Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

हवाई टिकटमा लगाएको भ्याट फिर्ता लिन माग

०६ बुधबार , असार २०८०एक बर्ष अगाडि

आर्थिक वर्ष २०८०-८१ को बजेटमार्फत हवाई टिकटमा लगाएको भ्याट फिर्ता लिन माग गरिएको छ । नेपाल एसोसिएसन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले सरकारले भ्याट लगाउँदा हवाई टिकट महँगो भएको भन्दै टिकटमा लगाएको भ्याट फिर्ता लिन माग गरेको हो । 

नेपाल एसोसिएसन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष रमेश थापा नेतृत्वको टोलीले बुधबार अर्थमन्त्री डा प्रकाशशरण महतलाई भेटेर आर्थिक वर्ष २०८०-८१ को बजेटमार्फत हवाई टिकटमा भ्याट लगाउँदा ज्यादै महँगो भएको भन्दै उक्त निर्णय फिर्ता लिन माग गरेको बताईएको छ ।

सरकारले १० लाख बढी पर्यटक भित्र्याउने लक्ष्य राखिरहँदा हवाई टिकटमा लगाइएको भ्याटले गम्भीर असर पर्ने भन्दै नेपालमा मात्र भ्याट लगाउँदा नेपालका ट्राभल एजेन्सीले जारी गर्ने टिकट महँगो हुने र अनलाइन तथा विदेशबाट टिकट लिँदा सस्तो पर्ने भएकाले धेरै टिकट विदेशबाट लिने र विदेशी मुद्रा आर्जन गुम्ने भएकाले पनि उक्त निर्णय सच्याउनु पर्ने नाट्टाका अध्यक्ष थापाले बताए । 

अहिलेको निर्णयले ट्राभल एजेन्सीले दिएको रोजगारी र व्यवसायीसँग सरकारले पाइरहेको कर गुम्ने खतरा बढेको भन्दै नाट्टाले नेपाली नागरिक विदेश घुम्न जाँदा यात्रुले पाएको विदेशी मुद्राको सहुलियतबाटै प्याकेज टुर खरिद गर्नुपर्ने व्यवस्था परिवर्तन गर्नुपर्ने समेत बताएको छ ।

आन्तरिक तथा अन्तर्राष्ट्रिय भाडादर ज्यादै महँगो भएको अहिलेको अवस्थामा भ्याटसमेत थप्दा भाडादर झनै महँगो भई पर्यटक आवागमन घट्ने र सीमा नजिकका छिमेकी राष्ट्रका अन्तराष्ट्रिय हवाईमैदान रोज्ने सम्भावना रहेको अध्यक्ष थापाले अर्थमन्त्री डा महतलाई जानकारी गरीएका थिए । भेटका क्रममा अर्थमन्त्री डा. महतले नेपालको पर्यटन क्षेत्रको विकासका लागि व्यवसायीलाई समस्या नआउने तरिकाले काम गर्ने प्रतिबद्धता जनाएको बताईएको छ ।