Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

राजस्व चुहिएको, राजनीति तुहिएको हेरिरहने ?

१५ सोमबार , जेठ २०८०एक बर्ष अगाडि

राजन कार्की - -
दोस्रो विश्वयुद्धको कारण पनि साम्यवाद र पुँजीवाद नै थियो । १९४७ मा राष्ट्रसंघ जन्मेपछि राष्ट्रसंघको नीति तटस्थता हो, नेपालको असंलग्नता ।
राष्ट्रसंघको आह्वानमा नेपाल द्वन्द्वरत मुलुकमा शान्ति स्थापनाका लागि खटिनेक्रम जारी नै छ । यो क्रम १९५८ बाट सुरू भएर आजपर्यन्त निरन्तर छ । नेपाली सेनाको यही एक कर्मले पनि नेपालको गर्विलो इज्जत राखेको छ । यही कर्ममा नेपालको असंलग्नता र अन्तर्राष्ट्रिय प्रभावशाली कूटनीति पनि अन्तर्निहित रहेको छ ।
राष्ट्रसंघले अब्बल र अनुभवी सेना रोज्छ, जुन रोजाइमा नेपाल पर्दै आएको छ । एक अन्तर्राष्ट्रिय विज्ञले भनेका थिए– विश्वको कुनै पनि सेनालाई द्वन्द्वग्रस्त क्षेत्रमा खटायो भने त्यहाँको सुविधाबारे छलफल गर्छन् । नेपाली सेनामात्र हो, खटाएपछि खट्छ, काँधमा आएको जिम्मेवारी पूरा गर्छ । नेपाली सेनाले कहिले पनि सुविधा खोजेन, रोजेन, जिम्मेवारी निर्वहन प्राथमिकतामा राख्यो । इमानदारी, बफादारी, कार्यकुशलता र व्यवसायिकता नेपाली सेनाको पहिलो विशेषता रहदै आएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा राष्ट्रको मान, प्रतिष्ठा बढाउने, राष्ट्रको अखण्डता र सार्वभौमिकताको पहरेदार रहेको यस्तो नेपाली सेनाको आलोचना राष्ट्रहित चाहनेले  कहिले पनि गर्दैन । बरू नेपाली सेनालाई थप मार्गदर्शन दिन्छ र बढीभन्दा बढी दायित्व निर्वहनप्रति सजग गराउने गर्छ ।
नेपाली सेना भन्नेबित्तिकै ‘फौजी दस्ता’ मा मात्र सीमित राख्रूने मान्यता छ । यो पुरातन र साँघुरो मान्यता अब पुरानो भइसक्यो । नेपाली सेना भौतिक बलको शक्तिभन्दा धेरै माथि उठिसकेको छ, जुन कुरा उसैका गतिविधिबाट प्रष्ट हुन्छ । नागरिकसँगको बढ्दो सम्बन्ध, कूटनीति, देश तथा विदेशमा मानव अधिकारको मूल्य स्थापित गर्न उसले खेलेको भूमिका र उपस्थितिलाई संसारले रूचाउन थालेको धेरै भइसकेको छ । राष्ट्रसंघको आह्वानमा द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ उसको भूमिकामा फौजीभन्दा मानवीय सेवाभाव बढी झल्कन्छ । स्मरणरहोस्, महत्वको कुरा नेपाल दुईपल्ट राष्ट्रसंघ, सुरक्षा परिषदको अस्थायी सदस्य भइसकेको छ । यो चानचुने उपलब्धि होइन । नेपाली सेना देशको सार्वभौमिकताको रक्षा, विकासनिर्माण, आपतविपतदेखि कूटनीतिसम्म अब्बल शक्तिका रूपमा स्थापित छ ।  यसकारण पनि विश्वको नेपाल सम्पर्क, सम्बन्धमा नेपाली सेना प्राथमिकतामा रहदै आएको छ । यो स्वभाविक पनि हो । अति राजनीतिकरणले कानुनव्यवस्था, कूटनीतिक पहुँच, प्रभावकारिता शून्य भएका बेलामा नेपाली सेनाको भूमिका प्रभावकारी हुने गरेको अनेकन उदाहरण रहेका छन् । यो नेपाली शीर उचाली... यस्तो हुनुपथ्र्यो राष्ट्रिय गान । नागरिकलाई राष्ट्रप्रति उत्साह जगाउने, साहस बढाउने, राष्ट्रभक्तिका लागि रगत उमाल्ने । त्यसो हुन सकेन ।
