राजन कार्की - -
उपचुनाव भनेको जनताको सोच कतातिर जाँदैछ भन्ने पूर्वाभ्यासका रूपमा पनि लिने गरिन्छ । यसैले उपचुनावलाई मिनी जनमतसङ्ग्रह पनि भनिन्छ ।
राजनीतिको यही विश्वास मान्ने हो भने सरकारमा सामेल १० टाउके दलहरूलाई जनताले अस्वीकार गरेको रूपमा बुझ्नुपर्छ । अझै पनि गुटबाजी गर्ने, विभेद र निषेधको राजनीति अघि बढाउने, अहंकार देखाउने हो भने जनताले आगामी मध्यावधि अथवा आवधिक जुनै निर्वाचनमा पनि रूख बदल्नेछन् ।
यो उपचुनावको नतिजा हरेक दलका जनभावनाविपरित चलनेहरूका लागि मृत्युघण्ट पनि हो । यसबाट सचेत हुने राजनीतिमा टिक्लान्, बाँकीले किनारा लाग्नुपर्ने छ भन्ने बुझ्दा बेश ।
दश दलीय सरकारले मिलेर उपचुनाव लडेका थिए, जनताले माओवादी गढ चितवन र कांग्रेसी गढ तनहुँमा चार चार प्रधानमन्त्रीहरू प्रचण्ड, देउवा, डा.बाबुराम र माधव कुमार नेपाललाई हराइदिएका छन् । तिमीहरूको आदेश अब जनतालाई स्वीकार छैन भनेर जनादेशबाट सुनाइदिएका छन् ।
२०६३ सालको परिवर्तनपछिको यो पहिलो जनविद्रोह मानिएको छ । स्थापित नेताहरूलाई हामीले जे भने पनि जनताले मान्छन् भन्ने भ्रम टुटेको हुनुपर्छ । जनताले साह्रै कडा प्रतिक्रिया जनाएका छन् । जनआक्रोशको क्रुरताको झलक ठूला पार्टीहरूलाई देखाइदिएका छन् ।
हुन त इतिहासमा जनाक्रोशका अनेक उदाहरण स्थापित छन् ।
३ सेप्टेम्बर १६५८ मा मरेका बेलायती गणतन्त्रवादी शासक ओलिभर क्रमवेलको चिहान खनेर उसको टाउको लण्डनको वीचबजारमा झुण्ड्याइएको घटना । निरङ्कूशताको प्रमाणका रूपमा मरेको बाघको जुँगा उखेलेको त्यो घटना तत्कालीन परिवर्तनकारी सभ्यताको सुरूआत मानियो ।
नेपालमा २०६३ सालको आन्दोलनले निरङ्कूशता फाल्ने माग ग¥यो । राजाको अधिकार कटौति गरियो र संविधानसभाले २०६५ साल जेठ १५ गते गणतन्त्र कार्यान्वयन ग¥यो । गणतन्त्र कायान्वयन विधिसम्मत थिएन भन्ने मत बलियो छ तर कार्यान्वयन भएरै छाड्यो र २०७२ सालमा संविधानमै संघीय गणतन्त्र नेपाल र धर्मनिरपेक्षता लेखियो । जनताले त्यसलाई अपनत्व ग्रहण गरेका छैनन्, यो विषय राष्ट्रिय मुद्दाका रूपमा काँडे कोर्रा बनेर राजनीतिक प्रशासक र आमनागरिकलाई घोचिरहेको छ ।
हो, २०६५ सालको गणतन्त्र कार्यान्वयन, हिन्दुराष्ट्र र राजतन्त्रको अन्त्य राजनीतिक मातको किलामा ज्यूँदै झुण्ड्याएको घटना हो । हिन्दुवाद र राजतन्त्र अब संवैधानिक रूपमा शव मात्र हो । तर संविधान नै असफल भइसकेको स्थितिमा हिन्दुवाद र राजतन्त्र झन झन जनमानसमा विकसित र जिवन्त हुनथालेको छ । जबसम्म नेपाल रहनेछ, राजाले निर्माण गरेको देश हुनाले राजाको अस्तित्व, राजतन्त्रवाद मर्नेछैन । नेपाल विश्वकै एकमात्र हिन्दुराष्ट्र थियो, यो मान्यता हिन्दुराष्ट्र पुनस्र्थापना भए वा नभए पनि रहिरहनेछ । यद्यपि हिन्दुराष्ट्र र राजतन्त्र पुनस्र्थापनाको चरणमा प्रवेश गरेको अर्थ लगाउन थालिएको छ । राजनीतिले यू टर्न लिन सुरू भयो भने जनताले खोजेको अर्को परिवर्तनलाई रोक्ने कुन नेताले ? हरेक नेता जनआँखामा बिझाएका छन् ।
