग पार्टी एकतागर्दै त्यसभित्र बामदेव गौतम र माधव नेपालसहितको आफ्नो गुट पनि बनाउनु भयो । तर सोही गुटबन्दीका कारण एमाले र माओवादी केन्द्र एउटै पार्टीमा रहिरहने संभावना भएन । ०७७ फागुन २३ गते एमालेसँग अलग भएपछि माओवादी केन्द्र फेरी नेपाली कांग्रेसकै साथमा पुगेको छ । पछिल्ला दिनमा उहाँले एकीकृत समाजवादीलगायतका चार दललाई मिलाएर समाजवादी केन्द्र बनाउनु भएको छ । जसमा भारतको संस्थापन निकटका समूहमात्र समेटिएका छन् । तर सो समाजवादी मोर्चाले पनि माओवादी केन्द्रलाई लाभभन्दा हानीनै बढीगर्ने संकेतहरू देखिएका छन् । अध्यक्ष दाहालको चाहना माओवादी केन्द्रलाई नेपाली कांग्रेसजस्तै नेताप्रधान पार्टी बनाउने रहेको बिभिन्न घटनाक्रम र गतिबिधिहरूले देखाएका छन् ।
नेपाली कांग्रेसमा कम्युनिष्ट पार्टीहरूमाजस्तो पार्टी सञ्चालनगर्ने कुनैपनि बिधि र पद्धति छैन । नेताप्रधान पार्टी भनेको सामन्ती पार्टी हो । जहाँ नेताको आदेशलाई सर्बोपरी मानिन्छ । जसमा न त विधानको मान्यता हुन्छ, न कुनै नीति र सिद्धान्तको । नेपाली कांग्रेस ००७ सालदेखिनै विदेशीको भरमा चल्दैआएको छ । जो शुरूमा भारतीय कांग्रेसको नेपाल शाखाकारूपमा काम गथ्र्यो । ०४६ सालको आन्दोलनका बेलामा पनि भारतीय नेता चन्द्र शेखरले नेपालमा आएर क्षेत्रपाटीको चाक्सीबारीबाट नीति निर्देशन गर्नुपरेको थियो । यस्तै नीतिहीनता र स्वेच्छाचारी प्रबृत्तिका कारण भारतमै भारतीय कांग्रेसको नामोनिशान हराएको बिर्सनु हुन्न ।
पछिल्लो समयमा आरजु देउवामार्फत शेरबहादुर देउवाको अमेरिकासँग निकटता बढ्न पुग्यो । नेपाली कांग्रेस भारतमा पनि भाजपासँग सम्बन्ध बढाउन प्रयासरत रहेको छ । तर भाजपाका लागि नेकांभन्दा माओवादी केन्द्र निकट हुनपुग्यो । जसलेगर्दा माओवादी केन्द्रले भाजपासँग दीर्घकालीन सहकार्यगर्ने लिखित सहमति गरिसकेको छ । दुई पार्टीकाबीचमा भाइचारा सम्बन्ध पनि कायम भएको छ । माओवादी केन्द्रको संगठनात्मक सुधार गर्ने होभने सर्बप्रथम पार्टीको नाम परिवर्तन गरेर जनसमाजवादी खालको राखिनु राम्रो हुन्छ । जसको विधानमासमेत परिवर्तन गरेर नेपाली कांग्रेसकोजस्तै नेता प्रधान बनाइनु पर्दछ । पार्टीका उद्देश्यहरू पनि संसदीय राजनीति सुहाउँदा हुनु राम्रो हुन्छ । जसका लागि नेपाली कांग्रेस र एमालेका विधान तथा राजनीतिक प्रतिवेदनहरू उदाहारणिय हुन सक्दछन् । तत्कालीन नेकपा(माओवादी) ले दिल्ल्लीमा गरेको १२ बुँदे सहमति र ०६३ मा भएको बृहत् शान्ति संझौतापछि पनि मोहन बैद्य