नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी छ । जिल्ला प्रहरी परिसर काठमाडौंले कानुनले आकर्षित गर्ने सबै दफाको माग दाबीसहित अभियोजन गर्ने गरी अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको हो ।
प्रहरीको अनुसार नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असुली गर्ने प्रयासमा ३२ जना संलग्न रहेको निष्कर्ष छ । प्रहरीको दुईमहिना देखिको अनुसन्धानले यो संगठित अपराधमा हालसम्म ३२ जना संलग्न रहेको निष्कर्ष निकालेको छ ।
प्रहरीको अनुसन्धान पछि १६ जना पक्राउ परेको छन् । उनिहरु जिल्ला प्रहरी परिसर, काठमाडौं र मातहतका इकाइको हिरासतमा छन् । थप १६ जनालाई फरार प्रतिवादीका रुपमा प्रतिवेदनमा समावेश गरिने बताइएको छ । प्रहरीले स्पष्ट संलग्नता देखिएका ३२ जनालाई प्रतिवादी बनाएर सोमबार रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंलाई बुझाउने तयारी गरेको हो ।
नक्कली भुटनी शरणार्थी प्रकरणको घटनामा १०६ जना पीडितबाट २४ करोड ठगी भएको उजुरी परेको छ । केहीलाई ठगी र संगठित अपराध, केहीलाई कीर्तेमा मुद्दा चलाउन प्रहरीले सिफारिस गर्ने बताइएको छ ।
उक्त ठगि प्रकरणमा केहीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट पनि मुद्दा चलाउन सिफारिस गर्ने बताइएको छ ।