चितवन जिल्लाको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ मा रहेको इच्छाकामना मन्दिर भक्तजनका लागि खुला गरिएको छ । जीर्ण बनेको मन्दिर पुनर्निर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला गरिएको हो ।
इच्छाकामना सिद्धबाबा क्षेत्र संरक्षण समितिकाअनुसार इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले पूजा गरेर बिहीबार विधिवत उदघाटन गरेसंगै भक्तजनका लागि मन्दिरमा पूजा गर्न खुला गरिएको हो ।
इच्छाकामना मन्दिर गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको आमनेसामने पर्दछ भने मनकामना माईका सात दिदीबहिनीमध्ये एक बहिनी भनेर इच्छाकामनालाई चिनिने गरेको छ । साथै, यस इच्छाकामना मन्दिरमा पूजाआजा गरे इच्छाएको कुरा पूरा हुने धार्मिक विश्वास समेत रहेको छ ।
यसअघि ढुङ्गा माटोले बनेको पुरानो मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर २०७५ सालदेखि पुनर्निर्माण सुरु गरिएको मन्दिर २ करोड ४२ लाख रुपैयाँको लागतमा पुनर्निर्माण सम्पन्न भएको इच्छाकामना सिद्धबाबा क्षेत्र संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले जानकारी दिएका छन् ।
मन्दिर पुनर्निर्माणका लागि बागमती प्रदेश, इच्छाकामना गाउँपालिकाको सहयोग साथै स्थानीयवासीले श्रमदान र चन्दादाताले रकम सहयोग गरेका बताईएको छ ।