भक्ति थापा बाघ, अमरसिंहजस्ता जिउँदो सिंह भन्ने उक्ति रहेको मुलुकमा परिवर्तनपछिको नेतृत्व ब्वाँसोजस्तो देखियो । नेतृत्वले देश बोकेनन्, जनतालाई संगठित र साहसी बनाएनन् । आफै जो घृणापात्र बने, त्यस्ता नेताले देशको भार, जनताको अपेक्षा बोक्ने सवालै थिएन ।
हुनेत नेपाली जातिको पहिचान नैतिकहीन, धर्महीन राजनीतिले मासेर मासिन्न । तर यतिबेला नेपाल राष्ट्रको अवस्था चिन्ताजनक अवस्थामा छ । अन्तिम शक्ति सेना हो । सेनाले पनि जनताको आकांक्षा र देशको आवश्यकतालाई अध्ययन गरिरहेको छ । संविधानले बाँधेको छ, देशै विचलन हुँदा बाँधिएर बस्नेछैन भन्ने विश्वास गरौं ।
नेपाली सेना चम्किलो गौरवगाथा बोकेको संस्था हो । यो संस्थालाई स्वार्थको बशमा परेको राजनीतिले कहिले बुझेन । समयक्रममा भ्रष्ट राजनीति स्वतः पाखा लाग्नेछ, दण्डित हुनेछ, नालीलाई राजनीतिक सफलता मान्नेहरू नालीमै गाडिनेछन् ।
शासन राजनीतिले गर्ने हो, सेनाको काम अन्तिम सुरक्षाको जिम्मा हो । सेना जति देशमैत्री बन्यो, उति देश दरिलो र भरिलो हुन्छ । सेनालाई समाजमैत्री बनाउने जिम्मेवारी राजनीतिले पूरा गरेन । विज्ञहरू भन्छन्– सेना र समग्र समाज, सेनाको नेतृत्वतह र गैरसैनिक विशिष्ट बर्ग तथा सैनिक अधिकारी र राजनीतिकर्मीहरूवीचको सुसम्बन्धमा सुरक्षा, आत्मसम्मान, सुशासन झल्किनुपर्छ, झल्किन्छ । राजनीतिक नेतृत्वलाई लागेको होला सेना डगमगाएको छ । सेनालाई प्रहरीलाई जस्तै राजनीतिकरण गरिनेछ । यो गलत सपना हो नेताहरूको ।
नेपालका सन्दर्भमा सेनाले जनता बुझेको छ, देश उसको छातीमै धड्किन्छ । त्यसैले उसको मूल मन्त्र जनताको नमकको सोझो हो । चुरो कुरो यत्ति हो ।
२०६३ को परिवर्तनपछि रणनीतिक अभिष्ठ पाल्ने अतिवादीसहितका नेताका कारण सेनालाई भात्रृसंगठनजस्तो, हवल्दार बनाउने कसरत र बिखण्डनकारी शक्तिले नष्टभ्रष्ट पार्ने प्रयास आज पनि छाडेका छैनन् । यो त सेनाको बुद्धिमत्तापूर्ण कार्यले सेनालाई आफ्नै व्यवसायिक र बिशिष्टकरणमा पर्वतजस्तै अडिग राख्न सफल भएको छ । सगरमाथाको देशको सुरक्षा मैनाक पर्वतको नाम हो– नेपाली सेना ।
