Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

Image

हामीजस्ता जनताबाट केही हुदैन

शाश्वत शर्मा

१९ शुक्रबार , श्रावण २०८०एक बर्ष अगाडि

हामीजस्ता जनताबाट केही हुदैन

शाश्वत शर्मा- - 

साउन १४ गते पूर्व नवयुवराजको २२औं जन्मोत्सव मनाइयो । राजभक्तहरूले मन्दिरमा पूजापाठ गरे, दिपप्रज्वलन पनि गरे । दीर्घायुको कामना गरे । यता राष्ट्रको हालत खराव छ । राज्यसञ्जाल नै भ्रष्ट बनेको छ । राष्ट्रियता र अखण्डता नै सिध्याउने खेल भइरहेको भान हुन्छ । नागरिकता विधेयक अनधिकृत रूपमा राष्ट्रपतिले प्रमाणित गरेर कार्यान्वयनमा जानासाथ तराईमा नेपालको नागरिकताको खरिदविक्री भइरहेको छ । एकातिर सिमाना साँघुरिने, अर्कोतिर नागरिकता विदेशीको हातमा पुग्ने, यो सबै नेपाल सिध्याउने खेल नभए के हो ? नेता,पार्टीहरू विदेशीको दबाबमा परे, बिके । नेपाली जनताले यसतिर ध्यान दिनुपर्ने हो । कहीं कतै कसैले बिरोध गरेको सुनिदैन । कांग्रेस बैठकमा चिन्ता सुनिएन, प्रचण्ड इटली फर्केपछि के के भने ? ओलीले कम्बोडियाको निर्वाचनको पर्यवेक्षक भएर के देखे ? कोशी प्रदेशमा मुख्यमन्त्रीको रडाको छ ।

 दिल्लीबाट फर्केकी माओवादी पम्फा भुसालले त्यहाँ कसकसलाई भेटिन् र कसरी प्रमको राजीनामा माग्ने ओलीलाई थचारिन् ? एमाले अब गृहमन्त्रीको राजीनामामा झरेको छ, के हुन्छ ? कांग्रेसी सांसद सुनिल शर्माले अर्थमन्त्रीले राजीनामा नदिए संसदमै आमरण अनसन बस्छु भन्नुको तात्पर्य के हो ? रास्वपा र राप्रपाले संसदमा बोलेका कुरामा अडानका साथ अड्लान् किन नअड्लान् ? सय किलो सुन तस्करी गर्ने नाइके को हो ? ललिता निवास जग्गाकाण्डमा कोको पक्राउ पर्लान् ? बाबुराम र माधव नेपाल जेल जालान् ? भुटानी शरणार्थी काण्ड यत्तिकै सेलाउला कि अनुसन्धानले केलाउला ? राष्ट्रवादमा उभिएका मेयर बालेन्द्र साहको मुद्दा के होला ? यस्तै प्रश्नमा समाज अल्झिएको छ । राष्ट्रियतामा खतरा कसैलाई मतलव नै देखिन्न । मिटरब्याजी काण्डले चर्चा पायो, देशको अस्तित्व खस्केकोमा चर्चा सुनिदैन । अब को प्रधानन्यायाधीश हुनछ ? यस्ता सेटिङका कुरामा लाग्नुभन्दा आमनागरिक, बुद्धिजीवी, चिन्तकहरू राष्ट्ररक्षाका लागि सडकमा उत्रनुपर्ने हो । 

आमनागरिकलाई यसतर्फ संगठित र प्रेरित गर्ने कोही छैनन् । हिजो बालुवाटार घेर्ने, माइतीघरमा उफ्रने, प्लेकार्ड प्रदर्शन गर्नेहरू कता हराए हराए । आइएनजीओ चलाउने अधिकारकर्मीलाई युक्रेनको चिन्ता छ, रूसको विरोध गर्छन्, नेपालको सार्वभौमिकताको रक्षा गर्न खातिर कोही अगाडि सर्दैनन् । किनकि यसमा डलर छैन । पैसा पाएपछि नेपाली सेनाको संख्या घटाउनुपर्छ भन्ने मुद्दा बनाँएर उठाउँछन् यिनीहरू । अचम्म, भ्रष्टाचारले गनाएकी डा.आरजु राणाको जयजयकार गर्न प्रतिस्पर्धा गरिरहेका छौं । यही परजीवीपन देखेर परचक्री हावी हुनसकेका हुन् । यही बुझेर सिंहदरवारदेखि पालिकासम्म जेमन्त गर्ने छुट पाइरहेका । कोही नबोल्ने, कसैलाई नबिझ्ने अनि मुलुक सिद्धिने नै भएन त ? नेतृत्वमा रहेका नैतिकहीन, जनताचाहिं बेफिक्र । भूराजनीतिका कारणले चनाखो हुनुपर्ने, लाटोकोसेरो बनेका छौं । कतै देखिएन संवेदनशीलता । चुनावका बेलामा रक्सी र मासुभात खायो, पैसा लियो अरू बेला नेताका अवांक्षित कार्यमा रमायो । यस्ता जनता भएपछि मुलुक बाँच्दैन । कोही कोही नेपालमा श्रीलंकाको जस्तो अवस्था ल्याउनुपर्छ भन्छन् । श्रीलंकामा शासक जनताले लखेटे, नेपालमा नेता लखेट्नु कोठे गफजस्तो लाग्छ । श्रीलंकामा जनता देशभक्त थिए, यहाँ सबै दूतावास र पार्टीका कार्यकर्ता छन् । 

थाहा छ नेता खराव छन्, भित्रभित्रै पिल्सिन्छन् बस्छन् । जनता आँखा उघार्न तैयार छैनन् । भ्रष्टाचारको रकमले दलालहरूको भातभान्सा चलेको छ ।  यसकारण कोही बोल्दैनन् । देश लुटेको थाहा छ, विद्रोह कोही गर्दैनन् । कसरी देश बाँच्न सक्छ । यो बेलामा नेपालीत्व बचाउने, नेपाली बाँच्ने र नेपाल बचाउनका लागि राजतन्त्रको आवश्यकता खड्किन थालेको छ । पूर्वराजा, आमजनता र सेना मिलेर अगाडि बढ्न जरूरी देखिन्छ । त्यसो भयो भने केही होला, नेपालीत्व बच्ला । अन्यथा भीरमा पुगेकोलाई राम राम भन्नेमात्र हो । अब पूर्वराजादेखि नेपाललाई मायाँ गर्ने जोकोहीले पनि आफ्नो मनोवल उच्च राख्न जरूरी छ । तबमात्र सुधार होला । अन्यथा...