२०६३ सालको परिवर्तनपछि हरेक पार्टी नेताहरू सकेजति देश र जनतालाई लुटिरहेका छन् । त्यसैले ठूला नेता र पार्टीहरू गणतन्त्र राम्रो भन्छन्, आमनागरिकका लागि गणतन्त्र र संघीयता ‘अनावश्यक कर र भार’ मात्र बनेको छ । जनताले यो पद्धतिबाट शोषणबाहेक केही पाइरहेका छैनन् । बोल्न छुट छ, बोलीको ओजन छैन, सुनवाई कहीं हुँदैन । पद्धतिले दिनुपर्ने सुशासन हो, सर्बत्र कूशासनमात्र छ । यो परिवर्तित अग्रगमन पूर्वीय नेपाली संस्कृति, संस्कार र सभ्यता मास्ने चेर्नोविल विकीकरणयुक्त दूधजस्तो विषालु अनुभूति भइरहेको छ । नेतृत्व बर्गको भ्रष्टाचार र विदेशपरस्तता यति बढेको छ कि यही राष्ट्रघात यो पद्धति महिसासूरले जे पनि चपाएजसरी चपाएर राष्ट्र सिध्याउन अगाडि बढेको छ भन्दा हुन्छ ।
आफूलाई प्रजातन्त्रको बिडा उठाउने दल भन्ने कांग्रेस आज पनि माओवादी बैशाखी टेकेर प्रजातान्त्रिक अभ्यासमा अग्रसर देखिनु बीपी कोइरालाजस्ता नेताको अपमान हो । उपचुनावमा जेजस्तो परिणाम देखियो कांग्रेसी नेतृत्व आफ्नो पहिचान बिस्तारै बिर्सदै गएको छ । कांग्रेसले हँसिया हथौडामा भोट हाल्नु ऐतिहासिक घटना थियो, माओवादीले कांग्रेसको सहयोगमा सत्तामा पुगेर पनि कांग्रेसलाई भोट दिएन, त्यो कांग्रेसको विश्वास तुहिएको दृश्य हो । तैपनि कांग्रेस सुधारिन चाहेको देखिन्न । नेपालमा कम्युनिष्ट बलबती हुनु र प्रजातन्त्रवादी यसैगरी जन अविश्वासको पहिरोमा पर्दै जानु स्वभाविक थियो । ०८४ को चुनाव भयो भने कांग्रेस सहितका १० दल पाहा पछारिएझैं पछारिने छन् भनेर अहिले नै विश्लेषण हुनथालेको छ । जनताले आफ्नो विद्रोहीपन जनादेशबाट दिन थालेका छन् ।
कांग्रेसको बेहाल हुनै थियो । किनकि २०६३ साल वैशाख ११ गते राजा र सात दलवीच कुनै प्रकारको राजतन्त्र मान्य हुने सहमति थियो, कम्युनिष्टकै कारण कांग्रेसले त्यो सहमति तोड्यो । कांग्रेसले हौसिएर आतंककारीको जुत्तामा खुट्टा हाल्नु सैद्धान्तिक बिचलन थियो, त्यो बिचलन झन् झन् बढेर जाँदो छ । कांग्रेसले आफू प्रजातन्त्रको गरिमा र महिमामा विधिको शासनको पक्षमा उभिनुपर्छ भन्ने मान्यता बिर्सदा नेपालमा प्रजातन्त्रले अर्को परिवर्तन खोज्न बाध्य भएको छ ।
संसारमै स्थानीय चुनावमा पार्टीहरूबीच गठबन्धन हुँदैन । गठबन्धन केन्द्रमा सत्ता सञ्चालनका लागि हुने गर्छन् । अजब नेपालमा गजब चाला, स्थानीय चुनावमै कांग्रेस र कम्युनिष्ट गठबन्धन देखियो । कतै मिल्न नसक्ने सिद्धान्तका दलहरू मिलेर सरकार बनाए, चुनावमा गए जनताले कसैलाई बहुमत दिएनन् । उपचुनावमा गए, जनताले सत्ताधारीलाई अविश्वास नै गरिदिए । दलहरूले अस्वस्थ अलोकतान्त्रिक चरित्र देखाए, जनताले तिमीहरू गलत छौ भनेर सन्देश दिएका छन् । अझै सुध्रेनन् भने आगामी दिनमा जनताले श्रीलंकामा जस्तो गम्भीर प्रकृतिको विद्राह नगर्लान भन्न सकिन्न । किनकि सहकारी, लघुवित्त देखि बैंकसम्म हाहाकार स्थितिमा छन्, जनता सशंकितमात्र होइन, नेताहरूले पैसा लुकाएको आशंका गर्न थालिसकेका छन् । एकातिर भ्रष्टाचार बढ्नु, अर्कोतिर कुशासन र आर्थिक अराजकता, आक्रोसित जनता सडकमा निस्किए भने यो पद्धति, शासक, प्रशासक बर्गको भागम्भाग नहोला भन्न सकिन्न ।
