सी चिनफिङ चीनका राष्ट्रपति हुन्, नरेन्द्र मोदी भारतका प्रधानमन्त्री। सी भन्छन्- चीन आफ्ना पुर्खाले दिएको एक इञ्च भूभाग पनि गुमाउन चाहँदैन। हामीलाई अन्य मुलकको पनि कुनै भूभाग चाहिन्न…। मोदी भन्छन्- बुद्ध भारतका हुन्। लुम्बिनी भारतको हो भनेर संसदकै ढोकामा नक्सा राख्न लगाए। लिपुलेक, लिम्पियाधुरा, कालापानीमात्र होइन, ६६ हजार हेक्टर नेपाली भूमि भारतमा मिलाए। सीले जस्तो अर्काको भूमि चाहिन्न भन्न सक्दैनन्।
नेपाली राजनीति र प्रशासनको नेतृत्व सुकिला छन् तर सोच तुच्छ छ। नेपाली भूमि नेपालको भन्न सक्दैनन्। नेतृत्वकै कारण नेपाल हरेक दिन मैनजसरी पग्लदै, सकिदै जाँदो छ। कसेको कसमा विश्वास छैन। बढ्दो आशंका र अविश्वासले खति बढ्दो छ। तीतो सत्य यही हो कि नेता र प्रशासक अपराधी बन्नाले राजनीति र प्रशासन अपराधिकरण भइसक्यो।
अपराधीकरण भएपछि केको गणतन्त्र, केको लोकतन्त्र? नेता ज्यूँदा छन्, राजनीति र प्रशासन मूर्दा भइसक्यो। बरदान भनिएको परिवर्तन मूर्दा कुहिएझैं कुहिएर गनाउन थालेको छ। गन्ध रोग हो, गन्ध अग्रगमन, समृद्धि हुनसक्दैन।
युद्धमा हारेको सिपाहीले अर्को युद्ध जित्नसक्छ। जुन सिपाही मनले हरेश खाएर हार्छ, ऊ फेरि कहिले जित्दैन। हाम्रा नेता र प्रशासक राम्रो गर्नै नसकेर हरेश खाएका र भ्रष्टाचारको लादी हसुर्ने हरुवा सिपाही हुन्। यी सच्चा नेता र प्रशासक होइनन्, यिनीहरुबाट बलिदानको आशा नगर्नु देशको हितमा हुनेछ।
हो, नेपाललाई छहारी दिने पिपलको रुख ढलेको १६ वर्ष भइसक्यो। यसकारण छहारी छैन।
देशको छानो भत्काइयो, छाइएन, यसकारण आकाश छानो बनेको छ। न गर्मीमा छहारी छ, न घामपानी ओत्ने छानो छ।
ठूटो भए बुटो पलाउँछ भनिन्छ, जरा छ, जरा पलाउँछ भन्ने कुनै आश्वस्त आधार छैन।
देश हाँक्ने नीति, नैतिकता, विधिविधानले हो। पार्टीले बोकेका चिलौनेको रुख हँसिया हथौडाले काटेर भाटा बनाइसक्यो। सूर्य अस्ताएर रात परिसक्यो। हीरा फोडेर किरा मार्नुपर्ने पार्टीहरु सिद्धान्त मासेर सत्ताको झिँगे दाउ खेलेर समय बिताइरहेछन्।
धर्मो रक्षति रक्षतः भन्नेहरु समेत मुखले फलाक्छन्, पाएसम्म बल्छी हानेर माछा मार्छन् र नपाए अल्छी बनेर उग्राउँछन्। अरु भुराभुरी कहिले रन्किन्छन्, कहिले फन्किन्छन् र आफै थन्किन्छन्।
हरेक पार्टी, हरेक नेताको राजनीति भनेको मौसम अनुसारको ट्यूनिक फेर्ने, मह काढ्ने र हात चाट्ने बनेको छ। यही हो नेपाली राजनीतिको समाजवाद, सर्वहारावाद, अग्रगमन र ऐतिहासिक छलाङ्।
वर्तमान नेपालको बेहाल छ। भविष्य अनिश्चित छ।
काला बादलमा चाँदीको घेरा छैन। अन्धकार सुरुङ बनिसक्यो नेपाल। न वीरताप्रति गौरव छ, न वीर बन्ने साहस छ। राजनीतिले मृत्युका डरलादा छायाँ देखाउन थाल्यो।
हाम्रा पुर्षा सुनमा कली बस्छ भन्थे, सून शक्ति बन्यो, सून सत्ता बन्यो। राजनीति बस्नुपर्ने सत्तामा कली बसेछ, राजनीति व्यवसाय बन्यो।
