नेपाल–भारत सीमानाको बाँके जिल्लामा पर्ने जमुनाहा नाका दुई दिन बन्द हुने भएको छ । भारतको उत्तर प्रदेश बहराइच जिल्लामा आगमी वैशाख २१ गते हुने नगरपन्चायत निर्वाचनलाई मध्यनजर गर्दै दुईदिन सीमानाका बन्द हुने भएको हो ।
नगरपन्चायत निर्वाचनलाई मध्यनजर गर्दै बाँके जिल्लासँग सिमाना जोडिएको भारतको नगरपञ्चायतको निर्वाचनका लागि नाका बन्द गर्न लागिएको हो । मङ्गलबार राति १२ बजेदेखि २१ गते बेलुका ६ बजेसम्म नाका पूर्णरुपमा बन्द गरिने बताइएको छ ।
खुला सीमाका कारण निर्वाचनमा सुरक्षा प्रभावपर्ने भन्दै निर्वाचनका लागि दुई दिन सीमानाका बन्द गर्न लागिएको र उक्त क्षेत्रमा सशस्त्र प्रहरी बल र भारतीय सुरक्षा बल, एसएसबीका स्थानीय अधिकारीबीच संयुक्त गस्तीका लागि छलफल समेत भएको बताइएको छ ।
छलफल पछि भएको सहमतिअनुसार नाका बन्द गरेर सीमा क्षेत्रको दशगजा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गर्ने तथा सुरक्षा संवेदननशीलताअनुसार काम गर्ने बताइएको छ । उक्त अवधिमा एम्बुलेन्स, बिहेजन्तीलगायत अत्यावश्यक सेवालाई भने दुवै देशका सुरक्षाकर्मीको समन्वयमा आवतजावतमा कुनै रोक नलगाउने भारतीय सुरक्षा अधिकारीले जनाएका छन् ।
सशस्त्र प्रहरीको बागेश्वरी ३० नम्बर गणले सुरक्षा गतिविधलाई मध्यनजर गर्दै खुला सीमामा कडाइ गरेको जनाएको छ । यहि आउँदो वैशाख १९ गतेबाटै दुई देशका सीमा क्षेत्रमा मदिराको बेचबिखन र सेवनमा पनि रोक लगाइएको छ । नेपाल र भारत दुवै देशमा विभिन्न तहका निर्वाचन हुने समयमा विगत लामो समयदेखि सीमानाका बन्द हुँदै आएको छ ।