Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

राजसंस्था पुनःस्थापित गरौं

१८ सोमबार , बैशाख २०८०२ बर्ष अगाडि

शाश्वत शर्मा - -
भनिन्छ, कालआएपछि कमिलाको प्वाँख पलाउँछ । सन्दर्भ एमाले अध्यक्ष केपी ओलीले राजा र राजपरिवारका सदस्यलाई गरेको तथानाम गाली नै हो । जनताको अपेक्षा पूरा गर्न नसकेपछि जनताबाट दुत्कारिएका र अतिभएपछि जनताबाट ढुङ्गा, कालोझण्डा खान पुगेका ओलीले हिमानी शाहको नामबाट खुलेको नक्कली सामाजिक सञ्जालमा आफूलक्षित टिप्पणी सहन गर्न नसकेर विष बमन गरे, त्यसबाट उनको दिमागी हावादारीपन दर्शाउँछ । त्यसो त मंसिर २१ गते नै राजपरिवारका कुनै सदस्यले सामाजिक सञ्जाल सञ्चालन नगरेको  प्रष्ट पारिसकेको अवस्था थियो । त्यतिबेला कमल थापा बारेमा केही टिप्पणी गरिएको थियो । त्यसपछि कसको हैसियत कता पुग्यो, स्पष्ट भइसकेको छ । त्यही परिणाम ओलीले भोग्नुपर्ने दिन आउनसक्छ । २०८४ मा हुने आवधिक निर्वाचन अथवा बीचैमा मध्यावधि भयो भने पनि हिन्दुवादी र राजतन्त्रवादीको मत पहिले पहिलेजस्तै ओलीले पाउलान् त ? ओलीजत्तिका नेताले सक्कली नक्कली छुट्याउनु पथ्र्यो । ओलीको यस अभिव्यक्तिपछि एकथरि ओलीप्रति सकारात्मक भाव राख्ने राजतन्त्रवादीको पनि चेत खुलेको हुनुपर्छ । धर्मप्रसाद ढकालको हत्यापछि जेल परेका ओलीलाई आममाफी राजा वीरेन्द्रले नै दिएका थिए । बिगतमा जे जे गरे पनि आज ओली अवसरवादी चरित्रका कारण जननजरमा देशद्रोही सावित हुनपुगेका छन् । जनताका सामु राष्ट्रवादी नारा दिने, भित्रभित्रै लखनौं लूट मच्चाउने चरित्र छ यिनको । राष्ट्रका लागि प्रचण्ड र देउवा अनि मधेशी नेताहरू जति खतरनाक छन्, त्योभन्दा चारगुणा बढी ओली छन् । ओलीलाई नजिकबाट चिन्नेहरू यसै भन्छन् ।
चतुर ओलीले के बुझेनन् कि अबको समय राजा र राजपरिवारलाई तथानाम गाली गरेर लोकप्रिय हुने दिन होइन । जनताले को कति पानीमाथिको ओभानो बनेका छन् भन्ने बुझिसकेका छन् । बाहिर बाहिर चुच्चे नक्साको कुरा उठाउने, भित्रभित्र भारतीय गुप्चरसंस्था रअका प्रमुख सामन्त गोयलसँग मध्यरातमा गुप्तगु गर्ने ओली नेपालका लागि साह्रै खतरनाक छन्, जुन कुरा महाकाली सन्धि पास गर्दा पनि देखिएकै हो । राष्ट्र लुट्ने, आफन्तलाई लुटाउने नेताहरूबारे जनता प्रष्ट भइसकेका छन् । प्रचण्ड, माधव, देउवाहरू देखिने र बुझिने भ्रष्ट हुन् भने ओली साखुल्ले बनेर टुक्का भनी भनी हँसाएर देश डुबाउने खेलाडी हुन् । यसकारण राष्ट्र जोगाउने, आगामी पुस्तालाई सग्लो राष्ट्र बुझाउने हो भने राजसंस्था पुनःस्थापना गर्नतिर लाग्नुपर्छ । पूर्वाञ्चलपछि भोलि २० गते नेपालगञ्जमा पूर्वराजाको नागरिक अभिनन्दन गरिदैछ । राजा खुलेर जनताका साथमा उभिन मैदानमा उत्रिएका छन् । यस्ता आस्थाका राजालाई साथ नदिने आफ्नै अस्तित्व मेटाउनु हो । अब जयजयकार गरेर मात्र परिवर्तन हुँदैन । जनताले असन्तोषको आगो बाल्नुपर्छ, सडकदेखि गाउँ गाउँसम्म विद्रोह बोल्नुपर्छ । देशद्रोही, जनद्रोहीको सातो लिनुपर्छ ।
राजनीतिलाई सेवा होइन, व्यवसाय बनाउने नक्कली मयुरहरूलाई जनताले नाङ्गेझार पार्नेगरी अस्वीकार गर्नुपर्छ । १६ वर्ष हेरियो, सबै अवसरवादी देखिए । जसका पुर्षाले नेपाल निर्माण गरे, उनैलाई देश दुख्यो र सडकमा आए । देश बर्बादीको भीरमा छ, गाउँदेखि सिंहदरवारसम्म पदको लडाई छ, नातावाद र व्यभिचार व्याप्त छ । आज को छ, भोलि को हुन्छ ? केही भन्न सकिन्न । न नीति, न सिद्धान्त, न नैतिकता नै कुनै नेतामा बाँकी छ । भारत भ्रमण गर्न पाउँ भनेर भारतलाई बिन्तिभाउ गरिरहेका प्रम प्रचण्डको पद धरापमा परिसकेको चर्चा सुरू भइसकेको छ । सरकार परिवर्तनका सगबगाहट सुनिन थालिसकेको छ । गठबन्धन र सेटिङ, यही नै शासन प्रशासन बनेको छ । कानुनव्यवस्था डगमगाइसक्यो । जनताका अपेक्षा, राष्ट्रका समस्यामा कहिले बहस हुँदैन । महगी र बेरोजगार बढ्दो छ । सुशासन छैन । अब पनि नेपालीले यिनै ओली, प्रचण्ड, देउवा, माधव, उपेन्द्रहरूको भर पर्ने ? जनतामारा, देशमाराहरूलाई सजाय दिन अघि नसर्ने ?
समष्टिमा भन्नुपर्दा, जनता सडकमा उत्रिएका छन् । पूर्वराजा पनि सडकमा आएका छन् । राजा र जनता मिलेर देश बचाउने बिडा उठाउनु पर्छ । हरेक पार्टी र नेताका मालिक विदेशी हुन् । यसकारण पनि राजा र जनता एक हुनुको बिकल्प छैन । भर्खर राष्ट्रपति बनेका रामचन्द्र पौडेल पेट दुख्दा दिल्लीमा उपचार गराइरहेका छन् । नेपाली डाक्टरले प्रश्न गरे– किन दिल्ली जानुपरेको होला ? यी राष्ट्रपतिले नातिसम्मलाई दिल्ली लगेर डलरमा भत्ता खाइरहेका छन् । यही घटनाबाट थाहा हुन्छ, हाम्रा नेता कस्ता ? यिनका नीति र नियति कस्तो ? यस्ता नेताको भर गरेर यिनैलाई भोट दिने, यिनैलाई सत्तामा पु¥याउने र यिनैलाई पाल्न पोस्न करमाथि कर तिरिरहने ? युवायुवती निकासी गरेर आएको रेमिटान्सले प्रहरीको, माष्टरको तलव भत्ता, पेन्सन दिन नसक्ने अवस्था आइसक्यो । अझै राष्ट्रिय ढुकुटीलाई लुटको धन फुपुको श्राद्ध गरिरहेका छन् नेताहरू । भो, अब अति भयो । सडक तातेको बेलामा असन्तुष्टिको ज्वारभाटा निकालेर राजसंस्था पुनःस्थापित गर्नुपर्छ । तबमात्र देश र जनताले अभिभावक पाउलान्, नेपाल र नेपालीको कल्याण होला ।