वर्तमान नेपालमा पहिरो नै पहिरो छ, भविष्य अन्धकार छ।
परिवर्तन जसरी आयो, आयो। परिवर्तनमा जीवन थिएन, लाश बन्यो। लाशको के आश गर्ने? नयाँ पद्धति देशको आत्मा बन्न सकेन। परिवर्तन कालो छायाँ बन्यो, स्वार्थी नेतृत्वका परिवारबाहेक सिङ्गो मुलुकलाई तर्साउन पो थाल्यो। परिवर्तन समाजको मान्यता अनुसार अकालमा मरेर बैतर्णी तर्न नसकेको काँचोबायु पो बन्नपुग्यो। पेटको काँचो वायु पनि अस्वस्थकर, मरेको पद्धतिको काँचो वायु पनि तर्साइरहने।
यस्तो विवेकशून्य परिवर्तनले वर्तमान लथाल्ङ्गि बनायो, भविष्य भताभुङ्ग देखियो।
यो कस्तो राजनीतिक टाउकाहरू हुन्, जो स्वचालित छैनन्। अरुले चलाए चल्ने, अन्यथा हल्लिदै नहल्लिने। किसानले खेतबारीमा उभ्याएका बुख्याँचा जस्ता। बुख्याँचाको स्वराज हुँदैन। स्वाधीनता र सार्वभौमिकता पनि हुँदैन। विश्वकै जेठोमध्येको स्वतन्त्र मुलुकलाई बिस्तारै बिस्तारै यिनै खोपडी नभएका टाउकाहरूले विदेशीको मौजा बनाइदिए। सिंहदरवार छ, मुर्कट्टाको जस्तो शीर छैन, शीतल निवास छ, दासको जस्तो दह्रो खुट्टा छैन।
देशलाई परदेशी चक्रब्यूहमा पार्नेहरू नेपाल र नेपालीलाई सुई जसरी रोपीरहेछन्। काँडाजसरी घोचिरहेछन्। नेपाल आमाका सन्तानहरू चारा खोज्न परदेश दौडिरहेका छन्, राजनीतिलाई अपराध बनाउनेहरूको अपराध बढ्दै गएको छ।
राजनीति पौराणिक कथाकी किचकन्याजस्ती लाग्छ। सबै सग्लो तर पाइला उल्टो। सारै मनमोहक सुन्दरी, तर उल्टो खुट्टा भएकी इषालु र विषालु। स्वर्ग हिड्यो नर्क पुगिने।
राजनीति पिचासजस्तो देखिन्छ। धोका खाएका प्रेमिका, अनाहकमा मारिएका छोरी बुहारी, जबरजस्ती मारिएका व्यक्तिहरु, अस्वभाविक मृत्यु भएकाको भड्किएको आत्मा कतै ठाउँ नपाएपछि वायु बन्छन् र परिवारलाई पिराइरहन्छन्। यसकारण नेपालको राजनीतिमा प्राण कम पिचासका पीर बढी छन्। प्राकृतिक प्रकोपले पिराउनु बुझ्न सकिन्छ, पिचासले पिराउनु बुझ्न सकिन्न। १९०३ को कोतपर्वमा मारिएका पिचास २००७ सालमा उतार्न खोजियो, त्यसपछि निरन्तर अस्वभाविक हत्याकाण्डहरु भइरहेका छन् र २०५२ पछि त राजनीतिमा काँचो वायुको प्रकोप नै चल्यो। २०६५ को गणतन्त्रपछि पीर पिराउ झन झन बढेर गएको छ।
लोकतान्त्रिक गणतन्त्र, सग्लो छ। तर यसका सञ्चालकहरु उल्टो हिडिरहेका छन्। लोकतन्त्रको मिठास आफै चुस्ने अनि उल्टो हिड्ने? न वर्तमान, न भविष्य उज्यालो देखिन्छ।
मृतात्मा अगति परे भने वायु उतार्ने चलन छ समाजमा। राजनीतिक परिवर्तनलाई असक्षम नेतृत्वले अगतिमा पारे। राजनीतिक वायु उतार्ने साइत कहिले जुर्छ भन्न सकिन्न। आधुनिक विज्ञान यस्ता कुरालाई भ्रम मान्छ, अन्धविश्वास मान्छ। तथापि विज्ञान नै भन्छ- वेद र सांख्यदर्शनका कारण आविस्कारहरु सम्भव भएका हुन्। जर्मनमा त्यसै धामी झाँक्रीलाई पाठ्यासामग्री बनाइएको होला र?
अदृश्य शक्ति छ, बादबिबाद र बहस भइरहेको छ, भइरहने छ।
यक्ष प्रश्न, बिग्रदो वर्तमान र भविष्यको हो।
कोर्स एकातिर, नेतृत्व अर्कोतिर। ल्हासा जाने कुतीको बाटो। राष्ट्र असफल पार्ने लोकतन्त्र यही हो।
चरित्र नभएकाको हातमा परेपछि, नामले लोकतन्त्र भएर के गर्नु? यसकारण समाजशास्त्रीहरु भन्न थालेका छन्-
भ्रष्टाचार गरेको आरोपमा इन्डोनेशियाका मोहमद सुहार्तो, फिलिपिन्सका फर्डिनान्ड मार्कोस तथा जोसेफ इस्ट्राडा, सर्बियाका स्लोबोदान मिलोसेभिक, पेरुका अल्बर्टो फुजीमोरी, नाइजिरियाका सनी अबाचा, हाइटीका जाँ-क्लाउड दुभालियर, निकारागुवाका अर्नोल्डो अलेमान र उक्रेनका प्रधानमन्त्री पाब्लो लाजेरेन्कोलाई दण्डित गरियो। दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क ग्युन हे, दक्षिण अफ्रिकी पूर्व राष्ट्रपति ज्याकोब जुमा, बाङ्लादेशकी पूर्व प्र.म. वेगम खालिदा जिया, मलेशियाका पूर्व प्रधानमन्त्री नजीब रजाक, पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफ, ब्राजिलका दुई पूर्व राष्ट्रपति दिल्मा रुसेफ र लुई इनासियो लुला द सिल्भा, भारत बिहारका राष्ट्रिय नेता लालु यादबले समेत साजय भोगे।
चीनका राष्ट्रपति सी चिनफिङ्ले चिनियाँ कम्युनिष्ट पार्टीका ९ लाख भ्रष्टहरुलाई जेलहालेका छन् भने अति भ्रष्टहरूलाई मृत्युदण्ड दिएका छन्। सी भन्छन्- सम्पत्ति थुपार्ने कम्युनिष्ट हुनैसक्दैन। नेपालमा सुल्टो केही हुन्न, सबै उल्टो भइरहेको छ। प्रजातन्त्र र समाजवादमा पनि राजनीति सेवा हो, व्यापार होइन। तर राजनीतिक व्यापार बढ्दै गयो। भ्रष्टाचारीलाई कारवाही हुने दिन कहिले आउला?
इतिहास साक्षी छ- सिकन्दर महानको शव हिरामोतीमाथिबाट लगियो तर उनको इच्छाअनुसार कफिनबाट उनका दुबै खालीहात निकालिएको थियो। सत्तासुखको तीन त्रिलोक चौधभुवन देखिरहेका नेपाली नेताहरु किन बुझ्दैनन्- कात्रोमा खल्ती हुँदैन भनेर।
नेपाली शासक प्रशासकहरु आफूलाई घोडा सम्झन्छन्, सोझा जनताका सामु खूब हिनहिनाउँछन्। यथार्थमा नेपाली नेतृत्व सर्वकालिक रुपमा भारतका घोडा हुन्। चीनले पनि घोडा बनाउन खोजेको हो तर यतिबेला नेपालको भूराजनीति बुझेको पश्चिमा नेपाल छिरेको छ। कुन नेता वा प्रशासकलाई कुन विदेशीले घोडा बनायो, जति बुझ्यो उति बुझ्न कठिन छ। जबदेखि नेपालमा उत्तर, दक्षिण र पश्चिमाको आर्थिक र सामरिक प्रभाव र प्रतिस्पर्धा बढ्यो, उनीहरु सामरिक महत्वको केन्द्रभूमिका नेपाली घोडा चड्न लालायित छन्। जनताको मतादेश पाएका लोकतान्त्रिक घोडाको भाउ आफ्ना लागि विदेशीले ह्वात्तै बढाएका छन्।
यो मृत्युघण्ट बजेको हो, यसकारण वर्तमान नेपालको जोखिम बढेको छ।
१. हाड नभएको जिब्रोको कथा- नेताले सहयोगीलाई खसीको सबैभन्दा राम्रो भागको मासु किनेर ल्याउन अह्राए। सहयोगीले खसीको जिब्रो किनेर ल्यायो। मालिकले फेरि सहयोगीलाई अह्राए- जाउ अव खसीको सबैभन्दा नराम्रो भागको मासु किनेर ल्याउ। सहयोगीले फेरि पनि खसीको जिब्रो किनेर ल्यायो। यो देखेर मालिकले सोधे- राम्रो मासु पनि जिब्रो, नराम्रो मासु पनि जिब्रो। यसको मतलव के हो?
