यस वर्षको रातो मच्छिन्द्र नाथको भोटो देखाउने जात्रा आज दिउँसो हुँदैछ । वैशाख शुक्ल प्रतिपदाको दिनबाट शुरु भएको रातो मच्छिन्द्रनाथको रथयात्रा आज भोटो देखाएपछि समाप्त हुने छ ।
आज भोटो देखाउने जात्राको अवसर पारेर उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । ललितपुरको बुंगमतीबाट ल्याइएको भोटो देखाइसकेपछि भोटो जात्रा समाप्त हुने र साँझ उक्त भोटो उतै पुर्याइदिने प्रचलन रहेको छ ।
मल्लकालमा कर्कट नागकी श्रीमतीको उपचार गरेबापत एक किसानले पाएको बहुमूल्य गहना र हिराजडित भोटोसम्बन्धी विवाद सुल्झाउन हरेक वर्ष रातो मच्छिन्द्रनाथको भोटो देखाइने प्रचलन रहेको किंवदन्ती छ ।
आजको भोटो जात्रामा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थित हुने र भोटो देखाउने कार्यक्रम रहेको छ । करिब १ हजार ६०० वर्षको इतिहास बोकेको रातो मच्छिन्द्रनाथको भोटो जात्रा हेर्न उपत्यकासहित अन्य जिल्लाका भक्तजनहरुको उपस्थिति रहने गरेको छ ।
यसअघि गुठी संस्थान ललितपुरका प्रमुखले मच्छिन्द्रनाथको भोटो देखाउने चलन रहेकोमा यसपटक लेखापाल पवन आचार्यले भोटो देखाउने तयारी रहेको छ । आज साँझ ४ बजे भोटो देखाउन सम्पूर्ण तयारी पूरा भइसकेको गुठी संस्थान,ललितपुरले जानकारी दिएको छ ।