आइसिसी विश्वकप एकदिवसीय विश्वकप छनोट अघि आज नेपालले ओमानसँग दोस्रो अभ्यास खेल खेल्दैछ । नेपालले अन्तिम वार्मअप खेल ओमानसँग खेल्न लागेको हो ।
जिम्बाबेको हरारेमा हुने यो खेल नेपाली समय अनुसार दिउँसो १२:४५ बजे शुरु हुने बताईएको छ । यसअघि नेपालले युएईसंग मंगलबार खेलेको खेलमा युएईसँग तीन विकेटले पराजित भएको थियो ।
त्यसैगरी दक्षिण अफ्रिकामा खेलेका दुई अभ्यास खेलमा नेपाल स्कटल्याण्ड र नेदरल्याण्डससँग पनि पराजित भएको थियो । नेपालले अभ्यास खेलमा लगातार तीन खेलमा हार बेहोरेको छ ।
विश्वकप छनोट प्रतियोगिता समूह ए मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स रहेका छन् । त्यसैगरी समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान रहेको छ । प्रतियोगिता असार ३ गतेदेखि २४ गतेसम्म जिम्बावेमा हुनेछ ।
नेपालले पहिलो खेल असार ३ मा आयोजक जिम्बावेसँग खेलेर सुरुवात गर्नेछ भने त्यसपछि असार ५ मा अमेरिकासँग खेल्नेछ । त्यसैगरी असार ७ मा वेस्टइन्डिजसँग खेल्ने खेल तालिका छ भने समूह चरणको अन्तिम खेल असार ९ मा नेदरल्यान्ड्ससँग खेल्ने बताईएको छ ।
सुपर सिक्समा शीर्ष तीन टोलीले स्थान बनाउने छन् भने सुपर सिक्समा अर्का समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा हुनेछ । सुपर सिक्समा समूह चरणको अंक पनि गणना हुने भएकाले आफ्नो समूहका टोलीसँग खेल्नु पर्दैन । शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।