डा. केशव देवकोटा - -
माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्रि पुष्पकमल दाहालले गत केहीदिन अघि भारतको उज्जैनमा गेरूबस्त्र धारणगरेर महाकालेश्वरको पूजा गरेको र त्यसलगत्तै काठमाडौंमा पशुपतिनाथको दर्शन गरेको बिषयलाई लिएर बिभिन्न किसिमका चर्चा परिचर्चाहरू भए÷भैरहेका छन् । तर मलाई सो चर्चा परिचर्चाको खासै अर्थ लागेन । किनकी कुनैपनि मानिसले आफ्नो बास्तबिक रूप कुनैपनि बेला देखाउँछ । खासमा पुष्पकमल दाहाल कम्युनिष्ट राजनीतिको बिरोधी र हिन्दूधर्म समर्थक भएका कारण उहाँले जीवनको उत्तराद्र्धमा आफ्नो बास्तबिक स्वरूप देखाउनु भएको हो । त्यो उहाँको ब्यक्तिगत मामिला भएका कारण त्यसमा कोही कसैले पनि थप टिप्पणी गरिरहनु आबश्यक छैन । यतिबेला उहाँ राजनीतिक रूपले नेपाली कांग्रेससँगको सहकार्यमा रहनु भएको छ । उहाँले गत निर्वाचनमा पहिलेको माओवादीको आधार क्षेत्र मानिएको रोल्पा, रूकुमका बिभिन्न निर्वाचन क्षेत्रमा पुगेर माओवादी केन्द्र र नेपाली कांग्रेस उस्तै पार्टी भएको सार्बजनिक घोषणा गर्नुभएको थियो । नेपाली कांग्रेसको चारतारे झण्डामुनी रहेर उहाँले गरेको भाषण त्यतिबेला धेरैका लागि हेर्न लायक बिषय भएको थियो । पार्टीका अध्यक्षले नेकां र माओवादी केन्द्र उस्तै पार्टी भएकोभन्दै गरेको भाषणको सो पार्टीले हालसम्म पनि खण्डनगर्न सकेको छैन । पार्टीको नाम माओवादी केन्द्र राखेपनि उहाँ माओको देश चीनबाट धेरै टाडा र भारत तथा अमेरिकाको निकट रहँदै आउनु भएको छ । उहाँको नेतृत्वमा ०५२ सालमा शुरू भएको जनयुद्ध यथार्थमा जनयुद्ध थिएन । जुन कुरा नेपालको छिमेकी देश चीनमा माओत्सेतुङले गरेको जनयुद्धसँग दाँजेर हेरेमा÷पढेमा स्पष्ट हुन्छ । खासमा त्यो जनयुद्धलाई बदनाम गराउन गरिएको साजिसमात्र थियो । किनकी हालसम्म माओवादीका नेताहरू चार पटक प्रधानमन्त्रि भैसक्नु भएको छ । तर उहाँहरूले आफैले अगाडि सारेका ४० सूत्रीय माग पूरा गर्न÷गराउन हालसम्म कुनै पहल गर्नुभएको छैन । बरू तिनै मागका बिरूद्ध आफूहरूलाई समेत खुलेयाम परिचालन गर्नुभएको छ । जनयुद्ध उत्कर्षमा पुग्नैलाग्दा ०६२ मंसिर ७ गते दाहाल र डा. बाबुरामले दिल्लीमा अन्य संसदवादी दलकासाथै अन्तराष्ट्रिय शक्तिका सामु १२ बुँदे सहमतिगर्दै जनयुद्धलाई बिसर्जन गरिदिनु भयो ।
जतिबेलासम्ममा नेपालका १७ हजार नागरिकको ज्यान गैसकेको थियोभने देशले ठूलो भौतिक, राजनीतिक र सांस्कृतिक क्षति ब्यहोर्नु परेको थियो । ०६३ मंसिर पाँचमा तत्कालीन नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बीच भएको विस्तृत शान्ति सम्झौतामा त माओवादीले जनयुद्धलाई औपचारिक रूपमै अन्त्यगर्न स्वीकार गरेको उल्लेख छ । जसको चार नम्बर बुँदामा माओवादीले प्रतिस्पर्धात्मक बहुदलीय शासन प्रणाली, नागरिक स्वतन्त्रता, मानव अधिकार, कानूनी राज्यको अवधारणा आदि लोकतान्त्रिक मूल्य÷मान्यताप्रति प्रतिबद्धता जनाएको उल्लेखगर्दै उसले त्यसैअनुसार