Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

गौंडामा सिट्टी बजाउँदै, चिट थमाउँदै

२३ मंगलबार , श्रावण २०८०एक बर्ष अगाडि

गौंडामा सिट्टी बजाउँदै, चिट थमाउँदै

बैकुण्ठ भण्डारी - -
‘हतार गरे भन्न सकिन्न, ढिला गए अवश्य पुगिन्छ ।’ ट्राफिक प्रहरीको नारा भनौं कि सन्देश । यो सन्देश सडक सुरक्षासँग मात्र जोडिएको छैन । मानिसको हरेक जीवनमा लागू गर्न सकिन्छ । तर, नेपालमा सेतो टोपी लगाएर सिठ्ठी फुक्नेहरूका लागि त बाह्र मज्जा छ । गौडा कुर्ने बाटो छेकेर समाउने अनि झ्याप्प चिट थमाउने ।
सेता टोपीहरूलाई माथिको जे आदेश त्यही गर्ने हो, नियम कानुन यस्तै हो । दुई पांग्रेमा खुरूरू दौडियो, यसो हे¥यो मुड चल्यो, दिमागमा खेल्यो, ट्याक्क रोक्यो अनि चक्कामा ताला ठोक्दियो । त्यसको बाजेको के जान्छ र ? सवारी चलाउनेलाई जुनबेला नि त्रास नै त्रास । मापसे भन्यो, ट्राफिक नियम भन्यो, युटर्न भन्यो । कहाँ पार्किङ, कहाँ नो पार्किङ । सकेसम्म रूखको झ्याङमा बस्यो । कुना कन्तरामा लुक्यो, चिट थमाइहाल्यो ।
जरिवानाको चिट किन काट्यो थाहा छैन, के कारण काट्यो, थाहा छैन । अब के हुन्छ, त्यो पनि थाहा छैन । न चिट काट्नेलाई थाहा छ, न चिट पाउनेलाई थाहा छ । नेपालको ट्राफिक नियम उस्ताको उस्तै छ । माथिको आदेश आज फलानो चोकबाट १०० जना, फलानो चोकबाट २०० जनाको चिट हुनप¥यो, सक्कियो । सेतो टोपी लगाएर सिठ्ठी फुक्नेसँग सडकमा कराएर साध्य छैन । दुई चारका कारण ९८ सोझाले दुःख पाउँछन् । अनि एउटा सेतो टोपीका कारण ९९ सेतो टोपीले गाली खान्छन् ।
ख्वाउन्, जाबो गाली नै त हो । हद भने चोर भन्लान् । डाका भन्लान्न् । घुस्याहा भन्लान्न् । एक छिन झोक्का–झोक्की गर्लान् । लाइसेन्स आफ्नै हातमा बिल बुक पनि, आफ्नै पेटीमा कसको के जान्छ । मिल्दै मिल्दैन । बग्गीखाना जानुस्, एक घण्टा फलाकेको सुन्नोस् । पैसा तिर्नोस् अनि फर्कनोस् ।
त्यतिसम्म पनि ठीकै हो, कम्तीमा सडक सुरक्षाको कथा त सुन्न पाइन्छ । केही जानकारी त पक्कै पाइन्छ । तर, पढाउनेलाई भन्दा पढ्नेलाई बढी थाहा छ । पढाउनेले नियम पढाउँछ, तर उसैले नियम पालना गर्दैन । गौडा कुरेकै भरका चिर्कटो भिडाउँछ । होस् कि नहोस् उहाँ हजुरलाई झोंक चलेपछि माथिको आदेश छाड्नै मिल्दैन । किन रोकेको सोध्नै मिल्दैन । क्या गज्जबको पावर छ गाँठे सेतो टोपीवालालाई ।
हुन त सबैभन्दा शक्तिशाली डे«ेस लगाएपछि कस्ता–कस्ता त डराउँछन्, जाबो सवारी चालक । सेतो टोपीले गर्नै नहुने त कहाँ गरेको हो र ? अति पो गरेको त । हजुरबाले भन्थे रे, तँ हेर म हेर, ठाउँ हेर अनि बेला हेर । कति हेर्नु जति हेरे पनि हेरेको हेरै ।
