Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

जनता आक्रोसित, राजा संयमित

१५ सोमबार , जेठ २०८०एक बर्ष अगाडि

शाश्वत शर्मा - -
जनता राजतन्त्र जिन्दावाद भनेर मेची काली घन्काइरहेका छन्, सत्ताधारीहरू कथित गणतन्त्र दिवस मनाएर भोजभत्तेर खाइरहेका छन् । नेताजीहरूको गणतन्त्र दिवस शुभकामना दिएर सकिएको छ । यी कथित बडे बडे नेताहरूमात्र किन, यही गणतन्त्रका नामका भाँडतन्त्रबाट भात भान्सा चलाइरहेका कार्यकर्ताले समेत यो दिवस मनाएको झल्को देखाए । भन्नैपर्छ, यो गणतन्त्र दिवसले जनतालाई दिएको उपहार चाहिं राष्ट्रघात, अपराधिकरण, भ्रष्टाचार, बेथिति र बेरोजगारीमात्र हो । यही सब देखेर आत्तिएका नागरिकहरू असन्तुष्टि व्यक्त गरिरहेका छन् ।
गणतन्त्रले दिएको पछिल्लो कोसेली भुटानी शरणार्थीका नाममा नागरिक निकासी हो । यसबाहेक रेशम चौधरीको उन्मुक्ति र पशुपतिनाथमा चढाइएको जलहरि प्रकरण पनि खुब चर्चामा छ । चुरे दोहनदेखि अनेक काण्डहरू पाइपलाइनमै छन् । गणतन्त्रबाट नागरिकले पाएको पीडामात्र हो । गणतन्त्रका नाममा आएका शुभकामना पढेर नागरिक मौन छन् । मौनताले देश र जनता बाँच्न सक्दैनन् भन्ने धेरैले बुझ्न थालिसकेका छन् । नेताहरूको बेइमानी अब सडकमा पोखिन थालेको देखिन्छ ।
जेठ १३ गते सुर्खेतमा फेरि एकपल्ट नागरिकले पूर्वराजालाई निम्त्याएर अभिनन्दन गरे । अभिनन्दनपछि पूर्वराजाले मुख खोल्नैप¥यो । पूर्वराजाले आह्वान गरे– लौन देश डुब्नै लाग्यो । अब त एक हौं, मिलेर केही गरौं भने पूर्वराजाले । पूर्वराजाको अभिव्यक्ति सुने, अथाह सहभागी भीडले ताली बजाए । भाषण सकियो, घर घर गए, जनताको लागि गाँस बास कपासको जोहो गर्नैप¥यो, आआफ्नै धन्दामा जुटे ।
एकजना भन्दैथिए– जसरी गुठी बिधेयक, स्वास्थ्य घोटालाको बिरोधमा जनता स्वस्फूर्त रूपमा सडकमा आएका थिए, नेतृत्वको भ्रष्ट अनैतिक चरित्रले डुबाइसकेको राष्ट्र बचाउन नागरिक सडकमा किन आउँदैनन् ? कोशी प्रदेशको नाम फेर्नुपर्ने माँग राखेर मर्न मार्न तैयार हुने, देशै सक्किन लाग्दा बचाउन अघि नसर्ने ?
अधिकांश जनता पार्टीका कार्यकर्ता भएका छन् । जो स्वतन्त्र छन्, तिनीहरूलाई बिभाजित गरिएको छ । देशको चिन्ता कसलाई कहाँ छ ? सबैलाई आफ्नै चिन्ता छ । नेपालीलाई अनागरिक बनाएर निकासी गर्नेजस्तो जघन्य अपराध हुँदा समेत नागरिक आन्दोलन हुँदैन, किन ? सडकमा आगो बल्नुपथ्र्यो, सरकारलाई घेराबन्दीमा हालेर अपराधी खोज्न र दण्ड दिन बाध्य पार्नुपथ्र्यो । यस्तो अमानवीय काण्डमा मुछिएकालाई घरघरबाट थुतेर काँडे कोर्रा हानेर बयान लिनुपथ्र्यो । बिरोधका लागि बिरोध भएजस्तो देखियो, सरकार अपराधीलाई बचाउने कार्यमा लाग्यो । ठूला नेताहरूसमेत मुछिएकोमा एकले अर्कोलाई सफाइ दिने धन्दा देखियो संसदमै ।