आफ्ना गतिविधिहरू अघिवढाउने प्रतिवद्धता व्यक्त गरेको उल्लेख छ । यसरी माओवादीले त्यतिबेला नै संसदवादी राजनीतिलाई पूर्णरूपमा स्वीकार गरेको देखिएको छ । त्यसपछि माओवादी जनयुद्धका मुख्य कमाण्डर मानिनु भएका पुष्पकमल दाहालले आफ्नो पार्टीमा रहेका क्रान्तिकारीहरूलाई पार्टीबाट बाहिरिन बाध्य बनाउनु भएको थियोभने आफू नेपाली कांग्रेससँग दीर्घकालीन सहकार्यमा रहँदै आउनु भएको छ । त्यसैगरी अर्का नेता डा. भट्टराईले माओवादी पार्टीमात्र नभएर कम्युनिष्ट राजनीति नै छाड्नु भएको थियो । यो परिघटनाले दाहाल र डा. भट्टराईको अन्तस्करणमा कम्युनिष्ट राजनीतिप्रति खासै प्रतिबद्धता नरहेको कुरालाई स्पष्ट गरेको छ । त्यसैले पछिल्लो समयमा माओवादी केन्द्रले क्रान्तिकारी गतिबिधि छाडेको र अन्य क्रान्तिकारी पार्टीहरूसँगको साथ छाडेको भनेर आलोचना गरिरहनुको पनि कुनै अर्थ देखिएको छैन । ०४८ सालको संसदीय निर्वाचनमा भाग लिएर न्युन संख्या प्राप्तगरेको माओवादी शक्ति सत्ता प्रान्तिकै लागि त्यतिबेला जनयुद्धमा गएको घटनाक्रमहरूले स्पष्ट गरेका छन् । किनकी सो समूहले संसदीय ब्यवस्थाबाट शुरूगरेको राजनीति हाल संसदीय ब्यवीस्थामै पुगेर अगाडि बढाईरहेको छ । जनयुद्धमा राष्ट्र र राष्ट्रियता सम्बन्धी जुन माग अगाडि सारिएका थिए ति आज पनि सान्दर्भिक नै रहेका छन् । त्यतिबेला उनीहरूले सन् १९५० को नेपाल–भारत सन्धिलगायतका सम्पूर्ण असमान सन्धि–सम्झौताहरू खारेज गरिनुपर्दछ, नेपाल र भारत सरकारबीच सम्पन्न कथित एकीकृत महाकाली सन्धी तत्काल खारेज गरिनुपर्दछ, नेपाल र भारतबीच रहेको खुला सीमाना नियन्त्रित र व्यवस्थित गरिनुपर्छ, नेपालभित्र भारतीय नम्बरप्लेटका गाडीहरू चलाउन तत्काल रोकलगाउनु पर्छ, गोरखा भर्ती केन्द्र बन्द गरिनुपर्छ, साम्राज्यवादी तथा विस्तारवादी सांस्कृतिक प्रदुषण र अतिक्रमणको अन्त्य गरिनुपर्छ, देशभित्र छाडा हिन्दी सिनेमा, भिडियो र पत्रपत्रिकाहरूको आयात र वितरणमा तुरून्त रोकलगाइनुपर्छ र देशभित्र साम्राज्यवादी÷विस्तारवादी घुसपैठको अन्त्य गरिनुपर्छ भन्ने मागहरू अगाडि सारेका थिए । आज पनि ति समस्याहरू यथावत रहेका छन् । माओवादी केन्द्रका अध्यक्ष देशको प्रधानमन्त्रि रहेकै बेला नेपाली भूभागसमेत समेटेर ग्रेटर भारतको नक्सा चित्र बनाइएको छभने नेपालमा जन्मेकी जानकी (सीता) भारतमा जन्मेको उल्लेख गरेर सिनेमा बनाएर नेपालमै प्रदर्शन गर्ने÷गराउने प्रयास गरिएको छ । हिजो उपरोक्त माग पूरा गराउनका लागि जनयुद्ध गरेको बताउनेहरू र त्यतिबेला सरकारको नेतृत्वगर्ने शेरबहादुर देउवाहरू आज एउटै सरकारमा रहेका छन् । तर ति मागहरू पूरा गराउन कुनै प्रयाससम्म गरिएन । बरू ति मागका बिरूद्ध गतिबिधिहरू भैरहेका छन् । त्यस्तो अवस्थामा हिजोको जनयुद्ध सफल भएको र त्यसले ठूल्ठूला उपलब्धी हाँसिल गरेको भनिंदैछ । जुन दिउँसै रातपार्ने कुरा हो ।
