डा. केशव देवकोटा - -
नेपालका प्रधानमन्त्रि पुष्पकमल दाहाल भारत भ्रमणमा जानुभन्दा ठीक तीनदिन अघि भारतले आफ्नो नयाँ संसद भवनमा राखेकोे अखण्ड भारतभन्ने कथित नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु र विराटनगर उल्लेख भएपछि नेपालमा जनस्तरमै बिरोध शुरू भएकोछ । तर सरकारमा रहेकाहरूले त्यसप्रति वेवास्ता गरेका छन् । चारदिने भारत भ्रमण सकेर स्वदेश फर्कनु भएका प्रधानमन्त्रि दाहालबाट समेत अखण्ड भारतकाबारेमा न त दिल्लीमा रहँदा कुनै टिप्पणी भएको थियो, न स्वदेश फर्केपछि कुनै प्रतिवाद । प्रम दाहाल दिल्लीमा रहेकै बेला काठमाडौंस्थित भारतीय दूतावासकै अगाडि अखण्ड भारतको नक्शामा आगो सल्काइएको थियो । खासमा त्यो भारतले नेपालको अखण्डता र स्वाभिमानमाथि प्रहार गरेको क्षण हो ।
त्यसैगरी प्रधानमन्त्रि दाहाल दिल्ली पुगेकै दिन गत १७ गते काठमाडौंमा अखण्ड भारत मूर्दावादको नारासमेत लागेको थियो । सो दिन पनि काठमाडौंको माइतिघरमा अखण्ड भारतको नक्सा जलाइएको थियो । अखण्ड भारतको नक्साका बारेमा बिश्वभर छरिएर रहेका नेपालीहरूले आआफ्नो ठाउँबाट बिरोधगर्दै नेपाल सरकारलाई तत्काल प्रतिवादगर्न आग्रह गरिरहेका छन् । खासमा अखण्ड भारत जसलाई अखण्ड हिन्दुस्तान पनि भन्ने गरिन्छ । यो एक एकीकृत बृहत्तर भारतको अवधारणाको लागि बनाइएको शब्द हो। जसले आधुनिक भारत, पाकिस्तान, अफगानिस्तान, बंलादेश, नेपाल, भुटान, श्रीलंका, माल्दिभ्स र म्यानमार एउटै राष्ट्र भएको दाबी गर्दछ । भारतले सोही अवधारणाअनुसार आफ्ना सबै छिमेकी देशहरूमा हस्तक्षेपको नीति अख्तियारगर्दै आएको छ । भारतको संसद भवनमा उक्त कथित नक्सा प्रयोग हुनासाथ पाकिस्तान सरकारले आपत्ति जनाइसकेको छ । पाकिस्तानले त्यसलाई भारतको ‘अधिपत्यवादी र विस्तारवादी महत्वाक्यांक्षा’ र संशोधनवादी एबं विस्तारवादी मानसिकताको अभिव्यक्ति’ भनेको छ । जेठ १९ गते शुक्रवार पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताले एक विज्ञप्ति जारीगर्दै बिरोध गर्नुभएको हो । ‘अखण्ड भारत’ (एकीकृत बृहत्तर भारत) सँग जोडेर केन्द्रीय मन्त्रीलगायत भाजपाका केही राजनीतिज्ञहरूले गरेको कथनका आधारमा उक्त भित्ते नक्सा चित्र बनाएर संसद भवनमा राखिएको छ । यस कार्यबाट भारत असल छिमेकी नीतिबाट च्युत भएको छ । पाकिस्तानले भारतीय राजनीतिज्ञहरूलाई आफ्नो विभाजनकारी र संकुचित राजनीतिक एजेन्डालाई अगाडि नबढाउन र अन्य देशहरू विरूद्ध बयानबाजी नगर्न भनेको छ ।
