जाजरकोटको कुशे गाउँपालिका वडानम्बर ९ मा विवाह गर्नुपूर्व वडाको सिफारिस अनिवार्य लिनुपर्ने नियम लगाइएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व वडाको सिफारिस अनिवार्य लिनुपर्ने व्यवस्था गरेको हो ।
कुशे गाउँपालिका वडानम्बर ९ का वडाध्यक्ष शिवराज गिरीले विवाहका लागि वडाबाट सिफारिस लिँदा उनीहरूको वास्तविक जन्म मिति थाहा हुने र बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा लिएको बताएका छन् । वडामा बढ्दै गएको बालविवाहलाई मध्यनजर गरी यसलाई न्यूनीकरण गर्न वडाले सम्पूर्ण टोल बस्तीमा विवाहपूर्व वडाबाट सिफारिस लिई विवाह कार्य अगाडि बढाउन अनुरोध गरेको पनि वडाध्यक्ष गिरीले बताए ।
हाल उक्त वडालाई बालमैत्री वडा घोषणा गर्दै बालमैत्री वडाको दिगोपनका लागि विवाहका लागि उमेर पुगेका युवायुवतीले वडा कार्यालयबाट अनिवार्य सिफारिस लिनुपर्ने नियम बनाइएको बताइएको छ । बिबाहको लागि सिफारिस लिन वडा कार्यालयमा जन्मदर्ता र नागरिकता ल्याई विवाहको सिफारिस लिन सकिने पनि वडाध्यक्ष गिरीले जानकारी दिएका छन् ।