Advertisement Banner
Advertisement Banner

०४ सोमबार, जेठ २०८३16th May 2026, 4:05:57 pm

गर्भमा रहेको भ्रूणको लिङ्ग पहिचान गर्नेलाई एकवर्ष जेल

३२ बिहिबार , जेठ २०८०३ बर्ष अगाडि

गर्भमा रहेको भ्रूणको लिङ्ग पहिचानसम्बन्धी कुनै पनि कार्य गरेमा एक वर्षको जेल सजाय हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भ्रूणको लिङ्ग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्न स्वास्थ्य संस्थालाई निर्देशन गर्दै उक्त कुरा बताएको हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उपसचिव एकदेव खनालले भ्रूणको लिङ्ग पहिचानसम्बन्धी सरकारी, निजी तथा सामुदायिक स्वास्थ्य संस्थालाई पत्राचार गर्दै कुनै पनि कार्य नगर्न-नगराउन निर्देशन दिएका हुन् । मन्त्रालयले गर्भमा रहेको भ्रूणको लिङ्ग पहिचान गरी कुनै कार्य गरे वा गराएमा तीन महिनादेखि एक वर्षसम्म कैद सजाय हुने परिपत्र गरेको छ ।

साथै उक्त कुरा स्वास्थ्य संस्था एवं प्रयोशागाला परिसरमा टाँस्न पनि समेत भनेको छ । मन्त्रालयले राष्ट्रिय जनगणना २०७८ को नतिजामा लैङ्गिक अनुपातमा असमानता देखापरेको भन्दै विभेदपूर्ण लिङ्ग छनोटको अन्त्यका लागि गर्भमा रहेको भ्रूणको लिङ्ग पहिचान गर्न नपाइने उल्लेख गरिएको छ ।

मुलुकी संहिता, २०७५ को दफा १८८ को उपदफा ७ र ८ मा एवं सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १७ मा गर्भको लिङ्ग पहिचान गर्ने कार्यलाई कानुनतः दण्डनीय अपराध मानेको हुँदा स्वास्थ्य संस्थालाई भ्रूणको लिङ्ग पहिचान नगर्न  मन्त्रालयले आग्रह गरेको छ ।