राहदानीलगायत विभिन्न समस्यामा रहेका नेपालीलाई लक्षित गरी पोर्चुगलमा सञ्चालन गरिएको राहदानी सेवा शिविरबाट ५ करोड २२ लाख राजस्व सङ्कलन भएको छ । पोर्चुगलको राजधानी लिस्बनमा करिब एक महिनासम्म सञ्चालन भएको शिविरबाट उक्त राजस्व संकलन भएको हो ।
एक महिनासम्म संचालन भएको शिविरबाट २३०८ नेपालीले प्रत्यक्ष दर्ता प्रणालीमार्फत विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि आवेदन दिएका थिए । राहदानी तयार भए पछि अवैतनिक नेपाली महावाणिज्य दूतावास लिस्बनमार्फत सम्बन्धित व्यक्तिलाई उपलब्ध गराइने बताइएको छ ।
लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्य दूतावासको समन्वय र सहजीकरणमा राहदानी विभागकी शाखा अधिकृत रञ्जिता दाहाल नेतृत्वको प्राविधिकसहितको टोलीले राहदानी सेवा प्रदान गरेको थियो । उक्त टोलीमा फ्रान्सको नेपाली राजदूतावासका प्रतिनिधिको समेत सहभागिता रहेको थियो ।
राहदानीको म्याद सकिएको, क्षति भएको, हराएको, नष्ट भएको र पोर्चुगलमा जन्मेका नेपालीको राहदानी बनाउनका लागि आवेदन फारम सङ्कलन गरेको थियो । परराष्ट्र मन्त्रालयले राहदानी नै नभएका र कागजातसम्बन्धी समस्यामा परेका नेपालीका लागि विशेष व्यवस्था गरेर पोर्चुगलमा शिविर सञ्चालन गरेको बताइएको छ ।
विभिन्न मुलुक हुँदै युरोप आएका अधिकांश नेपाली पोर्चुगल जाने गरेको र त्यसरी पोर्चुगल छिर्ने नेपालीले राहदानी सुरक्षित गर्न नसक्दा त्यहाँ राहदानीलगायतका कागजातसम्बन्धी समस्या बढ्दै गएको विभागले बताएको छ । विदेशी मुलुकमा राहदानीबिना कुनै पनि कागजी प्रक्रिया सम्भव नहुने भन्दै दूतावास नै नभएका ठाउँमा त झनै समस्या हुने भएकाले राहदानी सुरक्षित राख्नका लागि आफैँले सतर्कता र सावधानी अपनाउनु पर्ने बताइएको छ ।
पोर्चुगलको राजधानी लिस्बनमा करिब एक महिनासम्म सञ्चालन भएको उक्त शिविरबाट ५ कारोड भन्दा बढि राजस्व सङ्कलन भएको पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूत तथा फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले जानकारी दिएका छन्