बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर १ स्थित नेपाली टोलमा आमाको निधन भएपछि १० वर्षीया सुशीला नेपालीको काँधमा पाँच भाइबहिनीको लालनपालनको जिम्मेवारी आइपरेको छ ।
फोक्सो र मिर्गौलासम्बन्धी रोगबाट पीडित २७ वर्षीय आशा नेपालीको गत जेठ १० गते उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा निधन भएपछी १० वर्षीया सुशीला नेपालीको काँधमा उक्त जिम्मेवारी आईलागेको हो ।
आमाको मृत्यु पछी नाताले ठूलीआमा पर्ने चन्द्रादेवी नेपालीको घरमा बसिरहेकी सुशीलाको बुबा मानसिक रोगि छन् । सुशीलाको परिवारमा अरु कोहि छैनन् । उनको हजुरआमा र हजुरबा बितिसकेका छन् । अहिले छिमेकी ठुलिआमको शरणमा बसेकी सुशीलाको दैनिकी भाइबहिनीहरू आठ वर्षीया सुमिता, ६ वर्षीया सोमिया, चार वर्षीय शिशिर, दुई वर्षीय सिभान र एकमहिने सृष्टिको रेखदेखमा बित्ने गरेको छ ।
नाताले ठुलीआमा पर्ने चन्द्रदेवी पनि एकल महिला हुन् । उनका पनि ५ जना बालबच्चा छन् । उनले केहि दिनका लागि रेखदेख गरेपनि सधै हेर्न नसक्ने बताउछिन । सुशीलाको बुबा मानसिक रोगि भएका कारण कहाँ जान्छन ? के खान्छन ? कहाँ बस्छन केहि ठेगान छैन ।
गत बैशाख २० गते कान्छी बहिनि सृष्टिलाई जन्म दिएकी सुशीलाको आमा बहिनि जन्मेको एक महिना नबित्दै बितेपछी परिवारमा ठुलो बज्रपात आईलागेको त्रिवेणी नगरपालिकाकि उपमेयर कमलाकुमारी जैसी न्यौपानेले बताइन् ।सुशीला र उनका भाईबहिनिका लागि राहत स्वरूप नगरपालिकाले १ क्विन्टल चामल, १० केजी दाल र ६ बालबालिकालाई १–१ जोर लुगा सहयोग गरेको र उनीहरुको सहयोगका लागि विभिन्न संघसंस्थासँग सहयोग माग गरिने पनि उपमेयर कमलाकुमारीले बताएकि छन् । साभार : नयाँ पत्रिका