Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

नेपाल नै समाप्त पार्ने काण्ड

२५ सोमबार , बैशाख २०८०२ बर्ष अगाडि

शाश्वत शर्मा - 
वैशाख २० गते अर्थपूर्ण अभिव्यक्ति दिएर पूर्वराजा ज्ञानेन्द्र भारतको लखनउतिर लागेका छन् । सुनसरीपछि नेपालगञ्जमा सम्पन्न भएको नागरिक अभिनन्दन उत्साहपूर्ण रहेको निक्र्यौल निकालिएको छ । राजालाई गरिएको अभिन्दन समारोहमा विभिन्न राजनीतिक दलहरूसँग आवद्ध युवाहरूको उपस्थिति बाक्लिदै गएको छ । युवाहरू यसरी जागरूक हुनु भनेको गणतन्त्रमा बढेको ब्याभिचार र नैतिकहीनताप्रतिको बिद्रोहका रूपमा विश्लेषण भइरहेको छ । युवामा यसरी चेत खुल्नु र जागरूकता बढ्नु देशको स्वाभिमान र स्वाधीनता तथा सुशासनका लागि सुखद हो ।
लोकतन्त्र स्थापना गरिएदेखि काण्डमात्रै भएको छ । तर  हालैका दिनमा नक्कली भुटानी शरणार्थी बनाएर नेपाली युवालाई अमेरिकातिर पठाउने काण्ड सबैभन्दा खतरनाक र नेपाल नै समाप्त पार्ने साजिसका रूपमा देखिएको छ । मन्त्री, सचिवमात्र होइन, उपप्रधानमन्त्री भइसकेका टोपबहादुर रायमाझी, गृहमन्त्री भइसकेका बालकृष्ण खाणमात्र होइन कि बहालवाला सचिवसमेत राष्ट्रविरोधी यो साजिसमा सहभागी देखिएका छन् । स्वयम् एमाले अध्यक्षले दुईपटक प्रधानमन्त्रीलाई भेट्नु र प्रम प्रचण्डले जंगिदै चर्को भाषणबाजीमा उत्रनुले नेपाल द्वन्द्वमा फसिसकेको अनुमान गर्न सकिन्छ । नेपालीलाई भुटानी बनाएर विदेश पठाउने, विदेशीलाई नेपालमा थुपार्ने यो खतरनाक खेलमा जिम्मेवार दल तथा नेताहरू नै सामेल देखिन्छन् ।
प्रहरी भन्छ– लहरो तान्दा पहरो गर्जने स्थिति छ । अझै १०–११ जना यो प्रकरणमा तानिन सक्छन् । बहालवाला सांसद नै फरार छन् । पैसाका लागि नेपालीलाई विदेशी बनाइदिने ? मुलुकलाई कस्तो बनाएर छाडे गणतन्त्रवादीहरूले ? पैसा पायो भने यिनले नेपाललाई नै खारेज गराउन सक्नेरहेछन् ।
यति भए पनि यो प्रकरण फासफुस हुनसक्छ भन्छन् पर्यवेक्षकहरू । ओली प्रधानमन्त्री, रायमाझी उपप्रधानमन्त्री, बादल गृहमन्त्री, प्रेम राई गृह सचिव, ईन्द्रजीत राई सल्लाहकार भएका समयमा यस्तो चलखेल गरिएको हो भन्ने एमाले विरोधीहरूको भनाई छ । अर्काथरि भन्छन्– सुजाता कोइराला परराष्ट्र मन्त्री भएका समयदेखि नै यो काण्डको लहरो तान्नुपर्छ । शेरबहादुर प्रधानमन्त्री, बालकृष्ण खाण्ड गृहमन्त्री भएका बेलामा यो काण्डलाई मलजल गरिएको थियो । खाणका निजी सचिव र मन्त्रालयका सचिव टेकनारायण पाण्डे जो अहिले हिरासतमा छन्, पनि तानिएपछि यो राष्ट्रघाती कार्यमा कांग्रेस, एमाले सबै संलग्न छन् भनेर बुझिन्छ । एक अर्काथरि भन्छन्– माओवादी पनि यसमा मिसिन सक्छ ।  त्यसो त टोपबहादुर र बादल पूर्व माओवादी नै हुन् । वास्तविक भुटानी अझै हजारौं पथरी, झापातिर शिविर मै 
