सडक छेउमा असरल्ल रहेको तारको नेपाल दूरसञ्चार प्राधिकरणले व्यवस्थापन गर्ने भएको छ । टेलिफोन तथा इन्टरनेटलगायतका सडकका छेउमा रहेको असरल्ल तारको व्यवस्थापन गर्न प्राधिकरणले १३ वटा रुट बनाएर व्यवस्थापन गर्न लागेको हो ।
सडक छेउको पोलहरूमा टेलिफोन, इन्टरनेटलगायतका तारहरू गुजुल्टो परेको, चुँडिएको अवस्थामा रहेको र त्यसले सहरको सौन्दर्यलाई समेत असर पारेको साथै दुर्घटनाको जोखिम बढाएकाले प्राधिकरणले प्रयोग विहिन तारको व्यवस्थापन गर्न लागेको हो ।
व्यवस्थापनका लागि प्राधिकरणले माइतीघरदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसम्म, त्रिपुरेश्वरदेखि महाराजगञ्ज, न्युरोड गेटदेखि वसन्तपुर हुँदै असनसम्मको रूट तय गरेको छ । त्यसैगरि माइतीघर, पुतलीसडक हुँदै नारायणहिटी, भद्रकाली, नारायणहिटी, कमलादी हुँदै रानीपोखरीसम्मको तार व्यवस्थापन गर्ने बताएको छ ।
अर्काे तर्फ डिल्लीबजार, अनामनगर हुँदै संघीय संसद् भवन वरपर, नक्साल, बालुवाटार हुँदै शीतल निवाससम्मको पनि तार व्यवस्थापन गरिने भएको छ । त्यसैगरि माइतीघर, त्रिपुरेश्वर हुँदै कलंकी, लैनचौर, अमृत साइन्स क्याम्पस, रानीबारी हुँदै सामाखुसीसम्म अर्को रुट तय गरेको बताएको छ ।
तार व्यवस्थापनका लागि सोह्रखुट्टे, ढल्को, ताहाचल हुँदै स्वयम्भू, सिनामंगल, पुरानो बानेश्वर हुँदै गौशाला, गौशाला, बौद्धनाथ, कालीमाटी, कुलेश्वर हुँदै बल्खुसम्मको तार व्यवस्थापन गरिने दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ ।