केहिदिन अघि भित्रिएको मनसुनका कारण परेको अविरल वर्षासँगै आएको बाढीले पूर्वी नेपालका विभिन्न जिल्लाला ठूलो मात्रमा क्षेती पुगेको छ । अविरल वर्षापछि पूर्वका पाँचथर, संखुवासभा र ताप्लेजुङमा ठूलो क्षति पुगेको हो ।
बाढीले बगाउँदा पाँचथरमा छ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेवा-१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ-७ का दिलकुमार तामाङ र फिदिम-१० का सन्जोग लोवा, फिदिम-४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष र एलिसा माझीलगायतका रहेका छन् ।
बाढीले मेची राजमार्गको हेवा खोलाको पुल र फालेलुङ गाउँपालिकामा दुई वटा सडकसँगै एउटा झोलुङगे पुल पनि बगाएको छ । फालेलुङ ३ खोलाघारी सेपीमा पहिराले पुरेको एक बालिकाको सकुशल उद्धार गरिएको छ ।
त्यसैगरी वर्षाले मेची राजमार्गस्थित पाँचथर जिल्लाको फिदिम नगरपालिका-४ र हिलिहाङ गाउँपालिका-७ जोड्ने हेवाखोला पुल समेत बगाएको छ । पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
त्यस्तै बाढीले चैनपुर ४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोमा ठूूलो क्षति पुगेको छ । उक्त परियोजनामा कार्यरत १७ मजदूर सम्पर्कविहीन रहेको बताइएको छ । तमोर करिडोरको ‘बेलीब्रिज’ बगाएको छ भने याङ्वरक गाउँपालिकाको वडा नम्बर २ र ३ घर समेत बगाएको स्थानीयले बताएका छन् ।