निश्चित छ भारतको उक्त कुकर्मको संसारभरबाट बिरोध हुने छ । अन्तत भारत आफ्नो संसद भवनबाट उक्त भित्ते नक्साचित्र हटाउन ढिलो चाँडो बाध्य हुने छ । इतिहासकारहरूले अखण्ड भारतको त्यस्तो प्रमाणिक ऐतिहासिक आधार नभएको बताइसकेका छन् । नेपालका प्रधानमन्त्रि गत १७ गते दिल्ली पुग्नुअघिनै सो विषयले सामाजिक सञ्जालहरूमा व्यापक चर्चा पाइसकेको थियो । उक्त भित्तेचित्र जेठ १४ गते आइतवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलेनै उद्घाटन गर्नुभएको थियो । भारतको राष्ट्रियताको प्रतीक चिन्ह, केही भूभागका सीमारेखा र मूर्तिजस्तो आकृतिसमेत रहेको उक्त भित्तेचित्रमा नेपालका विश्व सम्पदासूचीमा परेका लुम्बिनी र कपिलवस्तुसहितका कतिपय ऐतिहासिक ठाउँहरूको नाम पनि समावेश गरिएको छ । जसमा पाकिस्तानका तक्क्षशीलासहितका बिभिन्न राज्य र शहरहरूसमेत समावेश गरिएको पाइन्छ । त्यसरी भारतले आफ्नो कथित अखण्ड भारतको चित्रमा नेपाललगायतका बिभिन्न मुलुकका भूभागहरू समेट्नुको कुनै ऐतिहासिक आधार पनि छैन र त्यसको कुनै औचित्य पनि देखिएको छैन । जुन काम भारतीय शासकहरूको आत्मतुष्ठि पूरा गर्ने केटाकेटी काम हो । यस कार्यले भाजपाको राजनीतिमासमेत गंभिर असर पुग्ने निश्चित छ । जसले भारतको छिमेकीसँगको सम्बन्धमा दरारको अवस्था सिर्जना गरेको छ ।
प्राचीनकालकै कुरा गर्ने हो भने पनि नेपाल यस क्षेत्रकै सबैभन्दा पुरानो र बिशाल देश रहेको बिभिन्न शिलालेखहरूले स्पष्ट गरेका छन् । समुद्रगुप्तको इलाहावादको एउटा अभिलेखमा नेपालभन्ने देश कामरूप र कर्तीपुरको बीचमा पर्छ भन्ने उल्लेख छ । त्यसअनुसार नेपाल हाल भारतमा रहेको आसाम र कुमाउ गढवालसम्म रहेको स्पष्ट हुन्छ । मध्यकालमा पश्चिमका खस मल्ल राजाहरूले कुमाउ र गढवाल जितेका र ३०० बर्षसम्म शासन गरेका बिभिन्न प्रमाणहरू पनि रहेका छन् । भिमसेन थापाको पालामा कुमाउ गढवालभन्दा पनि अघि बढेर नेपालले बाह्र अठार ठकुराई भन्ने राज्यहरूलाई समेत जितेर सतलज नदीसम्म आफ्नो सीमा बिस्तार गरेको थियो ।
खासमा भन्ने हो भने प्राचीन कालमा भारत भन्ने देशनै थिएन भने हुन्छ । सन् १९४७ मामात्र भारत अस्तित्वमा आएको देखिएको छ । जसको इतिहास आजका हिसावले ७६ बर्षको मात्र रहेको छ । भारतवर्ष भन्ने अवधारणा पनि करिव दुईहजार वर्षअघिमात्रै आएको बिभिन्न प्रमाणहरू रहेका छन् । त्यसैगरी भारतले एकतर्फीरूपमा नेपालको कालापानीलाई आफ्नो नक्सामा राखेपछि नेपालले पनि लिम्पियाधुरा र लिपुलेकसमेतलाई समेटेर नयाँ नक्सा जारी गर्नुपरेको थियो ।
जसले नेपाल र भारतको सम्बन्धमा केही समय चिसोपनको अवस्था सिर्जना गरेको थियो । बुद्ध नेपालमा जन्मिएको र लुम्बिनी र कपिलवस्तुमा अध्यावधी नेपालमा रहेको भन्ने जान्दा जान्दै यसअघि पनि भारतले बुद्ध भारतमा जन्मिएको भ्रम फैलाउन अनेक प्रयास गरेको थियो । भारतको पछिल्लो कदमले नेपालसहितका छिमेकसँग अनावश्यक र घातक कूटनीतिक बिवाद निम्त्याएको छ । नेपालमा पनि नयाँ संसद् भवन बन्दैछ । त्यसमा बिशाल नेपालको नक्सा किन नराख्ने भन्ने प्रश्न उठेको छ । सन् २०२२ मा लुम्बिनीको भ्रमणमा आउँदा आफूलेनै बुद्धको पवित्र जन्मस्थल आउन पाएकोमा सौभाग्यशाली भनेको कुरालाई भारतीय प्रधानमन्त्रि मोदीले बिर्सेको देखिएको छ । कथित अखण्ड भारतको बिषयलाई लिएर चारैतिर