विश्लेषक गोपाल खनाल लेख्छन्– भूराजनीतिक रूपमा संवेदनशील अवस्थितिमा रहेको नेपाल यति बेला थप संकटोन्मुख छ किनभने आफ्ना विश्व आकांक्षा र चाहनालाई प्राप्त गर्न चीन, भारत र अमेरिकाले नेपालमा क्रियाकलाप केन्द्रीकृत गरिरहेका छन् । आर्थिक सहयोग र साझेदारीमार्फत नेपालमा प्रभाव बढाउन, कायम राख्न र आफ्नो प्रभावबाहिर नजाओस् भन्न भारतको ‘छिमेकी पहिला,’ ‘पूर्व हेर’ नीतिदेखि चीनको ‘बीआरआई’ र अमेरिकाको ‘एमसीसी’ जस्ता कार्यक्रम अघि सारिएका छन्, जसको अंग नेपाल बनिसकेको छ । नेपालमाथि अमेरिकी सुरक्षा रणनीति (आईपीएस) र चिनियाँ विश्व सुरक्षा पहल (जीएसआई) को सदस्य बन्न दबाब छ । भारतले नेहरूकालीन ‘प्रभावक्षेत्र सिद्धान्त’ कायमै राखे पनि त्यसको नयाँ संस्करण आउनसक्छ ।
तर अब विश्व राजनीतिक र कूटनीतिक व्यवस्थामा केही प्रवृत्तिगत परिवर्तन देखिँदै छन्, ...राजनीतिक विचारधारा र वादबाहिर प्राचीन धार्मिक, सांस्कृतिक र सभ्यतासहितको भौगोलिक पहिचानको खोजी हुँदैछ, जसको अगुवाइ गर्ने नेतृत्व लोकप्रिय बन्दै छ । दक्षिणतिरको हिन्दु राष्ट्रवाद, उत्तरतिरको कन्फुसियसवादमा आधारित सभ्यताको विस्तार अभियान र अमेरिकी इसाई राष्ट्रवादको नजानिँदो चपेटामा नेपाल पर्न सक्छ । किनकि आरएसएस निर्देशित सत्तारूढ भाजपाले सीधै भाषामा नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भनेको छैन, तर नेताहरूको दीर्घकालीन सोच यता निर्देशित देखिन्छ ।
...भूसांस्कृतिक समानता भारतसँग छ, त्यस अर्थमा भाजपाले थालेको भारतभित्रको हिन्दु राजनीति र हिन्दुत्वको संरक्षणको नेपाली हिन्दुजनले खुला विरोध गर्न सक्दैनन् । यही बेला चीनले विश्व सभ्यता पहलमा समेटिन नेपाललाई आग्रह गर्दै आइरहेको छ भने इसाई समुदायको संरक्षण गर्न नेपालमाथि अमेरिकी र बेलायती चर्को दबाब छ । नेपालमा अनुदान र सहयोगमार्फत सक्रिय भएको अमेरिकी शक्ति बढ्दा त्यसले धार्मिक र सांस्कृतिक रूप धारण नगरोस् भन्नेतर्फ नेपाल सजग रहनुपर्छ ।