Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

जुम्लामा मार्सी धान रोपाइँ महोत्सव

०७ आइतबार , जेठ २०८०२ बर्ष अगाडि

विश्वको सबैभन्दा उच्च स्थान जुम्लामा धान रोपाइँ महोत्सव सुरु भएको छ । कर्णाली प्रदेशका भूमि व्यवस्था तथा कृषि  सहकारीमन्त्री भीमप्रकाश शर्माको उपस्थितिमा महोत्सव सुरु भएको हो ।

विश्वको सबैभन्दा उच्च स्थानमा धान फल्ने उपमा पाएको जुम्लाको पातारासी गाउँपालिकाको छुमचौर ज्युलोमा आइतबार महोत्सवको आयोजना गरी  काली मार्सी धान रोपाइँ गरिएको थियो । स्थानीय सरकार  र कृषि विकास कार्यालयको अगुवाइमा कर्णाली प्रदेशका भूमि व्यवस्था तथा कृषि  सहकारीमन्त्री भीमप्रकाश शर्माले खेतमा काली मार्सी धान रोपेर महोत्सव उद्घाटन गरेका थिए ।

महोत्सवको उदघाटन गर्दे मन्त्री  शर्माले जुम्लाका किसानले रैथाने बालीको उत्पादन बढाए प्रदेश सरकारले बजारीकरण गर्ने बताएका थिए । उनले मार्सीधान संरक्षणका लागि संघ र स्थानीय सरकारले चासो देखाएको बताउँदै किसानले उत्पादन बढाए  बजारका लागि प्रदेश सरकारले समेत सहयोग गर्ने उल्लेख गरे ।

पछिल्लो समय बजारमा राम्रो छाप छोड्न सफल मार्सीधानमा ‘ब्लाष्ट’ रोगको संक्रमण भएपछि उपचार विधि थाहा नपाउँदा किसानले धान बाली लगाउनै छाडेका थिए । तर, अहिले कृषि प्राविधिकको प्रत्यक्ष निगरानीमा धान रोप्ने गरिएको जिल्ला कृषि बिकास कार्यालय जुम्लाले जानकारी दिएको छ ।

समुद्री सतहदेखि करिब २ हजार ८ सय ५० मिटर उचाइमा रहेको छुमचौर ज्युलोमा चिसो भएकाले जेठमै धान रोपिन्छ । पछिल्लो समय मार्सी लोप हुने अवस्थामा  पुगेपछि कृषकदेखि स्थानीय सरकारले पनि यसको संरक्षणमा चासो देखाएको छ । उक्त गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहराले संस्कार र संस्कृतिसँग जोडिएको मार्सी धान संरक्षणका लागि किसानमा उत्साह जगाउन महोत्सव कार्यक्रम आयोजना गरिएको बताए ।