Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

महिला हिंसाविरूद्धको आवाज

११ बिहिबार , श्रावण २०८०एक बर्ष अगाडि

महिला हिंसाविरूद्धको आवाज

देवी काफले – नारीवादी लेखक तसलीमा नसरीन लेख्छिन् – “प्रत्येक पुरूष बलात्कारी हुन्छ, यो उनीहरूको चरित्र हो” । भारतमा भएको तत्कालीन मणिपुर घटनाले थोरै भएपनि पुष्टि गरिदियो । उक्त घटनालाई हेर्दा आजपनि पुरूषहरू महिलामाथि दमन गर्न पाउँदा र उनिहरूका अंग आफूखुशी प्रयोग गर्न, नंग्याउन पाउँदा गौरव महसुस गर्दा रहेछन् । प्रहरी समेत मुकदर्शक बन्यो । बलात्कारको नजारा हेरीरहे । जुन अपराधले ति प्रहरीको मन अलिकति पनि बिचलित भएन ।सरकार त दुइ महिनासम्म वास्तै नगरेर बस्यो ।
दिल्लीको नोयडामा भएको बलात्कार र हत्याकाण्ड र अहिले मणिपुरमा भएको बलात्कार तथा महिलालाई नांगै बनाएर परेड खेलाएको काण्ड हेर्दा पुरूषहरू आज पनि महिलाप्रति कति क्रुर रहेछन् प्रष्ट हुन्छ । निर्भयाका अपराधीलाई त फांसी भयो अब कुकी जातकी मणिपुरे महिलाका अपराधीलाई के सजाय हुन्छ थाहा छैन ।
यस्तै दुरूस्त घटना नेपालमा नभएपनि महिलाको शरिरसंग खेल्ने पुरूषको संख्या नेपालमा पनि उल्लेख्य मात्रामा बढेको छ । तिन बर्षे नावालिग बालिका देखी सतहत्तर बर्षे बृद्धासम्म पुरूषको घिनौने नजरबाट उम्कन सकेको अवस्था छैन । हालै मात्र दाङ्मा बसभित्र ७३ बर्षिया महिलालाई दुईजना युवाले आफ्नो हवसको शिकार बनाए । सरकारले यो घटनालाई कसरी लिन्छ सरकारले हेर्न बाँकी छ ।
पहिलेको तुलनामा अहिले अनेक तरहले हिंसा बढेको छ । हुन त यहाँ सबै महिला पिडीत पनि छैनन् र सबै पुरूष अत्याचारी पनि होइनन् । घटनाको प्रवृति नहेरी सामाजिक सन्जालमा महिलाको चरित्रको उछीतो काढ्नेहरूको संख्या उर्लंदो भेल बराबर छ । महिला आज सुरक्षित कहाँ छन् ? न आफ्नो जन्मघरमा न त पतिको घरमा, न समाजमा, न स्कूलमा, न त यात्रा वा मन्दिरमा ।
महिलाको सुरक्षा एक चुनौती बनेको छ  समाजमा । नारीवादको मान्यताले नारीहरू पुरूषको दासी बनेर होइन तर पितृसत्तात्मक मानसिकताले नारीमाथि गर्दै आएको शोषण बिरूद्ध आवाज उठाउने बेला हो अब । नारा चर्का छन् तर परिणाम शुन्य बराबर । हक, अधिकार, समानताका बिषयमा चर्का बहस चलेका छन् । हिंसाका बिरूद्ध उठ्ने आवाजहरू शुरूमा त आगो जस्तै दन्किन्छ केहि समय पछी निभेको आगो बराबर शान्त हुन्छ । यस्तै फितलो बिरोधको कारण र दलिय संरक्षणका कारण अपराधीलाई कडा सजाय दिन सकेको छैन कुनै पनि सरकारले । नत्र आज पनि निर्मलाको अपराधी खोज्न बेलाबेला संसदमा चिच्याउनु पर्ने थिएन ।
आफ्नो सुरक्षा आंफै गर्न सक्ने बनाउनुपर्छ छोरीलाई भन्छौं तर त्रिहत्तर बर्षिया महिला, तिन बर्षिया बालिकाले कसरी कुन सुरक्षाको बाटो अपनाएर सुरक्षित रहने हो ? त्यसका लागि आत्मा मरेका महिसासुरहरूको चर्को बिरोध हुनु पर्दैन र .
न उमेर हेर्ने न त नातागोता नै हेर्ने, यस्ता अपराधीलाई कडा सजायं कहिले हुन्छ ? आज पनि पंचायत बसेर यौनदुराचारका घटना लुकाउने पिडकको इज्जत छपक्कै छोप्ने, पिडीतलाई चरित्रहिनताको माला भिराएर हिड्नेलाई कानूनले छुन्न ।
हुनत बलात्कारको आरोप लागेर सजायं काटेका पुरूषलाई फूलमाला अबिरले भब्य स्वागत गर्ने समाजका अन्धा नागरिक हौं हामी, पिडीतालाई सकेको चारित्रिक लान्छना लगाएर आफूलाई महान् दार्शनिक बनेर घोर्ले नाकठड्याएर हिड्ने समाजका नमूना हौं हामी । हाम्रो बिचारमा परिवर्तन कहिले आउँछ खोई .
अब पनि अधुरा आन्दोलनले न्याय मिल्छ ? अब दरिलो र दिर्घकालिन आवाज उठाएन भने हिंसाका घटनाले झन् प्रश्रय पाउनेछ । महिला हिंसा बढ्नेछ ।