भारतको ओडिशा राज्य अन्तर्गत बालासोर जिल्ला नजिकै शुक्रबार साँझ भयानक रेल दुर्घटनामा परि २८८ जनाले ज्यान गुमाएका छन् । उक्त दुर्घटनामा परि करिब ८०० जना घाइते भएका छन् ।
शुक्रबार साँझ ७ बजेको समयमा भएको दुर्घटनामा तीनवटा रेल एक आपसमा ठक्कर खाएको थियो । जसमा १२८४१ शालीमार कोरोमण्डल एक्सप्रेस, १२८६४- सर एम. विश्वेश्वरया- हावडा सुपरफास्ट एक्सप्रेस ट्रेन र मालगाडी रेल दुर्घटनामा परेको थियो । उक्त भयानक दुर्घटनामा कोरोमण्डल एक्सप्रेस र सुपरफास्ट एक्सप्रेसका १७ वटा डिब्बा पटरीबाट उछिटिएका थिए ।
रेल दुर्घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदी र रेलमन्त्री अश्विनी वैष्णव,ओडिशाका मुख्यमन्त्री नवीन पटनायक र पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी पनि राहत र उद्धार कार्यको अवलोकन गर्न दुर्घटना स्थलमा पुगेका थिए । दुर्घटनापछि नवीन पटनायकले राज्यमा एक दिने राजकीय शोकको घोषणा गरेका छन् । दुर्घटनाप्रति सरकार निकै गम्भीर रहेको बताउदै प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाको सबै किसिमको छानबिन गरि दोषीलाई कडाभन्दा कडा सजाय दिइने प्रतिबद्धता दिने बताएका छन् ।
उक्त दुर्घटनामा मृतकका आफन्तलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषबाट २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने प्रधानमन्त्री कार्यालयले घोषणा गरेको छ । रेलमन्त्री अश्विनी वैष्णवले मृतकका आफन्तलाई १० लाख, गम्भीर घाइतेलाई १ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् भने यसबाहेक ममता बनर्जीले पश्चिम बंगालका जनतालाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेकी छन् ।