बिवाद र बिरोध शुरू भएपछि भाजपाका कतिपय नेताहरूले अखण्ड भारतलाई सांस्कृतिकरूपमा बुझिदिन र राजनीतिक रंग नदिन अनुरोधगर्न थालेका छन् । भारतीय शासकहरूले उक्त नक्सा बनाउनुको औचित्य र सान्दर्भिकताका बारेमा स्पष्ट गर्न नसकिरहेको अवस्था छ । प्राचीन ग्रन्थ मानिने ऋग्वेदमासमेत भारत वा भारत बर्षकाबारेमा उल्लेख छैन । इतिहासको अध्ययन तथा लेखनका लागि भरपर्दो ऐतिहासिक श्रोतकारूपमा लिने गरिएका इसापूर्व छैटौं शताब्दीतिरका जैन तथा बौद्ध साहित्यमासमेत भारत भन्ने उल्लेख गरिएको पाइँदैन । तत्कालीन मगध साम्राज्य हालको अफगानिस्तानसम्म पुग्दा पनि भारत नामको कुनै भूक्षेत्र देखापरेको थिएन । पछिल्लो समयमा भारतकै कारण फेरी नेपालमा विशाल नेपालको नारा लाग्नथालेको छ ।
सन् १८१६ मा भएको बिवादास्पद सुगौली सन्धीभन्दा अगाडी नेपालको भूभाग भित्रपर्ने पश्चिमको हालको उत्तराखण्ड, हिमाचल प्रदेश राज्यकासाथै साना, साना पञ्जाबी पहाडी राज्यहरूका सतलज नदी र त्यसको पारीसम्मका भूभाग कांगडासम्म, पूर्वतर्फ सिक्किम, दार्जिलिब, समेटने टिष्टा नदी सम्मका भूभाग रहेका थिए । सुगौली सन्धीमा नेपालले केही भूभाग गुमाउनु परेको थियो । नेपालको इतिहास साक्षी छ कि प्राचीन खसकाल र किराँत कालमा नेपाल बिशाल रहेको थियो । जसको सीमाना पूर्वमा कामरू, कामक्ष, दक्षिणमा कतूर र पश्चिममा कांगड़ासम्म थियो । जसका आधारहरू स्कन्द पुराणको ८१ औं अध्यायमा उल्लेख गरिएका छन् । ईसा पूर्व १००० वर्ष पहिलाको अथर्ववेद र कौटिल्यको अर्थशास्त्रमा पनि बिशाल नेपालका बारेमा व्यख्या गरिएको पाइन्छ । २२०० वर्ष पुरानो सम्राट अशोकको लुम्बिनीमा स्थापित स्तम्भ अशोकस्तम्भमा समेत उक्त भूभाग नेपालको भएको उल्लेख छ । आजपनि नेपालको करिव लगभग ६०,००० हेक्टर जमीनमा भारतसँग बिवाद रहेको छ । जसमा नेपाल र भारतकाबीचमा दाबी, प्रतिदाबी, बहसहरू चलिरहेका छन् । कालापानी, लिम्पियाधुरा, सुस्ता, मेचीक्षेत्र, टनकपुर, पशुपतिनगर, हिलेलगायतका ५४ स्थानमा भारतले नेपालको भूभाग अतिक्रमण गरेका तथ्य रहेका छन् । नेपालसँग सुगौली सन्धीगर्ने बेलायतले सन् १९४७ अगस्त १५ मा भारत छाडेपछि नेपालको आफूले लिएको भूभाग पनि फिर्ता गरिसकेको हो । तर स्वतन्त्र भारतका नेताहरूले बेलायतले फिर्ता गरेको नेपालका भूभागहरू बलपूर्बक उपयोग गरिरहेका छन् । हालै भएको प्रधानमन्त्रि दाहालको भारत भ्रमणका बेला भारतीय प्रधानमन्त्रि मोदीले नेपालसँगको सीमा समस्या समाधानगर्ने बचन दिएको भनेर जुन प्रचार गरिएको छ, त्यो आफैमा षडयन्त्रपूर्ण र कुटिल रहेको छ । भारतले हाल आफूले मिचिसकेका भूभाग बाहेकमा संझौतागर्ने प्रयासगर्दै आएको यसअघिनै स्पष्ट भएको बिषय हो । नेपालको हालको इन्डोपश्चिमा प्रभावित सरकारले सीमामा पनि भारतलाईमात्र फाइदा हुनेगरी संझौता गर्नसक्ने संभावना छ । त्यसैले आम देशभक्त नेपालीहरू सतर्क हुनु जरूरी छ ।