छन् । तिनका नाममा धेरै नेपाली घूस ख्वाएर अमेरिका पुगिसके । कतिसम्मका द्रव्यपिचास रहेछन् यी गणतन्त्रवादीहरू ? यस्तालाई दण्ड दिनुपर्ने कानुनले हो, कानुन निरीह भएकाले अब दण्ड जनताले दिनुपर्छ । के गर्ने जनता यति सोझा छन् कि चुनावका बेलामा टोपबहादुरजस्तालाई नै जिताउँछन् ।
जनताले यस्ता राष्ट्रविरोधी तत्वहरू समाप्त पार्न बिद्रोह गर्नुपर्ने हो । जनता जागे भने भुटानी प्रकरणमात्र होइन, ललिता निवास काण्ड, एनसेल प्रकरण, वाइडबडी विमान भ्रष्टाचार काण्ड, सुन काण्डजस्ता अनेक काण्डको किहसाव किताव हुन
सक्छ । जनताले लडाकु शिविर भ्रष्टाचार काण्डदेखि झापाको टी स्टेट घोटालासम्मको छानबिन गराउन दबाब दिन सक्छन् । यति भयो भने एमाले अध्यक्ष ओलीले ‘हिसाव किताव’ बाँकी छ भनेको रहस्यको पर्दाफास हुनसक्छ । यति छानबिन गर्ने र भ्रष्टाचारीमाथि कडा कारवाही हुने हो भने राष्ट्रले न्याय पाउनेछ । मुलुक लुट्ने, जनता मार्ने अनि नेपालीलाई विदेशीमा परिणत गर्ने । यही हो गणतन्त्रको फल ? कहाँ पुग्यो नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा ? नेपालीलाई विदेशी बनाइयो, हरेक दिन विदेशीलाई नेपाली नागरिकता दिएको काण्ड झन भयानक हुनसक्छ । यस्ता  छद्मभेषीहरू पनि भुटानी भएर अमेरिका युरोपतिर नपुगेका होलान् भनेर कसरी भन्ने ? यसमा सुक्ष्म अनुसन्धान हुनुपर्छ । पैसा डुबेर, भुटानी शरणार्थीको दर्जा नपाएर उजुरी गर्नेेहरू देखि राष्ट्रियतालाई नै बेचेर अमेरिका युरोपतिर उडिसकेका र उड्न चाहनेहरूका बारेमा समेत छानबिन हुन जरूरी छ । चिनियाँलाई समेत नेपाली नागरिकता दिनसक्ने यहाँका कर्मचारीले अनुहार मिल्ने भारतीय, बंगलादेशी, म्यानमार, पाकिस्तानीलाई नेपाली नागरिकता दिएकै घटना पनि छन् । ८ सय ७४ मा यस्ता पनि शरणार्थी बनेर कति उडे ? नेपाल र नेपालीको अस्तित्व नै समाप्त पार्ने यस्तो षडयन्त्र कसरी हुनसक्यो ? प्रष्ट छ, गणतन्त्र नामको यही छाडातन्त्रको कारणले हो । अब पनि जनताले चर्को दबाब नदिने हो भने यो मुलुक रहदैन । मुलुक बचाउने कि यिनै भ्रष्ट, राष्ट्रघातीहरूलाई झेलिरहने ? निर्णय जनताले नै गरून् । यो सब देखेर पूर्वराजा सडकमा उत्रिएका हुन्, उनलाई किन साथ नदिने ?