ज्ञान उदास - -
सारा संसार, विश्व बैंकदेखि एडीवीले समेत भनिरहेको छ– नेपालको अर्थतन्त्र समस्यामा प¥यो । नेपालकै अर्थविद भन्छन्– सानोे उपायले सच्याउन सकिन्न । उद्यमी, व्यापारी भन्छन्– आर्थिक संकट गहिरिदैछ । तर प्रधानमन्त्री भन्छन्– राजतन्त्रले देश कंगाल पारेको थियो, गणतन्त्रले विकास ल्यायो ।
प्रधानमन्त्रीका यस्ता भ्रमित पार्ने कुरा जनताले पत्याउने छैनन् । किनकि जनयुद्ध र जनआन्दोलनपछि ०६३ सालमा जुन परिवर्तन आयो, त्यो परिवर्तन आएको १६ वर्ष नाघिसक्यो । ०७४ र ०७९ मा दुईपल्ट आवधि चुनाव पनि भयो । हिन्दुधर्म फालेर धर्मनिरपेक्षता र संघीय गणतन्त्र पनि लागू गरियो । यी सबै परिवर्तनपछि पनि देश र जनताप्रति जवाफदेही कोही भएनन् । जता हेरे पनि भ्रष्टाचार बढेको छ । राजनीतिक नीति, नैतिकता, सिद्धान्त, विचार केही पनि बाँकी छैन, हरेक दल र नेता सत्ताको वरिपरि घुमिरहेका छन् । संसारको कुनै व्यवस्था र कुनै राजनीतिक नेतृत्व यतिसम्मको अकर्मण्य हुनैसक्दैन ।
केही समयअघिमात्र श्रीलंकामा यस्तै नेतातन्त्रले लुटतन्त्र चलायो । परिवारवाद र मनपरीवाद चलायो । बाध्य भएर जनताले विद्रोह गरे, नेताहरूलाई ज्यान जोगाउनै धौधौ भएको देखियो ।
जनता जागेपछि नेतातन्त्रले लुक्ने, बाँच्ने मौका पाउन पनि मुस्किल हुनेरहेछ भन्ने पछिल्लो उदाहरण हो श्रीलंका । यति हुँदा पनि नेपालका नेताहरूले चेतेनन् । बिस्तारै श्रीलंका असफल राजनीति, भाँचिएको अर्थतन्त्र र बेहालमा भएका जनता समहालिन थालेका छन् । श्रीलंकाको इतिहासमा राजनीतिले कसरी लथालिङ्ग पारिदियो । दक्षिण एसियाकै त्यो दृष्टान्तबाट नेताहरूले सबक सिकेनन्, स्वयम् प्रधानमन्त्री भन्छन्– राजतन्त्रले देश बिगारेको थियो, गणतन्त्रले विकास र समृद्धि ल्यायो ।
झूठ पनि कति बोल्न सकेको ?
पञ्चायतमा विश्व समुदायमा नेपालको जति इज्जत थियो, त्यो सबै गुमेकोमात्र होइन, विश्वले विश्वास गर्नसमेत नसक्ने घटनाक्रम घटेका छन् र पञ्चायतले आर्जन गरेको समृद्धि, विकास, नागरिक सम्मान, देशको इज्जतलाई गणतन्त्रे नेताहरूले धुलिसात पारिदिए । यथार्थमा गणतन्त्रे नेता देशका लागि सराप सावित भइसकेका छन् ।
यसकारण प्रधानमन्त्री प्रचण्ड विश्वासयोग्य रहेनन् । यतिमात्र होइन, राज्यव्यवस्था नै संलग्न भएको नागरिक निर्यात गर्ने प्रधानमन्त्रीले नागरिकको छटपटी देखेकै छैनन् । न्याय दिनुपर्छ भन्ने उनलाई लागेकै छैन । फौजदारी अभियोगमा समेत माफी दिने पक्षमा उभिएका छन् प्रचण्ड । प्रधानमन्त्री प्रचण्डले जेष्ठ ६ गते पत्रकारका सामु कुर्ली कुर्ली भनेको सुनियो– राजतन्त्रले देश कंगाल पारेको थियो, गणतन्त्रमा विकास र समृद्धिको रेकर्ड बन्यो । आमनागरिकलाई सोधौं, प्रधानमन्त्रीले बोलेको कुरा सही हो ? सयमा सयले नै नकार्ने छन् । हो, प्रचण्डका कार्यकर्ताले स्वीकार्लान्, विवेकहीनताको औषधि संसारमा कहाँ बनेको छ र ?