लगायतका नेताहरू सोही पार्टीमा रहनु भएको थियो । उहाँहरू पहिलो संविधानसभामा छनोट पनि हुनुभयो । तर जब अध्यक्ष दाहालहरूको राजनीतिक दिशा संसदवादतिर सोझिएको बुझेपछि पार्टीबाट अलग हुनुभयो । भलै उहाँहरूको राजनीति पनि हालसम्म ठीक ढंगले अगाडि बढ्न सकिरहेको छैन । हालको अवस्थामा माओवादी केन्द्रमा रहेका क्रान्तिकारी पक्षधरहरूले पनि आफ्नो अलग्गै बाटो तयगर्नु राम्रो हुन्छ । कुनैपनि राजनीतिक पार्टी बैचारिकरूपमा सुस्पष्ट हुनु आबश्यक छ । त्यही अनुसारको संगठनात्मक संरचना निर्माण गरिएको हुनुपर्दछ । आफ्नो मित्रशक्तिको पहिचान गरेर पार्टी पंक्तिलाई सोहीअनुसार परिचालन गरिनु पर्दछ । त्यसो भएको खण्डमामात्र पार्टी चलायमान हुन्छ ।
आफ्नो बिचारमा अडिएका कारण नेमकिपा सानै रूपमा भएपनि एक ढिक्का छ, चर्चामा छ । नेकपा (मसाल) ले पनि आफ्नै किसिमले संगठन गरेको छ । तत्कालीन नेकपाबाट माओवादी केन्द्र र त्यसपछि एकीकृत समाजवादी पार्टी अलग भएपनि एमाले ०७९ मंसिर चारको निर्वाचनमा प्रत्यक्षतर्फ दोश्रो र समानुपातिक तर्फ पहिलो पार्टी हुन सफल भएको हो । एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पार्टी बैचारिक नभएर पपुलिष्ट कम्युनिष्टमात्र भएको बताउँदै आउनु भएको छ ।
जसमा कुनै पनि किसिमको बैचारिक द्विबिधाहरू रहेका छैनन् । त्यसैले एमालेबाट अलग भएर गएका एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरू फेरी एमालेमै फर्किरहेका छन् । अन्य कम्युनिष्ट पार्टीका संसदवादीहरूको आकर्षण पनि एमाले तिरै रहेको देखिन्छ । यदि माओवादीका अध्यक्ष दाहाललगायतका केही नेताहरू बिधि र पद्धतिअनुसार परिचालन हुन तयार रहेको खण्डमा अझै पनि एमालेसँग पार्टी एकता हुने संभावना छ । तर ०६३ को राजनीतिक परिवर्तनपछि हालसम्मका घटनाक्रमहरूलाई केलाएर हेर्दा माओवादी केन्द्रका मुख्य नेताहरूको शोच र ब्यवहार नेपाली कांग्रेससँग मिल्दो जुल्दो छ । त्यसैले माओवादी केन्द्र नेकां निकटमा रहेको छ र अब पनि त्यतै रहनु उत्तम हुने देखिन्छ । नेपालीमा उखान छ ‘भेडा भेडासँग र बाख्रा बाख्रासँग’ रहँदा नै शोभा दिन्छ । पार्टी राजनीतिमा बिभिन्न भ्रम र द्विबिधाहरू पालेर बस्नु राम्रो होइन । त्यसैले माओवादी केन्द्रका रहेका बिभिन्न शोचका नेता तथा कायकर्ताहरूले आ—आफ्नो शोचअनुसारको बाटो तताउनु सबैभन्दा राम्रो हुन्छ । प्राणीको स्वभाव नै छ कि ‘नानीदेखि लागेको बानी पनि हट्दैन र कुकुरको पुच्छर १२ बर्ष ढुंग्रोमा हालेर राखे पनि सोझो हुँदैन ।’