नेताको बिरोध भारतले पूर्वराजालाई गरेको स्वागतमा देखियो । पूर्वराजालाई अभिनन्दन भएकोमा राजतन्त्र फर्कदैन भन्नेमा देखियो । सुशासनका लागि कसैले आवाज उठाएन । भ्रष्टाचारी र अपराधीलाई बचाउन हुन्न कुनै नेताले भनेनन् । पूर्वराजाको स्वागत गरेर ठूला पार्टीलाई तर्साएको भारतले बल्ल १७ देखि २० गतेसम्म प्रधानमन्त्रीलाई निम्त्यायो । एक घण्टाको वार्ताका लागि ६ महिना घडीको रालो हल्लाएझैं हल्लाएर थकित गलित पारेपछि निम्ता पाठएको छ । भन्न सकिन्न, यो भ्रमणमा नेपालले के के गुमाउनु पर्ने हो । विज्ञहरू भन्छन्, न सीमा अतिक्रमण, इपीजी रिपोर्टका विषयमा कुरा हुन्छ, न भारतले पोखरा, भैरहवा एयरपोर्टलाई एयर रूट नै दिन्छ । चीनको संलग्नता भारतका लागि अपाच्य हुँदै आएको जो छ ।
आफ्नै अस्तित्व बचाउन पनि विदेशीले इसारा दिनुपर्ने ? भारतलाई कोसेली स्वरूप नागरिकता विधेय राष्ट्रपतिले प्रमाणिकरण गर्नुपर्ने, नेपालको माटो, रोडाढुङ्गा, बालुवा भारतलाई बुझाउन मन्जुर गरेर गणतन्त्र जोगाएको सर्वदलीय सहमति सार्वजनिक हुनथालिसकेको छ । पूर्वराजा त पार्टीहरूका लागि भारतले देखाउने हाउगुजी भएको छ । नत्र... भनेपछि गणतन्त्रवादीहरू भारतका सामु नतमस्तक । आफ्नो पद, खान्की, सत्ता बचाउन भारतले जे भने पनि दिइरहेका छन् । यसकारण पूर्वराजाले जतिसुकै मेचीकाली पुगेर कोर्स करेक्सनका लागि मिलौं, जुटौं सहकार्य गरौं भने पनि नेताहरू बीसको उन्नाइस झुक्न तैयार छैनन् ।
नेपालको स्रोत साधनदेखि नेपालीतत्व समेत लिइसकेको भारतलाई किन पो गर्नु प¥यो कोर्स करेक्शन ? विदेशीलाई नेपालको होइन, तिनको आफ्नै स्वार्थले महत्व राख्छ । जनस्तरबाट भारतविरोध जति भए पनि भारतलाई केही फरक पर्दैन । भारतका लागि नेपालका नेताहरू जो भारतका लागि काम गरिरहेका छन् । भारत चलाख छिमेकी हो, कुनै पनि छिमेकीका लागि भारतले माया गर्दैन । आफैले दिएको मतको अपमान गर्नेको पक्षमा ताली बजाउने जनता हौं हामी । भ्रष्टहरूको सन्देशलाई मिठो मानेर सुन्ने, पढ्ने अनि चूपचाप बस्ने हामी । हो, पूर्वराजाले देशको भार उठाएका छन्, अघि सरको छन् । उनलाई साथ जनता जुर्मुराउने बेला यही हो । राजा नथाक्दै जनता जागरूक हुनुपर्छ, तबमात्र देश बच्ला, अन्यथा ...।