नेपालको दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगमले व्यवसायिक उडान सुरु गरेको छ । निगमले पहिलोपटक मलेसिया-भैरहवा-काठमाडौं व्यवसायिक उडान सुरु गरेको हो ।
विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले पहिलोपटक मंगलबार बिहान पौने ९ बजे निगमको १ सय ५८ सिट क्षमताको न्यरोबडी विमान मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवा अवतरण गर्दै व्यवसायिक उडान सुरु गरेको छ ।
बिहान ७:३० बजे अवतरण हुने भनिएको जहाज केहि समय ढिलो गरि ९ बजे अवतरण भएको थियो । विमानमा ३१ जना यात्रु भैरहवा अवतरण गरेका थिए भने नेपाली वायु सेवाको पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएकाले यात्रुहरुलाई पर्यटनमन्त्री सुदन किरातीले विमानस्थलमा स्वागत गरेका थिए ।
विमानमा मलेशियामा रोजगारी गरेर घर फर्केका नेपालीहरुका साथै मलेसियाका पर्यटन व्यवसायीहरु भैरहवामा अवतरण गरेका छन् भने बाँकी काठमाडौं ओर्लने छन् । भैरहवामा यात्रुलाई ओरालेपछि विमान काठमाडौं उडने बताईएको छ ।
मलेसियाबाट भैरहवाको उडान समय ४ घण्टा ४५ मिनेट हाराहारी रहनेछ । न्यारोबडी विमानका लागि भैरहवाबाट काठमाडौं उडान समय २५ मिनेट लाग्ने बताएको छ । निगमका उपनिर्देशक रमेश पौडेलले पहिलो चरणमा न्यरोबडीबाट सातामा एउटा उडान गर्ने बताएका छन् । भारतले एअररुट अनुमति दिईहाले चाँडै मलेसिया-भैरहवा-दिल्ली–काठमाडौं उडान गर्ने योजना रहेको पनि उनले बताएका छन् ।
२०७९ साल जेठमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा नेपाल वायुसेवा निगमका न्यारोबडी र वाइडबडी विमानले परीक्षण उडान गरे पनि व्यवसायिक उडानमा भने कुबेतको जजिरा एयरलायन्स मात्रै थियो । जजिरापछि नेपाली लगानीकर्तासमेत रहेको हिमालय एयरलायन्सले कात्तिकमा मलेसिया चार्टर उडान गरेको थियो । हाल यी दुबै वायुसेवाले नियमित तथा चार्टर उडानलाई निरन्तरता दिएका छैनन् ।
निगमले मलेसियाबाट भैरहवा हुँदै काठमाडौंका लागि गर्ने उडानलाई टर्न-अराउण्ड उडान भनिन्छ । यस्तो उडानमा जहाजले यात्रु ओरालेर फर्किहाल्छ । त्यहाँबाट यात्रु राख्न पनि पाइँदैन । साथै चालक दलका सदस्यहरु पनि हेरफेर नहुने भैरहवा विमानस्थलका महाप्रवन्धक हंशराज पाण्डेले बताए ।