गतवर्षको तुलनामा केहि ढिलोगरी बुधबार नेपाल भित्रिएको मनसुनको प्रभाव पूर्वी र मध्य भूभागमा परेको छ । मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको प्रभाव पूर्वी र मध्य भूभागमा रहेको बताएको हो ।
पूर्वी र मध्य भूभागमा मनसुनको प्रभाव परेपनि अन्य भूभागमा भने पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहेको महाशाखाले जानेको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली भएको र बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहेको बताईएको छ ।
महाशाखाकाअनुसार बिहीबार बिहान कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन र चट्याङ्ग सहित हल्का वर्षा भएको थियो भने दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको बताईएको छ ।
बिहिबार बेलुकी कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा मेघ-गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने मधेश प्रदेश सहित देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जानेको छ।