निर्जला एकादशीको अवसर पारेर घरको तुलसीको मठमा आज तुलसीको दल राख्ने गरिन्छ । वैदिक सनातन धर्मावलम्बीले आज आ,आफ्नो घरको मठमा तुलसीको दल राख्ने परम्परा रहेको छ ।
हरेक वर्ष ज्येष्ठ शुक्ल एकादशी अर्थात निर्जला एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ । आजको दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन रोप्ने परम्परा रहेको छ ।
यसरी आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्मको चार महिनालाई चतुर्मास पनि भनिन्छ । यो समयामा तुलसीको विशेष पूजा गरिन्छ । चार महिनासम्म हुर्काएर बढाएको तुलसीलाई दामोदरसँग विवाह गरिने प्रचलन समेत रहेको छ ।
चतुर्मासमा स्नान, पूजा र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास समेत रहेको छ । निर्जला एकादशीका दिन पानी समेत नपिई व्रत गर्नाले अभीष्ट फल पाइने शास्त्रीय वचन रहेको छ ।
कतिपयले ब्रतको समयमा पानी समेत पिउँदैनन् भने कतिले चाहीँ फलफूल खाएर ब्रत बस्ने गर्छन । तुलसीलाई आयुर्वेदिक र लाभकारी औषधीको रुपमा समेत प्रयोग गर्न सकिन्छ । तुलसीको बोटबाट अक्सिजन समेत पाउने आधुनिक विज्ञानले समेत पुष्टि गरेको छ ।