नेपाली सेना व्यवसायिक सेना हो । सेनाभित्र हरेक प्रकारका तालिम हासिल गरेको ज्ञान छ नै, साथै सैनिकको दृष्टि पुग्नुपर्ने हरेक मुद्दामा सैनिकका साथै प्राज्ञिक दृष्टिले पनि विश्लेषण र व्यवहार भइरहेकै छ । नेपाली सेनामा परिपक्व प्राज्ञिकताको पाइन बढी देखिन्छ । समस्या भ्रष्ट र सिद्धान्तहीन राजनीतिमा छ । राष्ट्रघात गर्न तम्सिने राजनीतिक नेतृत्वमा छ । राजनीतिले सेनालाई हेर्ने दृष्टिमा दोष छ । जनताले सेनालाई हेर्ने र सेनाले जनतालाई हेर्ने दृष्टिकोणमा समस्या छैन, समस्या छ भने बेला बेलामा सेनाका बारेमा अविश्वासको वातावरण जन्माउने र अनेकन संशय प्रकट गर्ने राजनीतिमा छ । कानुन व्यवस्था चलाउन नसक्नेले सेनालाई विवादमा तान्ने राजनीति अथवा अतिवादी सोचले सुरक्षा कमजोर भएको हो । सेनालाई कसरी परिचालन गर्ने सल्लाहकार, नागरिक समाज, बुद्धिजीवीहरूले नीति निर्माता र सरकारलाई सुझाव दिनुपर्छ, परेका ठाउँमा दबाब पनि दिनुपर्छ । यो बर्ग सचेत छ, विवेकी पनि छ तर दलपति रिसाउँछन् भनेर मौन बसेका छन् । 
सेनाले के गर्नुपर्ने हो ? यसबारेमा संसदले नीति तय गर्नुपर्छ । सेनालाई दोष देखाउने होइन, फोहर राजनीतिमा लुटपुटिने थिङ्कटेङ्कमा समस्या छ । राज्य सञ्जालदेखि न्यायालयसम्म राजनीतिकरण गरेर भ्रष्टिकरण गर्नु ठूलो समस्या हो । सेनालाई विवादमा होइन, उसको कर्तव्यपथमा लाग्ने प्रेरित गरेर नैतिक समर्थन गर्नुपर्छ । हुन सकेको छैन ।
राजनीतिको पाइला डगमगाएको छ, सेनाको पाइला डगमगाएको छैन । सेनालाई दिएको कुनै जिम्मेवारी सेनाले पूरा गरेको छ भने थप के के गर्नुपर्ने हो त्यो समस्या सेनाको होइन, सेनालाई परिचालन गर्ने विधिको हो । विधि निर्माताले सेनालाई संविधानमार्फत चल्ने भनिसकेपछि संविधानको सीमाभित्र पनि सैनिक गतिविधिलाई थिचोमितो किन गर्छ राजनीति ? सेना नेपालको हो, सेना नेपालीको हो भने सेनालाई नैतिक समर्थन गर्नु र सैनिक मनोवल उच्च राख्न भूमिका खेल्नु राजनीतिको कर्तव्य हुनआउँछ । सेनाको नैतिक बल बढ्दा शान्ति व्यवस्था नै मजबुत हुन्छ भन्ने बुझ्नुर्छ । आफू कर्तव्यच्यूत राजनीति यहींनेर चुकेको देखिन्छ ।
हुन त संविधान कागजको खोस्टो भइसक्यो । संविधानका सीमामा, गरिमा र महिमामा कुनै जनप्रतिनिधि बसेको छैन । राज्य सञ्जालका जिम्मेवारहरू रहेका छैनन् । यो अवस्था अझ बिग्रियो भने सेनाले पनि संविधानको सीमा मिचेर देश र जनताका लागि अगाडि सर्नुपर्ने अवस्था आउनसक्छ ।
इतिहास हेरे हुन्छ, राजनीतिक बर्ग इमानदार छ भने सेना त्यो इमानमा जतिसुकै पाइन हालेर चम्काउन तैयार रहेको इतिहास साक्षी छ । आफ्ना असफलताका अपजस सेनामाथि थोपर्ने र सेनालाई अनावश्यक रूपमा लाञ्छित गर्नु राजनीतिक समुदाय र बुद्धिजीवीहरूको बेइमानी हो । बेला बेलामा उठ्ने यस्ता राजनीतिक नीतिप्रति सेनालाई गम्भीर भएर सोच्न बाध्य पार्छ । यद्यपि नेपाली सेनाको विशेषता के छ भने सेनाले लगाएको चुस्तामा राजनीतिमा चस्का देखिएको छैन । राजनीति पार्टीहरूले नै गर्ने हो, सेनाको काम सुरक्षा नै हो भने नेपाली सेना आफ्नो दायित्व बुझेर चलेको छ, यसमा राजनीतिक पार्टीहरूले गौरव गर्नुपर्छ । थप जिम्मेवारी