सरकारले मलेसियासहित अन्य खाडी मुलुकमा जाने कामदारलाई व्यवस्था गरेको ‘फ्रि टिकट, फ्रि भीसा’ लाई सहज बनाउन उज्वल सपना एप "गोल्डेन ड्रीम एप"ले सहजीकरण गर्ने भएको छ । इशारा ईन्स्टिच्युटको सहकार्यमा अखिल नेपाल ट्रेड युनियन महासंघअन्तर्गतको अखिल नेपाल प्रवासी श्रमिक मञ्चले आयोजना गरेको कार्यक्रममा यसबारे जानकारी दिएको हो ।
ईन्स्टिच्युटले शुरु गरेको उक्त एपले हाल मलेसियामा कार्यरत नेपाली श्रमिक र मलेसियालाई गन्तव्य मुलुक बनाएर वैदेशिक रोजगारीमा जानेलाई ‘फ्रि भीसा,फ्रि टिकट’ कार्यान्वयन गर्न सहज गरिरहेको छ । नेपालबाट हरेक दिन वैदेशिक रोजगारीमा जानेको संख्या बढदै गएको र उनीहरुबाट म्यानपावरले मनलाग्दी पैसा असुलेको अवस्थालाई मध्यनजर गर्दै यो व्यवस्था गरिएको ईन्स्टिच्युटका अध्यक्ष हिमालय खरेलले बताए ।
वैदेशिक रोजगारीलाई निःशुल्क, सुरक्षित र सुलभ बनाउनु आफूहरुको उद्धेश्य रहेको उनको भनाइ छ । उक्त एप डाउनलोड गरेर निर्देशनअनुसार आफ्नो बायोडाटासहित आवश्यक कागजात राखेर पेश गर्नुपर्नेछ । कागजातको आधारमा सम्बन्धित कामको खोजी गर्न सहज हुने हुँदा बीचमा हुने एजेन्टहरुको ठगी, अनावश्यक झन्झट र म्यानपावरसम्म धाउनपर्ने बाध्यताबाट छुटकारा पाइने उनी बताउँछन् ।
एपमार्फत आफ्नो कागजातको आधारमा खोजिएको काम, कम्पनी र त्यसको सेवासुविधालगायतको बारेमा नोटिफिकेशन आउने जनाइएको छ । अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगतबहादुर सिम्खडाले झन्डै ६० लाखको हाराहारीमा नेपाली श्रमिक वैदेशिक रोजगारीमा गएको जानकारी दिए । उनले यो मुलुकका लागि निकै डरलाग्दो अवस्था भएको बताए । वैदेशिक रोजगारबाट ९ खर्बभन्दा बढी रेमिट्यान्स आउने भएपनि झण्डै त्यसकै अनुपातमा खर्च हुने हुँदा देशलाई फाइदा नहुने उनको जिकिर छ ।
उनका अनुसार दुई प्रतिशत दक्ष कामदार वैदेशिक रोजगारीमा गएका छन् । त्यस्तै, २३ प्रतिशत अर्धदक्ष र ७३ प्रतिशत अदक्ष कामदार वैदेशिक रोजगारीमा गएको बताउँदै उनले नेपालको शिक्षा नीतिलाई परिवर्तन गरेर प्राविधिकमैत्री बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा अखिल नेपाल प्रवासी श्रमिक मञ्चका अध्यक्ष दुर्गाप्रसाद खतिवडाले श्रमिक हकहितका लागि सबैसंग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् ।