अनुसन्धान तथा विकास, नवप्रवर्तन र आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले माइतिघर मण्डलामा सुरु गरेको धर्ना स्थगित गरेका छन् । उनको माग पुरा गर्न सरकार सहमत भएपछि धर्ना कार्यक्रम स्थगित गरेका हुन् ।
गत सोमवार सरकारका तर्फबाट उपप्रधान तथा रक्षा एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र आविष्कार केन्द्रका अध्यक्ष पुनबीच सात बुँदे सहमति भएपछि धर्ना कार्यक्रम स्थगित गरिएको थियो ।
सात बुँदे सहमतिअनुसार सरकारले एउटा कोष स्थापना गर्ने र त्यसैअन्तर्गत अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यमा लगानी गर्ने बताइएको छ । कोष व्यवस्थापनका लागि सरकारले ६० दिनभित्र विधेयकको मस्यौदा तयार पार्ने र संघीय संसदको आउँदो अधिवेशनबाट विधेयक पास गर्ने सहमति भएको हो ।
अनुसन्धान तथा विकास, नवप्रवर्तन र आविष्कारसम्बन्धी काम गर्न आर्थिक वर्षमा विकास बजेटको एक प्रतिशत रकम छुट्याउने, आवश्यक नीतिगत, कानूनी एवं संस्थागत प्रबन्ध गर्ने, आविष्कारबाट उत्पादित वस्तु तथा सेवालाई आवश्यक पर्ने अनुमति, लाइसेन्स लगायतसँग सम्बन्धित कानूनी सुधारमा समेत सहजीकरण गर्ने सहमति भएको छ ।