नागरिक अपेक्षा हो भने त्यो जिम्मेवारी नागरिक प्रतिनिधिहरूले संविधानमार्फत दिनुपर्छ । सेनाले राज्यसञ्जाल र सञ्चालनमा आवश्यक परामर्श, टेको दिने, आवश्यक सैनिक कारवाही र त्यसको परिणामको जानकारी गराउने, संविधानअनुसारका राजनीतिक क्रियाकलाप जो सैनिक दायरामा पर्छन्, तिनलाई कार्यान्वयन गर्ने हो । सैनिकले गर्नैपर्ने यी कार्यहरू बखुवी निर्वाह गरिरहेको छ । यसमा प्रश्न गर्ने ठाउँ देखिदैन । समस्या के छ भने सर्वसम्मतिबाट निर्मित राष्ट्रिय नीति छैन, हरेक नेता र बर्गसमुदाय आ–आफ्ना तरिकाले राष्ट्रियताको परिभाषा दिइरहेका भेटिन्छन् । राष्ट्रिय स्वार्थ असहाय नबनोस्, नबनाइयोस् भनेर सेना सतर्क सजग देखिन्छ । राष्ट्रिय स्वार्थको भाषा मौन र कमजोर भए पनि राष्ट्रियता कमजोर छैन भन्ने सन्देश सेनाले बेला बेलामा प्रवाह गरिरहेको छ । नबुझ्नु अथवा बुझे पनि नबुझेजस्तो गर्नु राजनीतिक र सचेत समुदायको कमजोरी हो ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेका छन्– सत्यका लागि त्याग गर्न सक्नेहरू वीर हुन् । जनताको नमक खाएको नेपाली सेना जहिले पनि सत्यका लागि, संविधानका लागि आफूलाई जस्तोसुकै जोखिममा राख्न तत्पर संस्था हो । भनिन्छ, विश्राम आलस्यले भरिएको मादक पदार्थको कचौरा हो । राज्यका सबै सञ्जाल, व्यक्ति अथवा संस्थाहरू विश्राम गर्छन्, गरेको देखिन्छ तर नेपाली सेनामात्र यस्तो व्यवसायिक संस्था हो, जो चौबिसै घण्टा घडीजसरी चलायमान छ, अविश्राम उसको सैनिक यात्रा जारी छ । जारी रहनेछ । देश र जनता सेनाका दुई नजर हुन् ।
१६१६ मा लिगलिगे शासनबाट सुरू भएको नेपाली सेनाको इतिहास आज पनि निरन्तर जारी छ । माटोप्रति उत्तरदायी छ । कुनै पनि कालखण्डमा सेनाले राष्ट्रघात गरेको कुनै कलंक भेटिदैन । सैनिक मुख्यालयको ढोकामा ठड्याइएको नेपाल निर्माताको सालिकले सेनालाई राष्ट्रप्रति पल पल जिम्मेवार बनाइरहेकै छ । नेपालका सन्दर्भमा सेना भनेको कलम हो, आवाज पनि हो, भावना पनि हो, निर्माण हो, सुरक्षा हो, तरवार पनि हो ।
इजरायली प्रधानमन्त्री रवीन र बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलजस्ता नेताहरू नेपालमा जन्मिन सकेनन् । जनआन्दोलनताका जो जो नेताहरू सगरमाथाजस्ता अग्ला थिए, अहिले सबै आफ्नै स्वार्थका कारण खाल्डाखुल्डी बनिसकेका छन् । असहाय नेपाली र नेपालको सुरक्षाको पहरेदार बनेको सेनाले अग्ला, विश्वासिला, इमान र नैतिकवान नेताको प्रतिक्षा गरिरहेको छ । जो जनतासँग रगत पसिना साटुन्, दुःखसुख बाँडुन् र समाजको आँखामा नबिझाउने गरी बसुन् ।
सेनाको चुस्तामा राजनीतिक चस्का कहिले देखिएन । सेनालाई व्यवसायिकताकै थान्कोमा राखौं, हतियार उठाउन बाध्य नपारौं । शासन प्रशासन चलाउनेहरूलाई चेतना भया ।