जनप्रतिनिधि भनेका यस्ता छन् भने देश कसरी शान्ति, समृद्धि र सुशासनयुक्त हुन्छ ? सबैलाई थाहा छ, राजतन्त्रका बेलामा ५ हजार विदेशमा थिए, आज ६२ लाखभन्दा बढी विदेशिएका छन् । एयरपोर्टमा गएर हेरे हुन्छ, हरेक दिन २ देखि ३ हजार युवायुवती वैदेशिक रोजगारीमा दौडिरहेका छन् । प्लस टु पढ्ने हरेक विद्यार्थीको सपना छ, विदेश जाने । अध्ययन गर्ने, करियर बनाउने, कमाउने र घरपरिवार पाल्ने पीडाले हरेक घरमा छटपटी छ । सन्तान विदेश नगएका कुनै घर छैन भन्दा हुन्छ । हरेक युवा भन्छन्– घरपरिवार छोड्न मन लाग्दैन, देशमै बस्न इच्छ छ तर के गर्ने ? गरिखाने बातावरण नै छैन । कामै पाइदैन । जागीर पाउन ठूला नेताको नातेदार हुनुपर्छ ।
अर्थात् बन्दव्यापार मन्द छ । उद्योगधन्दा बन्द छन् । नयाँ उद्योग खोलिदैनन् । सत्ता र शासन प्रशासन भ्रष्टाचार र कमिशनमा रमाएका छन् । सुशासन कतै छैन, सानो सानो कामका लागि पनि घूस नख्वाई हुन्न । आर्थिक ढाड भाँचिएर कुनै पनि बेला आर्थिक संकटकाल लाग्ने अवस्था छ भन्छन् अर्थविदहरू । अर्थशास्त्रीकै शब्दमा अब सानो सानो सुधार गरेर अर्थतन्त्र सुधारिने अवस्था छैन, अपरेशन नै गर्नुपर्छ । यही हो विकास र समृद्धिको अवस्था ?
यो दुरावस्थाको जिम्मेवार राजतन्त्र हो ? कसरी राजतन्त्रका बेलामा देश कंगाल थियो ? अहिले कसरी देश खुशहाल छ, विकास र समृद्धि कसरी कहाँ आयो ? प्रधानमन्त्रीले संसदमा देखाइदिनुपर्छ । आमनागरिकले विकास र समृद्धि भोग्न पाउनुपर्छ । आमनागरिक छटपटीमा छन्, सडकमा आन्दोलित छन् । अन्याय भयो भनिरहेका छन् । भ्रष्टाचारको छानबिन होस्, मानवतस्कर नै कानुन व्यवस्था चलाउनेले गरेका हुन्, तिनलाई कारवाहीको माग गरिरहेका छन् । प्रधानमन्त्री भन्छन्, विकास र समृद्धिको रेकर्ड कायम भयो । यो दिउँसै रातपार्ने राजनीतिक भ्रमात्मक प्रचारबाजीमात्र हो । यस्ता प्रचारबाजीले भीरको चिण्डो उँभो न उँधोको अवस्थाको मुलुकको मजाक उडाएझैं लाग्छ । वास्तवमा वर्षाको कृष्णभीरको पहिरो खस्न लागेझैं अवस्था छ देशको । १० दलीय समर्थन पाएको प्रचण्ड र प्रचण्ड नेतृत्वको सरकारले कुरा होइन, काम देखाउन सक्नुपर्छ ।