देवी काफले –
स्थानीय चुनावको बेला थियो । रेडियो, टेलिभिजनमा उमेदवारहरूका अन्तर्वार्ताले अरू कार्यक्रम चल्नै पाएका थिएनन् । अनलाइन खबरहरू भरीभराऊ नेताका अन्तर्वार्ताले ।को भन्दा को कमको प्रतिष्पर्धा घोषणापत्र । घरघरमा पर्चा, पम्पलेट, पार्टीको झण्डा छरपष्टै छरिएका छन्, फहराइएका छन् । मनेको छोराले बल्लतल्ल तिनकक्षा पढेको । पर्चा भेटेछ पढ्दै —बाउ ए बाउ हेरत भोली त तल चौताराँ मासुभात बांड्चन अरे । जानी है । मनेले हत्केलाको छानो लाउँदै चिच्च्यायो के भन्च यो केटो कल्ले बाँड्नी रैचन् र मासुभात ? परीमल साहुको भारी भन्ज्याङ्गको दुकानमा पु¥याएर बेलुकाको खर्चो जोहो गरेको मनेले आज त मसिनोको चामल ल्याओछु बुडी मिठरी पका है भन्दै अगेनाको वरपर बाउछोरा ओदानै बनेर दाउरा ठोस्दै थिए । एकहुल मान्छे मने दाई भन्दै हुर्हुर्ती भित्रै पसे । एकछिन मने र उसकी बुढी हेराहेर भए ।
छोरो कन्ठेले उत्सुक भएर तिनीहरूलाई सुनिरहेको थियो, हेरिरहेको थियो । आगन्तुकहरूले मनेको घरको दुई भोटलाई किन्ने भरपुर कोशिस गरे । छोरो निशुल्क पढाइदिने, मनेलाई खाडी मुलुक पठाइदिने, घर निलो टिनले छाइदिने भए । तर मनेले मानेन । उसको गाउँमा बाटो छैन, पानी छैन, बिजुली छैन, स्कूल तिन भन्ज्याङ्ग काटेर जानुपर्छ, बेंसीमा स्वास्थ्यचौकी छ । न त डाक्टर छन्, न त औषधी नै पाइन्छ । खेतमा लाउने पानी ल्याउन सकिएको छैन । बारीमा टमाटर लगाएको बिक्री नभएर भिरबाट खसालियो, फालियो । अन्य तरकारी पनि बिक्री नभएर पोहोर साल बारीमै जोतिदिन प¥यो । दुनो भैंसी पालेको दुध बेचेर आम्दानी गरूँला भनेर त्यै भैंसीलाई पनि रोग लाग्यो उपचार गर्न सदरमुकामबाट डाक्टरसाब आउँदा आउँदै भैसी दाम्लैमा लड्यो । हाम्रा दुख कति छन् कति तपाईंहरू मलाई खाडी पठाएर यो ठाउँको बिकास ठान्नुहुन्छ ? मनेले ओठे जवाफ फर्कायो नेता र आसेपासे ट्वाल्ल परे । हिजोको गाउँंको अवस्था हुबहु मनेले भनेजस्तै नै थियो आज फरक छ । हिजो गाउँभरी मान्छे थिए आज रित्ता र उदाङ्ग परेका घर र बांदरहरू छन् ।
हामीकहाँ जोसुकै सरकारमा पुगे पनि गाउँको महत्व बुझ्ने, गाउँमुखी हुन सकेनन् । अझै तपाईंहरू मलाई किन्न आउने ? आज गाउँ किन रित्तो छ, थाहा छ ? वास्तवमा मनेले भने जस्तै आज पहाडका गाउँहरू रित्ता छन् । पानीको धारा पुगेको छ । डोजरे बिकासले बाटो पुगेको छ । टाकुरा माथी भ्यूटावर बनेको छ । स्वागत गेटहरू बनेका छन् । तर गाउँ किन रित्ता छन् ? सरकारको ध्यान छैन । गाउँमा उत्पादित अन्न फलफूल तथा तरकारीहरूको उचित बजार ब्यावस्थापन छैन । किसानवाई हौसला स्वरूप कुनै पनि कार्यक्रम ल्याइएको छैन । ल्याइएका योजनाहरू नेताकै हर्ताकर्ताले झ्याम पार्छन् । किसानबाट उत्पादित वस्तुहरू बिचौलियाको चंगुलमा छ । गाउँका स्कूलहरूको दुरावस्था छ । स्वास्थ्यचौकी तथा अस्पताल छ, डाक्टर हुंदैनन्, न औषधी हुन्छ । उच्च शिक्षा पढ्नका लागि शहर छिर्नैपर्छ । यी सबै अप्ठेरा परिस्थितिका कारण अनियन्त्रित बसाईसराई बढेको छ । यहाँ सबैभन्दा बढी बसाइसराई गर्ने राजनैतिक दलका नेतृत्वहरू छन् जसका कारण सर्वसाधारण गाउँमा बस्नै नसक्ने भए । सम्बृद्धि, बिकास, नीतिनिर्माणका लागि गाउँबाट चुनिन्छन् सिंहदरवार छिरेपछी त्यही गाउँलाई लत्याउँछन् । आज मकै, कोदो जस्ता अन्नबाली अरबौं रूपैया लगानी गरेर देशमा भित्र्याउनु परेको छ । आफ्नो देशको उब्जाउ जमिनमा एकातिर बालुवा छरेर घर उमारिएका छन् । एकातिर बाँदरको रजाईं छ ।
यस्ता गम्भिर बिषयलाई किन महत्व दिंदैन सरकार ? चुनावको बेला गाउँ चाहिने, चुनाव पछी पाखे बनाउनेहरूको दिमागमा मनेका कुराले छुन्छ होला त ? मनेजस्तो सचेत भैदिएको भए आज गलत नेतृत्वलाई प्रोत्साहन हुन्थ्यो होला त ? मनेजस्तै स्वाभिमानी जबसम्म हामी हुन सक्दैनौं तबसम्म हाम्रो अवस्था यही नै हुने हो । चुनावका तिनै पर्चा खाने हो, पम्पलेट लाउने हो, घोषणापत्र पढेर निदाउने हो । झण्डा फहराउनेहरूले दुई छाक छोराछोरीलाई मासुभात खुवाउने आश्वासन दिन्छन्, भोट किनेर लान्छन् ।