Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

सबै कोर्ष करेक्शनतिर

०१ सोमबार , जेठ २०८०२ बर्ष अगाडि

शाश्वत शर्मा - -
पूर्वराजाले भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गर्नुभएको छ । त्यसो त योगीसँग नेपाल र राजखानदानको पुरानो सम्बन्ध छ । योगीले पहिले र अहिले पनि पटक पटक नेपालमा हिन्दुराष्ट्र र राजतन्त्र पुनस्र्थापना हुनुपर्ने अभिव्यक्ति दिनु भएको छ । यसकारण पनि नेपालमा योगीको चर्चा छ । भारतमा राष्ट्रका सवालका मुद्दामा सबै एक हुन्छन् । विदेश र रक्षा मामिलामा कुनै मतभेद राख्दैनन् । नेपालका पार्टी र नेताहरू द्रव्यपिचास भइहाले, यस्ता घातीहरू अन्य देशमा पाइदैनन् । योगीका व्यवहारबाट प्रश्न उठेको छ– भारतको नेपाल नीति फेरिकै हो त ? त्यसो त पूर्वराजाले स्वदेशमै कोर्स करेक्शनको कुरा उठाउने गर्नुभएको छ । अभिनन्दन समारोहहरूमा राष्ट्र असफल हुँदै गएकोप्रति निकै चिन्ता झल्किन्छ । ०६३ सालमा भारत र पश्चिमाले नेपाललाई गणतन्त्र र धर्मनिरपेक्षसहित संघीयतामा परिणत गराउन सघाए । त्यो गलत भयो भनेर भारतले त्यसमा सुधार खोजेको हो त ? भारतसँग नेपालको खुला सीमा छ, उत्तरतिर अर्को शक्तिराष्ट्र चीन छ । दुबै छिमेकीको सुरक्षाचासो नेपालसँग हुनु स्वभाविक हो । देशका लागि सहमतिको राजनीति आवश्यक ठानेर पूर्वराजाले मिलेर अघि बढ्न प्रस्ताव गर्दा दलहरूले अटेर गरेको देखियो । यसपछि पूर्वराजाको सक्रियता बढेको छ, भारतले पनि नेपालनीतिमा कोर्स करेक्शन गर्न खोजेको भान हुन्छ । जबसम्म नेपालनीतिमा भारत र चीन, विश्वशक्ति अमेरिकाको मतो मिल्दैन, तवसम्म नेपालमा कुनै पनि परिवर्तन सम्भव छैन । ०६३ सालको परिवर्तनका बेलामा चीन बोलिदिएको भए नेपालमा यस्तो बेथिति मौलाउने थिएन । १६ वर्षका अवधिमा उपलव्धि शून्य भयो, मौसम परिवर्तन हुनथालेको छ । जसको भरोसा गरेका थिए छिमेकी मित्रराष्ट्रहरूले, यी नेताहरू छाडा भइदिए, अनुशासनहीन साबित भए । नेपालीले महगो मूल्य चुकाए, यिनै नेताका कारण नेपाल र छिमेकीको सुरक्षामा समेत आघात पुग्यो । नेपाल विदेशी शक्तिहरूको चलखेलको मैदान बन्नपुग्यो । यहीकारण हुनसक्छ, चीन र भारत एकठाउँमा उभिन पुगेका छन्, अमेरिकाको समेत टाउको दुखाइका अनेक मुद्दाहरू निस्किन थालेका छन् । यी नेताले प्रजातन्त्र बलियो पार्दैनन् भन्ने पक्का भइसकेको छ । नेपालमा प्रभाव राख्ने र नेपालको भूराजनीतिक महत्व बुझ्ने चीन, भारत र अमेरिकामध्ये कुनै दुई राष्ट्रको नेपालनीति एक भयो भने नेपालमा कोर्स करेक्शन सम्भव छ । ०६३ सालमा चीन मौन बस्यो, भारत र अमेरिका एकातिर थिए । आज त्यो परिस्थिति बदलिन पुगेको छ । हुन पनि नेपालमा बढ्दो अराजकता, अस्थिरता, भ्रष्टाचार प्रकरणको साइड इफेक्ट अन्य मुलुकमा पनि पर्छ, नेपालको मात्र होइन, प्रजातन्त्रको रखवाला सबैतिर पर्ने नै भयो । योभन्दा पनि चिन्ताको विषय नेपालका नेतृत्वमा रहेकाहरू अवसरवादी हुन्, यी कुनै पद्धति अथवा कसैको पनि हुनसक्ने होइनन् भन्ने प्रमाणित नै भइसकेको छ । पद र पैसाका लागि नेपाली नेता जता पनि पल्टिन सक्छन्, जस्तोसुकै रङ फेर्न सक्छन् भन्ने सबैले थाहा पाइसके । हालै प्रकाशमा आएको भुटानी शरणार्थीको व्यवस्थापनमा नागरिक तस्करी गर्नसक्नेमात्र होइन, एमसीसी माग्ने र पास गर्नुअघि अमेरिकालाई सडकमै बेइजती गर्नेहरू पनि यिनीहरू नै थिए । नेपाली नेता अविश्वसनीय, बिना पिंधका लोटा सावित भइसकेका छन् । सम्भवतः यहीकारण अमेरिकी एफबीआई नै नेपाल आएर भुटानी शरणार्थी भनेर नागरिक तस्करी गर्नेमाथि तिमीहरू छानबिन गर्ने कि हामी गरौं भनेर धम्क्याएपछि प्रम प्रचण्ड तातेका छन् । कांग्रेस र एमालेका अध्यक्षसँग हरेकदिनजसो गुप्तगु गरिरहेका छन् । भन्न सकिन्न, यो मामिलाले नेपालको राजनीतिक अराजकता कुन हदसम्म तात्छ र कुन मोडतिर मोडिने हो ? यी काण्डहरूबाट थाहा हुन्छ, नेतृत्व कसेका होइनन् । यिनीहरूमा आफ्नो मुलुकको स्वार्थको मतलव राख्ने विवेक पनि छैन । पैसा, पद र बाहुबली यी राजनीतिक नेता र दलहरूको एकमात्र स्वार्थ र सफलता हो । प्रष्ट भन्नुपर्दा नेपाल एकपटक फेरि परिवर्तनको चौबाटोमा आइपुगेको छ । यी भ्रष्ट, अनैतिकहरूलाई तह लगाउन अरू केही गर्नैपर्दैन, यिनका काला कर्तुतको फाइल खोतल्दै जानुपर्छ, एकले अर्कोलाई पोल्छन्, यिनले नै प्रमाण जुटाइदिन्छन् । सबै जेल पुग्छन् । संकेत हेर्दा लाग्छ, यो क्रम सुरू भइसक्यो । नेपाली राजनीतिमा कोर्स करेक्शनको यो सुरूआत रोकिनु हुन्न, उत्तर प्रदेशका मुख्यमन्त्रीले त्यसै बोलेनन । पूर्वराजाद्वारा आन्तरिक रूपमा जनतालाई गुहार्ने कार्य निरन्तर जारी छ । देशभित्र जनतासँग कोर्स करेक्शनका लागि आह्वान गरिरहनुभएका पूर्वराजाले भारत र भारतमार्फत चीन र अमेरिकालाई समेत कोर्स करेक्शनका लागि अनुरोध गरेको हुनसक्छ । यी सबै क्रिया, प्रतिक्रिया र नेपाली जनताको आन्दोलित, विद्रोही मनस्थिति हेर्दा लाग्छ, कोर्स करेक्शन हुनेवाला छ ।