सरकारद्धारा मिटरब्याज पीडितको समस्या समाधान गर्नका लागि जाँचबुझ कार्यालयको स्थापना गरेको छ । जाँचबुझ आयोगको केन्द्रीय कार्यालय जनकपुरधाममा स्थापना गरिएको हो ।
सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा जनकपुरधाममा आयोगको केन्द्रिय कार्यलयको उदघाटन गरिएको थियो । मधेसका जिल्लाहरूमा मिटरब्याज सम्बन्धी बढी पीडित भेटिएकाले जनकपुरधाममा आयोगको कार्यालय स्थापना गरिएको बताइएको छ ।
विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा उत्तम बहादुर सुवेदी र गणेशबाबु अर्याल सदस्य रहेको जाँचबुझ आयोग गठन भएको हो । आयोगको सदस्यहरु सुवेदी नेपाल प्रहरीका पूर्व एआईजी र अर्याल पूर्व नायब महान्यायाधिवक्ता हुन् ।
गत ०७९ चैत्र २० मा मिटरब्याज पीडित काठमाडौं पुगेर आन्दोलन गरेपछि सरकारले जाँचबुझ आयोग गठन गरेको थियो । आयोगका सदस्यहरुले अब जनकपुरधाममै स्थापना भएको केन्द्रीय कार्यालयमा बसेर मिटरब्याज पीडितहरूलाई न्याय दिने बताइएको छ ।