दुवै खुट्टा गुमाएर पनि हिम्मत नहारेका सफल सगरमाथा आरोही हरि बहादुर बुढामगरलाई सम्मान गर्नेक्रम निरन्तर भइरहेको छ । सगरमाथाको सफल आरोहण सकेर काठमाण्डौ फर्किएका बुढा मगरलाई नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेका थिए ।
घुँडा देखि तलको दुवै खुट्टा गुमाएका बुढामगर २०८० जेठ ५ गतेका दिन सगरमाथा चुचुरोमा पुगेका थिए । उनलाई सगरमाथा आरोहन पछि विभिन्न राजनीतिक दल, संघसंस्थाहरुले उनको साहसको कदर गर्दै सम्मान गर्न थालेका हुन् ।नेकपा माओवादी केन्द्रले दुई खुट्टा गुमाएर सगरमाथाको कीर्तिमानी आरोही गरेका हरि बुढामगरलाई सम्मान गरेको थियो । गत मंगलबार पार्टी कार्यालय पेरिसडाडामा आयोजित एक कार्यक्रमकाबीच माओवादीले बुढामगरलाई सम्मान गरेको हो ।
केहि दिन अगाडी मात्रै नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारी निवास बालुवाटारमा उनलाई सम्माण गरेका थिए । उक्त सम्मानमा नेपाल सरकारका मन्त्री, कर्मचारी लगायतको उपस्थितीमा उनको सम्मान गरिएको हो । त्यसैगरी सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाले पनि कृत्रिम खुट्टाको सहारामा सगरमाथा आरोहण गरेका हरि बुढामगरलाई बधाईसहित सम्मान व्यक्त गरेका थिए ।
त्यसैगरि नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि बुढामगरलाई सम्मान गरेको थिए । एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष ओली लगायत एमाले नेताहरुले आरोही बुढामगरलाई सम्मान गरेका हुन् ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकोमा खुसी व्यक्त गर्दै धुम्बाराहीस्थित आफ्नै निवासमा बिहिबार आयोजित एक कार्यक्रमकाबीच पार्टीकोतर्फबाट आरोही बुढामगरलाई सम्मान गरेको छन् । उनले नेपालको पहिचानलाई विश्वभर प्रवद्र्धन हुने गरी साहसिक आरोहण गरेर कीर्तिमान कायम गरेको भन्दै बुढामगरलाई धन्यवाद सहित सम्मान गरेका हुन् ।
दुवै खुट्टा गुमाए पनि सगरमाथाको सफल आरोहण गरेका रोल्पाका हरिबहादुर बुढामगरलाई सरकारले एयरपोर्टमै पुगेर सम्मान गर्नुपर्ने रोल्पाबाट निर्वाचित सांसद ईश्वरी घर्तीले संसदमा समेत माग गरेकी थिईन् । हाल आरोही बुढामगरलाई सम्मानको ओईरो लागेको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले पनि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका पर्वतारोही हरि बुढामगरलाई विशेष सम्मान गरेका थिए । रोल्पा घर भएका बुढामगरले ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा गुमाएका थिए ।