त्यतिबेला गरिएको जनयुद्ध असफल भएको हो र अब त्यस्तो खालको हतियार बन्द कुनैपनि आन्दोलनहरू नेपालमा सफल हुँदैनभन्ने पनि स्पष्ट भएको छ । तत्कालीन माओवादीबाट अलग भएका केही समूहहरूले हालसम्म पनि जनयुद्धको नारा दिएका छन् । तर उनीहरूको पार्टी संगठन कसैगरे पनि अगाडि बढ्न सकेको छैन । खासमा माओवादी जनयुद्धमा सहभागी भएकाहरूले जनयुद्ध असफल भएको कुरालाई सार्बजनिक र खुल्लारूपमै स्वीकार गरेर सो समयमा मुलुकको ठूलो धनजनको क्षति भएकोमा आम नेपाली जनतासँग माफि मागेको हुनुपर्दथ्यो । त्यसो नगरिएका कारण माओवादी शक्ति आफैमा अबिश्वसनीय बन्दैगएको हो । ०६३ पछि माओवादी केन्द्रले पार्टी संगठनगर्न नसकेको कुरा ०७९ मंसिर चारको निर्वाचनको परिणामले समेत स्पष्ट गरेको छ । त्यसपछि पार्टी सुदृढिकरणगर्ने र अन्य पार्टीसँग पार्टी एकतागर्ने पनि धेरै प्रयासहरू भए । तर माओवादी केन्द्रको राजनीतिक अस्पष्टताका कारण ति दुबै प्रयासहरू सफल हुन सकेनन् । पछिल्लो समयमा एमालेसँग धोखाघडी भैसकेको र नेपाली कांग्रेससँग पनि खटपट भएर सरकार छाड्नुपर्ने अवस्था सिर्जनाहुँदै गएपछि माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्रि दाहालले समाजवादी केन्द्र बनाउने एउटा नयाँ कार्ड अगाडि सार्नुभएको छ । त्यस्तो समाजवादी केन्द्रमा नेपाली कांग्रेसलाईसमेत सहभागी गराउने प्रयास गरिएको भए, त्यो केही हदसम्म सफल हुनसक्थ्यो । तर सो मोर्चाको अवधारणा नेपाली कांग्रेसलाई एक्ल्याउने र एमालेलाई टक्कर दिने किसिमले अगाडि सारिएका कारण संभवत सो मोर्चा गठन हुनैसक्तैन । कथंकदाचित गठन भैहालेपनि त्यसको टिकाउ धेरै लामो हुँदैन ।
एमाले र नेपाली कांग्रेस बाहेकको समाजवादी केन्द्र बनाउनु भनेको उक्त दुबै पार्टीलाई ठाडो चुनौती दिनु हो । यस कार्यले खासगरी माओवादी केन्द्र र सो पार्टी निकटका अन्य समूहहरूलाई सत्ता र शक्तिबाट टाडा गराउने स्पष्ट छ । यसले नेपाली कांग्रेस र एमालेलाई नजिकिन बाध्यपार्ने देखिएको छ । जुन पुष्पकमल दाहालका लागि ठूलो असफलताको कारण हुने निश्चित छ । नेपाली कांग्रेससँग दीर्घकालीन सहकार्यका लागि तयार भएको माओवादी केन्द्रले यदि एमालेसँग टक्कर लिनेनै होभने नेकांसहितको समाजवादी केन्द्र बनाउने प्रयास गरेको भए राम्रो हुन्थ्यो । आखिर माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाजस्ता पार्टीहरू नेपाली कांग्रेसको छत्रछायाँ बिना टिक्नैनसक्ने अवस्थामा पुगेको सबैलाई थाहा भएको कुरा हो । आखिर जतिनै क्रान्तिकारी देखिन खोजेपनि पुष्पकमल दाहालका लागि हिन्दू धर्म र पूँजीवादी प्रजातन्त्रनै फलदायी हुने देखिएको छ । उहाँको खास रोजाईका पक्षहरू पनि तिनै हुन् । बास्तबिकता आखिर बास्तबिकता नै हो । सत्यलाई कसैले पनि छोपेर छोप्न सक्तैन । कांग्रेससँग सहकार्य गरिरहेका र हिन्दू धर्म स्वीकार गरिसकेका माओवादी दाहालले फेरी आफूलाई क्रान्तिकारी र महान नेता देखाउने प्रयास गर्नु आफैमा दुस्साहसको कुरा हुन्छ । यो बिचारणीय पक्ष भएको छ ।