आफुले काम गरेको ज्याला नपाएपछि श्रमिकले पुल बन्द गरेका छन् । दार्चुलाको दुहुँ गाउँपलिकाको वडा नं. १ र ५ जोड्ने पुल निर्माण गरेको ज्याला दुईवर्ष सम्म नपाएपछि स्थानीय मजदुरहरुले उक्त पुल बन्द गरेका हुन् ।
गाउँपालिकाले २ करोड १० लाख रुपैयाको लागतमा २ वर्षमा सम्पन्न गर्ने गरि २०७६ सालमा निर्माण थालिएको ३ सय ९० मिटर लामो पुलको काम सकिए पनि लोड टेस्ट लगाएतका केहि काम बाँकी रहेकोले अन्ति किस्ता बापतको रकम समेत भुक्तानी नभएको गाउँपालिका अध्यक्ष जीतबहादुर बमले बताए । उक्त पुलको केहि संरचनामा प्राविधिक त्रुटि भएकाले पनि रकम निकासीमा ढिलाई भएको उनको भनाई छ ।
पुल निर्माणको भौतिक काम सम्पन्न भएको दुई वर्ष सम्म ठेकेदार कम्पनीले श्रमिकको ज्याला भुक्तानी नगरेको भन्दै स्थानीय श्रमिकले गत शुक्रबारदेखि पुल बन्द गरेका थिए । यता पटक-पटक काम गरेको ज्यालाका लागि आग्रह गर्दा पनि ज्याला नपाए पछि पुल नै बन्द गर्नुपरेको मजदुरहरुको भनाइ छ । अहिले मजदुरले झोलुङ्गे पुलको दुवैतिर तारजाली र जस्तापाता लगाएर बन्द गरेको छन् ।
अहिले स्थानीय मजदुरले पुल बन्द गरेपछि जिल्ला सदरमुकाम खलङ्गा आउने र काम विशेषले गाउँपालिकाको कार्यालयसम्म जाने नागरिकलाई दुई घण्टा लामो बाटो भएर जानुपर्ने अवस्था सिर्जना भएको स्थानीयको भनाई छ । उक्त पुल निर्माणको ठेक्का पाएको जगदम्बा दोभान कन्सट्रक्सनले मजदुरको ज्याला अझैसम्म नदिनुका कारण नखुलेको भन्दै निर्माण कम्पनीको अन्तिम चरणको भुक्तानीसमेत लिन बाँकी रहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्ना बताउछन् । गाउँपालिकाको १, २ र ५ का स्थानीयले उक्त पुल निर्माणको समयमा मजदुरी गरेका थिए ।
निर्माण सम्पन्न भइसकेको अवस्थामा मजदुरको ज्याला नदिइ ठेकेदार कम्पनी सम्पर्क बिहीन भएको स्थानीयले बताए । पटक-पटक स्थानीय मजदुरले काम गरेको ज्याला पाउनुपर्ने भन्दै गाउँपालिका कार्यालय र जिल्ला प्रशासन कार्यालयमा आग्रह गर्दा पनि सुनुवाइ नभएको पछि स्थानीय मजदुर आक्रोसित भएर पुल बन्द गर्ने निर्णयमा पुगेका हुन । निर्माण कम्पनीले मजदुरको मात्र नभएर पसल धनी र ट्र्याक्टर व्यवसायीकोसमेत पैसा नदिएको बताइएको छ ।
स्थानीय श्रमिक पसल धनी र ट्र्याक्टर व्यवसायीले बेलाबेला गाउँपालिकाको न्यायिक समिति र जिल्ला प्रशासन कार्यालय दार्चुलमा अनुरोध गर्दा पनि कुनै निकास नआएपछि पुल बन्द गर्न बाध्य भएको मजदुरहरुको भनाई छ । ठेकेदार कम्पनीलाई सम्पर्क गर्न खोजेपनि सम्पर्कमा नआएकाले पीडितले जिल्ला प्रशासन कार्यालयमा लिखित निवेदन दिएको र ठेकेदार कम्पनीलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जानकारी दिएको छ । श्रमिकले श्रम गरेबापतको रकम पाउनुपर्ने र स्थानीय श्रमिकले पनि सार्वजनिक पुल बन्द गर्न नहुने जिल्ला प्रशासन कार्यालयको भनाइ छ ।
पुल निर्माण भएपनि ठेकेदार कम्पनीले गाउँपालिकालाई हस्तान्तरण गरेको छैन । पुल गाउँपालिकालाई हस्तान्तरणसमेत नभएको र पुल सञ्चालनको अनुमति नभएकाले त्यहाँ आवतजावत नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह समेत गरेको छ ।