शाश्वत शर्मा - -
जेठ ६ को धनगढी जनअभिनन्दन कार्यक्रम ८ गते सारेर भारत उत्तरप्रदेशका सहरहरू लखनौं, अयोध्याको दश दिने भ्रमण सकेर मोटरबाटोबाटै राजपरिवार नेपाल फर्किएका थिए । यसपटकको सिलगडी र लखनउ भ्रमणले उल्लेख्य राजनीतिक र कूटनीतिक चर्चा पायो । संसदमा एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीलाई बेवास्ता गरेर भारतले राजालाई अधिक महत्व दिएको कुरा उठाएका थिए भने पत्रकार, बुद्धिजीवी, विश्लेषक पी खरेलको भनाईलाई मान्ने हो भने, अघिल्लो पटक झापाको सीमा नजिकै सिलगडी घुम्न गएका राजालाई भारतको सुरक्षा सल्लाहकार अजित डोभालले विशेष विमानबाट दिल्ली लगेर दुई चरणमा त्यहाँका प्रम नरेन्द्र मोदीसँग भेटवार्ता गराएर भारतले कोर्ष करेक्शन गर्न खोजेको बताएका छन् । त्यसो त यो पटकको लखनउ भ्रमण र मुख्यमन्त्री योगी आदित्य नाथको विशेष सुरक्षा, सत्कार देख्नेहरू नेपालमा राजनीतिको कोर्ष करेक्शन हुने विश्वास बढी ब्यक्त हुनथालेको देखिन्छ । भनिदैछ, यतिबेला भुटानी शरणार्थीको जुन चर्को मामिला सार्वजनिक भयो, त्यो यही कोर्ष करेक्शनको प्रस्थान विन्दु हो ।
हो, जे जति नेतृत्व तह नाङ्गेझार भए, त्यो कोर्ष करेक्शनको सुरूआत नै मान्दा फरक पर्दैन । यो शासन प्रणाली त रहदैन, अहिले नेपालको सिंहदरवारलाई कब्जा गरेर बसेका भ्रष्ट, अनैतिकहरूको झुण्ड पनि पाखा लाग्ने देखिन्छ । नेपाललाई छिमेकीले जुन सम्मान दिएको छ, नेपालभित्रै नागरिक अभिनन्दन र जयजयकार भइरहेको छ, त्यो देखेर आत्तिएका प्रधानमन्त्री प्रचण्डले गत बिहीवारको प्रश्नोत्तरमा दरवार हत्याकाण्डको पुनः जाँच अनुसन्धान गर्ने आशय ब्यक्त गरेका थिए । पूर्वराजालाई दरवार हत्याकाण्डको हाउगुजी देखाएर तर्साउन खोज्नु बेकार नै हो । किनकि यी सबै भ्रष्टाचारले नराम्ररी कुहिएर गनाइसकेका छन् । यस्ता हाउगुजी देखाउनु सत्ताका लोभीपापीहरूको दिवालियापनमात्र हो । जब जब देश विदेशमा राजतन्त्रको आवश्यकता अनुभूति हुन्छ र महत्व देखिन थाल्छ, तब तब सत्ता र विपक्षमा रहेकाहरू दरवार हत्याकाण्डको चर्चा गर्ने गर्छन् । राम्रो काम गरेका भए आज यिनै नेताको जयजयकार हुनेथियो, किन यिनीहरू दयापात्र बनेका छन् ? यत्ति बुझ्न सके राजनीति गर्नेहरूले सत्यतथ्य बुझ्ने थिए । तर बुझ्नै चाहदैनन् । जनतालाई भ्रमित पार्नु र झुक्याउन खोज्नु दुस्साहसमात्र हो, जनता जागिसके ।
दरवार हत्याकाण्ड युवराज दीपेन्द्रको सनकका कारणबाट भएको भन्ने कुरा सबैले थाहा पाइसके, स्वयम् वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले बीबीसीलाई दिएको अन्तर्वार्ताबाट पनि यो सत्य सार्वजनिक भइसकेको हो । त्यसो त अनुसन्धान नै गर्दा पनि फरक पर्दैन । अनुसन्धान गर्नेले यसरी तर्साउने कुरा गर्दैनन् । दरवार हत्याकाण्डको कुरा उठाउनु भनेको असक्षम, अनैतिकहरको आफूमाथि उठेका प्रश्नहरूलाई विषयान्तर गर्नु र पानीमाथिको ओभानो हुन खोज्नुमात्र हो ।
हालै नेता रामकुमार शर्माले हालै प्रम प्रचण्डलाई हिन्दुराष्ट्रका बारेमा जनमत संग्रह गराउनु पर्छ भनेर ज्ञापनपत्र नै बुझाए । भारतका हिन्दुवादी भाजपाको सरकारको सन्देश प्रवाह गर्न खोजिएको माओवादीका तर्फबाट । त्यसै गरी बिहीवार संघीय संसदमा प्रम प्रचण्डले नागरिकता विधेयक एक महिनाभित्रै प्रमाणित गराउने कुरा पनि सत्ता टिकाउने र भारत भ्रमणसँग सम्बन्धित बन्न पुगेको छ । टालटुले पाराले केही दिन सत्ता टिक्ला तर यो पद्धति लामो समय नटिक्ने पक्का छ । छिमेकी र मित्रहरूलाई समेत दुःख दिनसक्ने अवसरवादीहरू अब धेरै दिन टिक्न सक्नेछैनन् । सत्ता र शक्तिका लागि जुनबेला, जोसुकैसँग पनि लसपसगर्न तैयार रहने, कुनै नीति सिद्धान्त, विचार नभएका यिनीहरूका कारण आफूलाई समेत संकट आउने देखेर छिमेकी र मित्रराष्ट्रहरूले समेत नेपालनीतिमा कोर्ष करेक्शन गर्ने संकेत दिएका छन् । पूर्वराजानिकट स्रोतका अनुसार जनताको साथ र समर्थन देखाउन पनि नागरिक अभिनन्दनको अभियान चलाइएको हो । छिमेकी र मित्रहरूको साथ र समर्थन त छँदैछ, जनताले पनि उत्साहपूर्वक जसरी नागरिक अभिनन्दनलाई निरन्तरता दिइरहेका छन्, त्यसले राजनीतिक नेतृत्वको असक्षमता र पूर्वराजाको अभिभावकत्वको महत्वलाई ह्वात्तै बढाएको छ । नागरिक समर्थन नै पूर्वराजातिर भएपछि छिमेकी र मित्रहरूले यस्ता निर्लज्ज नेतृत्वलाई किन वास्ता गर्थे ? स्थापित नेतृत्व बिस्तारै आफूले गरेका गल्तीको नालीमा फस्दै जानेछन् । जनता अझ जागरूक भए भने वडास्तरदेखि पालिका, प्रदेश र संघीय सरकारका नेता र तिनीहरूसँग भ्रष्टाचारमा साझेदारी गर्ने प्रशासकहरूसमेत कोही बच्ने छैनन् । पदासीन हरेक व्यक्ति गच्छेअनुसारको काण्ड लुकाएर बसेका छन् । अनुसन्धान, पक्राउ, मुद्दा र जेल जाने सवाल बिस्तारै सामान्य हुनेछन् । कोर्ष करेक्शनले गति लिइसक्यो ।