Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

सम्भावित खानीको खोजतलासका लागि लाइसेन्स प्रदान

०७ आइतबार , जेठ २०८०२ बर्ष अगाडि

खानी तथा भूगर्भ विभागले खानी खोजतलास गर्नका लागि लाइसेन्स प्रदान गरेको छ । चालु आर्थिकवर्षमा नेपालको खनिजजन्य उद्योग प्रवर्धनका लागि मुलुकमा सम्भावित खानीको खोजतलास गर्न ४२० खानीलाई लाइसेन्स प्रदान गरेको हो ।

विभागले फलाम, तामा, सुन, चुनढुङ्गा, ग्रेनाइट, रुवी, डोलोमाइटलगायतका सम्भाव्य खानीको खोजतालसको लागि विभागबाट लाइसेन्स प्रदान गरिएको बताएको छ । विभागकाअनुसार नवलपरायसीमा धौवादी फलाम उत्खननका लागि पनि विभागले लाइसेन्स प्रदान गरेको छ ।

विसं २०३३ देखि आधिकारिकरुपमा स्थापना भई खानी र भूगर्भको क्षेत्रमा काम गर्दै आएको विभागले हालसम्म ५० खानीको पहिचान गरी उत्खननका लागि विभिन्न कम्पनीलाई लाइसेन्स प्रदान गरेको छ । उदयपुर सिमेन्ट कारखाना, हेटौंडा सिमेन्ट उद्योगलाई चाहिने चुनढुङ्गा खानी विभागले अध्ययन गरेर प्रदान गरेको चुनढुङ्गा हो  । विभागका महानिर्देशक डा सुधीर रजौरेकाअनुसार खानी विभागले यस वर्षमात्रै दशभन्दा बढी स्थानमा खानीको अध्ययन गरिरहेको छ ।

जसमा  सङ्खुवासभाको लुहाकोटमा फलाम, भोजपुरको दिङ्लामा तामा, सिन्धुलीको खनियाखर्कमा ग्रेनाइट, धादिङको सुनौलाबजारमा डोलोमाइट, धादिङको गणेश हिमालमा रुवी, रुकुममा तामा, उदयपुरको रतुवामाइमा फलाम, मधेस प्रदेशमा सेरामिक्स र धादिङको बेनीघाटमा चुनढुङ्गाको अध्ययन भइरहेको छ ।

विभागले खानीको सम्भाव्यता अध्ययन गरिरहे पनि ल्याबमा प्राविधिक कर्मचारी कमी हुँदा समयमा खानीको रिपोर्ट आउन भने समस्या हुने गरेको बताएको छ । साथै विभागले प्रत्येक वर्ष देशका छुट्टाछुट्टै स्थानमा खानीको सम्भाव्यता अध्ययन गरे पनि त्यसको रिपोर्ट आउन भने वर्षौं लाग्ने बतायो ।

खनिजजन्य पदार्थको चेकजाँचको लागि विभागको ल्याबमा ११ जनाको दरबन्दी रहे पनि हाल दुई जनामात्र कार्यरत छन् । थोरै जनशक्ति भएको कारण विसं २०७२ सालमा अध्ययन गरेको खानीको रिपोर्ट अहिलेसम्म आउन सकेको छैन ।

विभागले चालु आर्थिकवर्षको फागुन महिनासम्म खानी उत्खननका लागि अनुमति प्रदान तथा लाइसेन्स प्रदान गरेर ३५ करोड ६६ लाख ३३ हजार ४४ राजस्व सङ्कलन गरेको बताएको छ । गत वर्ष फागुन मसान्तसम्म ९३ करोड ४५ लाख राजस्व सङ्कलन गरेको थियो ।

गत वर्ष ४०५ खानी खोजतलासको लागि लाइसेन्स प्रदान गरेको थियो । चालु आर्थिकवर्षमा १५९ खानीलाई उत्खननका लागि अनुमति दिएको छ भने गत वर्ष १५८ खानीलाई उत्खननका लागि अनुमति दिएको बताइएको छ ।