सहयोगीले जवाफ दियो- नेताजी जिब्रो राम्रो भयो भने सबैथोक राम्रो हुन्छ। जिब्रो नराम्रो भयो भने सबै नराम्रो हुन्छ।
२. राष्ट्रियगानको महत्व- बेलायतकी महारानी संगीत प्रतियोगिता हेरिरहेकी-सुनिरहेकी थिइन्। अष्ट्रियाका संगीतकार संगीत सुनाउन आए। संगीतकारले आफ्नो देशको राष्ट्रिय धून बजाएर संगीतको सुरुआत गरे। महारानी जुरुक्कै उठिन्। राष्ट्रियगानको धून समाप्त भएपछि महारानीले संगीतकारलाई हीराको हार उपहार दिइन्। संगीतकारले शीर झुकाएर आभार प्रकट गर्दै प्रत्युत्तर दिए- मेरो देशको राष्ट्रियगानलाई जुन सम्मान दिनुभयो, मेरा लागि हीराको हारभन्दा त्यो सम्मान मूल्यवान छ।
३. चर्चिल बेलायतका गर्जदो सिंह। १९४०-४५, १९५१-५५ का बेलायतका प्रधानमन्त्री। एकपल्ट उनी भाषण गर्दैथिए, एक अनुयायीले भने- तपाईको ख्याती बढेको छ, तपाईको भाषण सुन्न ठूलो भीड जम्मा भएको छ। यो सुनेर चर्चिल खिस्स हाँसेजस्तो गरे र जवाफ दिए- यो सब तमासा हो। भोलि मलाई यही स्थानमा फाँसी दिइयो भने योभन्दा ठूलो भीड जम्मा हुनेछ।
४. नेपालेलियन बोनापार्टको सभामा निम्त्याइएका अनेक बिधाका व्यक्तिमध्ये एक चित्रकार पनि थिए। चित्रकार अलि पुराना लुगा लगाएर गएकाले नेपोलियनले उनको स्वागत सत्कार गरेनन्। सभा सकियो, सबै फिर्ता जानलाग्दा ती चित्रकार पनि उठेर हिड्न लागे। त्यति नै बेला नेपोलियनले ती चित्रकार सामु गएर हात मिलाए, ढोकासम्म पु¥याउन पनि गए। चित्रकार चकित प¥यो, अरु अतिथिहरु पनि आश्चर्य मानेर हेर्दै थिए। नेपोलियनले सबैलाई सुनाएर भने- जो कार्यक्रममा आउँछन्, आउँदा तिनको परिधान, राम्रो लुगालाई स्वागत गरिन्छ। जाने बेलामा जुन आदर गरिन्छ, त्यो व्यक्तिको गुणलाई हेरेर गरिन्छ।
५. आगो कतै पवित्र, कतै अछुत- स्नान गर्न गएका ऋषि भृगुपत्नी पुलोमालाई राक्षसले अपहरण गरेपछि गर्भमा रहेका च्यवनले बाहिर निस्केर आमाको रक्षा गरे। आगोले थाहा पाएर पनि अपहरणमा राक्षसको साथ दिएकाले ऋषिले सराप दिएका रहेछन्- मसानघाटमा अछुत भए पनि पितृ र देवकार्यमा पवित्र हुनेछस्।
अब भनौं हामीसँग परिवर्तनकारी नेता कि नाङ्गा बादशाह?