केहिदिन अघि भित्रिएको मनसुनपछि लगातारको वर्षाका कारण ताप्लेजुङमा बाढी पहिरो जादा सिदिङवा र सिरिजंगा गाउँपालिकामा क्षति पुगेको छ । बुधवारदेखिको लगातार वर्षका कारण जिल्लाको विभिन्न भागमा क्षेती पुगेको हो ।
काबेली खोलाले सिदिङवा र सिरिजंगा गाउँपालिकामा क्षति पुर्याएको सूचना आएको प्रहरीले जनाएको छ । बाढीले हालसम्म एउटा घर, पुल र केही गाईबस्तु बगाएको बताईएको छ । काबेली हाइड्रो पावरको गोदाममा रहेका विभिन्न सामान पनि खोलाले बगाएको छ ।
स्थानीयकाअनुसार बुधबार बेलुकादेखि वर्षा भएको र बिहीबार राति करिब १० बजे ठूलो बाढी आएको थियो । वर्षा र बाढीले सुरुमखिम–खेवाङ–याम्फुदिन जोड्ने गत जेठमा मात्रै उदघाटन गरिएको मोटरेबल पुलको एकातर्फको भाग भत्काएको बताइएको छ ।
बाढीले ठाउँ–ठाउँमा पहिरो गएर बाटो अवरुद्ध भएकाले सवारी साधन पनि सन्चालन हुन सकेका छैनन् । कञ्चनजंघा मावि, याम्फुदिन प्रहरी चौकी र केही स्थानीयका घर समेत जोखिममा भएपछि स्थानीयवासी आफ्ना सामान बोकेर सुरक्षित स्थानमा गएको प्रहरीले बताएको छ ।