थितिमा बस भन्न त आफू पनि थितिमै बस्नुपरो नि होइन र ? सेतो टोपीले अरूलाई गौडा कुरेजस्तो कहाँ हुन्छ र ? खै नियमअनुसार दिएको ? खै चिह्न देखाएको, कहाँ रोक्ने ? कहाँ नरोक्ने ? कताबाट फर्कने कताबाट नफर्कने ? उसको नाइकेले राम्रै मलजल पाए टु वे ? मलजल नपाए वन वे । आज पार्किङ भोलि ‘नो पार्किङ् ? हिजो लाइट, आज हातैको इसारा । कुनबेला सवारी जाम, कुनबेला चेकिङको जाम । कुन ठाम । जे मन लाग्यो त्यही गर्न पाम । हरे शिव । सेतो टोपीको करामत । सोझालाई अपरम्पार । घुरेर हेर्नेका लागि लम्पसार । नियम कानुन मान्नेलाई च्याप्प, नियम नमान्ने तोरीलाहुरेलाई चाहिँ आँखा झ्याप्प । आँखै झ्याप्प भएपछि के देख्नु र ? देख्दै नदेखेपछि कसको बाउको के लाग्छ । 
जसले जे सुकै भनोस् । गौडा कुर्ने काम र चिट थमाउने काम लुटमाथिको लुट हो । नियम लगाउने हो, पारदर्शी ढंगले । तर, भइरहेको छ आदेश रंगले । रंग न ढंगले अगाडि बढ्दा जे पनि हुन्छ । त्यही भएर त नियम भनेको जति स्पिड बढाए पनि कुद्दै नकुद्दे भटभटे समातेर साइकल चलाको जस्तो किन भन्न पाइन्छ ? अलि धेरै कुदायो ४० बाट किन बढाको भन्न पाइन्छ ? जुन रोग हो त्यसैको पो उपचार गर्नु परो नि । बहाना बनाएर दुःख दिने चोरै काम हो ल ?
काठमाडौंका सडक हेर्दै वैरागलाग्दो । ठाउँ–ठाउँमा प्वाल । कुन दिन कुन दुलोमा पर्ने हो थाहै छैन । करोडौं खर्चेर सडक कुनामा ट्राफिक लाइट अनि सधैँ पनि दाहिने हातले नै लेफ्ट राइट ? सेतो टोपीले किन गौडा कुर्ने ? पुलमुनिको रोकेकाले कसलाई सकस दिएको हुन्छ । पांग्रा बन्द गर्नुपर्ने ? खाली जनतालाई दुःख दिने सेतो टोपी हो कि सहजीकरण गर्ने टोपी हो । अहिले त सेतो टोपीको नाम निकै भाको छ बदनाम । विचार गर ।
ऊ बेला सलाम हान्थे, अहिले त कर्के नजर हान्छन् । पहिले जनावर मार्न गौडा कुर्ने चलन थियो, अहिले सवारी चालक पिर्न सेतो टोपीहरू गौडा कुर्न थाल्या छन् । माथिको आदेश पालना ग¥या छन्, दुःख मात्र दिन जान्या छन् । प्रशंसा खाने दिन गए अब सेतो टोपीका । गाली खाने दिनमात्र हो अब त । विश्वास गर्न पनि मुश्किल । चोरले हो गौडा कुर्ने, डकैती गर्ने, छिर्के हान्ने काम भनेको । रूखमुनि लुकेर त डाँका डाल्ने हो ? अहिले त सेतो टोपीका टोलीको काम त्यस्तै हो । गौडा कुर्ने, छिर्की हान्ने । बिरालोले मुसा ढुकेर बसेजस्तै नदेखिने ठाउँमा लुकेर मुसा मार्न खोज्ने त ढाँडे बिरालो पो हुन्छ । कुनबेला दुलोबाट आउला र च्याप्प समातेर कुप्लुक्कै खाउँला भन्ने । कठै सेतो टोपीवाले ।
सेतो टोपीको आफ्नै नाम छ । आफ्नै स्वाभिमान त छ । गौडा कुरेर बदनाम किन बन्नुपरेको हो गाँठे ? सेतो टोपीलाई डकैती नबनाऊ न हो । यो त अति नै भो गौडा कुर्ने, च्याप्प समातेर झ्याँप्प चिट काट्ने । सेतो टोपीको सान धेरै भयो बदनाम । आऊ–आऊ च्याप्प समाऊ, मन लागेको जति जरिवाना कटाऊ ।