धेरै अघि नै केही आक्रोसित युवाले झलनाथ खनाललाई, पछि प्रचण्डलाई झापड र जुत्ता हानेका थिए । यति हुँदा पनि यिनले अनैतिकता छाडेनन् । जनभावना भड्किन सक्छ भनेर नेतृत्वले कहिले बुझेनन् । यसकारण पनि जनतामा आक्रोश दिनदिनै बढ्दै गएको छ । सरकार र नेताहरूप्रति भुइँमान्छेको चर्को विरोध आँधीबेहरीभन्दा कम छैन । बुझेनन् नेतृत्वले भने यो कहालीलाग्दो परिणाममा रूपान्तरण हुन बेर लाग्नेछैन ।
हिजो भुइँमान्छे प्रताडित थिए, आज पनि प्रताडित नै छन् । न्याय कुन चराको नाम हो कसैले बताउन सक्दैन । अन्याय बढेको छ । गठबन्धन र सेटिङ देखिन्छ । विधिको शासन कतै देखिन्न । लेनदेन र व्यभिचार देखिन्छ, योग्यको कदर हुँदैन । भुइँमान्छेको आक्रोश आगो हो भन्ने कुरा इतिहासले र श्रीलंकामा देखिएकै हो ।
३५औं अमेरिकी राष्ट्रपति केनेडीलाई १९६३ मा गोली हानेर सिध्याइयो । बंगलादेशमा शेख मुजिवर रहमानलाई ढाकामै १९७५ मा गोली हानेर मारिएको हो । आइरन लेडी भनिने इन्दिरा गान्धीलाई सत्तामा भएकै अवस्थामा १९८४ अक्टोबर ३१ को दिन, आफ्नै सुरक्षागार्ड सतवन्त र बेअन्त सिंहले हत्या गरिदिए । अघिल्लो दिन भुवनेश्वरमा उनले भाषण गरेकी थिइन्— आज म यहाँ छु, भोलि नहुन सक्छु । नभन्दै भोलिपल्टै उनको हत्या गरियो । एउटै खालिस्तान मुभमेन्ट उनको हत्याको मूलकारण बन्यो । यसपछि पालो आयो इन्दिरा पुत्र राजीव गान्धीको । १९९१ मे २१ का दिन, तमिलनाडुमा तमिल लिवरेशन टाइगरले धनुमार्फत आरडीएक्ससहितको आत्मघाती बम बिस्फोट गराएर राजीव गान्धीको हत्या गरिएको हो । नेपालमा कर्ण हेजुलाई छाताको डाठले घोची घोची मारिएको घटना भक्तपुरेले बिर्सेका छैनन् । हत्याको श्रृंखलामा मिर्जा दिलसाद बेग, जमिम शाह, फैजान अहमद, ज्ञानेन्द्र खड्का, कृष्ण सेन, सार्द‘ल मियाँ, नारायण पोखरेल, उमा सिंह, मैना सुनार, डेकेन्द्र थापाहरू पनि छन् । पादरी ग्याफ्नी र जापानी भिक्षुको हत्या प्रकरण लुकाइएकै हो । दरवार हत्याकाण्डमा वास्तविक दोषी खोज्न कुनै सरकारले चासो दिएन । जनयुद्ध र जनआन्दोलनबाट प्राप्ति के भो ? गंगामायाँ अधिकारीले किन न्याय पाइनन् ? टीकापुरमा किन दुधेबालकको हत्या गरियो ? निर्मला पन्तको बलात्कारी र हत्यारा को हो ? ३८ क्विन्टल सुन, ३३ किलो सुन र सिलसिलेवार हत्यारा को को हुन् ? लोकतन्त्रवादी भन्ने नेताहरूले भन्नुपर्दैन— १९९३ मे १६ का दिन जनताको बहुदलीय जनवाद विचारका प्रवर्तक मदन भण्डारी र जीवराज आश्रितलाई दासढुंगाबाट कसले, किन खसाल्यो ? हत्या, हिंसा, भ्रष्टाचार, अनैतिकताका थुप्रै श्रृंखला छन्, छानबिन होइन, अपराध लुकाउनमै नेतृत्वले न्वारानको बल लगाइरहेका छन् । नेता विदेशीका भरिया बन्न सक्छन्, जनता सार्वभौम छन्, जनताले बहीखाता खोलेर कसी लगाउन थालेका दिन के होला ?